असुरक्षित शैक्षिक संस्था : हिमालयनपछि भिएस निकेतनमा छात्रामाथि याैन दुर्व्यवहार-Sutra News

असुरक्षित शैक्षिक संस्था : हिमालयनपछि भिएस निकेतनमा छात्रामाथि याैन दुर्व्यवहार

शुक्रबार, ६ पौस २०८०

शुक्रबार, ६ पौस २०८०

काठमाडाैं । बालबालिकाले आफ्नो घरपरिवारपछि सबैभन्दा धेरै समय बिताउने र वृत्ति विकासको लागि समय दिने ठाउँ हो शैक्षिक संस्था । तर, पछिल्लो समय राजधानीका शैक्षिक संस्था नै बालिकाहरूको लागि असुरक्षित बन्न थालेकाे देखिएकाे छ ।



काठमाडौंको तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही कलेजका अनुशासन प्रमुख (डिआई) कृष्णप्रसाद नेपालले यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएको भोलिपल्टै पुस ४ गते तिनकुनेकै भिएस निकेतन कलेज नयाँ बानेश्वरमा कक्षा १२ मा अध्ययनरत एक छात्रालाई पनि यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएको छ । अम्मर प्रधान नाम गरेका भिएस निकेतनका शिक्षकबाट सोही कलेजमा कक्षा १२ मा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार भएको बाहिर आएकाे हाे ।

भिएस निकेतनकी प्रिन्सिपल संगिता श्रेष्ठका अनुसार इंग्लिस विषय पढाउँदै आएका शिक्षक प्रधानले खाजा खुवाउने बहानामा लगेर छात्रामाथि यौन दुर्व्यवहार गरेको कुरा पीडित छात्राले बताएकी थिइन । छात्राले रिपोर्ट गरेपछि कलेजले आरोपित शिक्षकलाई तत्कालकाे लागि जिम्मेवारीबाट बर्खास्त गरेकाे जनाइएकाे छ ।

पीडित बालिकाका अभिभावकले कानुनी कारबाहीमा जान आनाकानी गरेपनि पीडित बालिकाले उक्त घटनापछि आफूलाई ‘मेन्टल टर्चर’ भएको भनेपछि आफूहरूले कानुनी कारबाहीमा जान सुझाव दिएको भिएस निकेतनका प्रशासनिक प्रमुख देवी भट्टराईले सुत्र न्युजलाई जानकारी दिए । छात्रामाथि गरिएकाे दुर्व्यवहारकाे विषय अहिले प्रहरीमा पुगेकाे छ ।

पीडित छात्राहरूकै उजुरीका आधारमा हिमालयन ह्वाइटहाउस कलेजका अनुशासन प्रमुख नेपाल र भिएस निकेतनका शिक्षक प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए । हिमालयन ह्वाइटहाउस कलेजका अनुशासन प्रमुख नेपाललाई बिहीबार र भिएस निकेतन कलेजका शिक्षक प्रधानलाई शुक्रबार जिल्ला अदालत काठमाडौबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी बुढाथोकीको भनाइ छ ।

हिमालयन ह्वाइटहाउस र भिएस निकेतन कलेजका एकै प्रकृतिका केशमा लिखित उजुरी परेको र पीडितको उजुरी कै आधारमा अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ । नेपालको प्रतिष्ठित सञ्चार माध्यममै काम गर्दै आएका भिएस निकेतनका शिक्षक प्रधान र हिमालयन ह्वाइटहाउसका अनुशासन प्रमुख नेपालविरुद्ध प्रहरीले मिहिन ढंगले अनुसन्धान अगाडि बढाएको जानकारी दिँदै डिएसपी बुढाथोकीले अनुसन्धानपछि खुलेका तथ्यका आधारमा कारबाही अगाडि बढाउने बताए ।

संघीय राजधानी काठमाडौंको मुटुमै अवस्थित आफूलाई प्रतिष्ठित दाबी गर्ने शैक्षिक संस्थाहरूमा भएको यौन दुर्व्यवहारको घटनाले राजधानीमै स्कुल कलेज (खासगरी कक्षा ११/१२) मा अध्ययनरत किशोरीहरू शैक्षिक संस्थामै कति असुरक्षित रहेका छन् भन्ने तथ्यलाई उजागर गरेको छ । अहिलेका अभिभावकको व्यस्त दैनिकी र प्रविधिको विकासले अभिभावक र आफ्ना बालबच्चाबिचमा बढेको दुरीले पनि बालबालिकाको अभिभावकसँगको निकटता कम हुँदै जाँदा बाल यौनदुर्व्यवहार जस्ता संवेदनशील घटना समेत किशोरीहरूले आफ्ना अभिभावकलाई बताउन सक्ने वातावरण नहुने परिवेश निर्माण हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट