प्रचण्डको सचिवालयमा गंगाको एकाधिकार, निरन्तरको पेलाइपछि बाहिरिएका हुन् हरिबोल-Sutra News

प्रचण्डको सचिवालयमा गंगाको एकाधिकार, निरन्तरको पेलाइपछि बाहिरिएका हुन् हरिबोल

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

काठमाडौं । गत आम निर्वाचनमा टिकट नपाएपछि नेता हरिबोल गजुरेल केही समय माओवादी केन्द्रभित्रै ‘न्यूट्रल’ अवस्थामा रहे । उनी पार्टीबाट बाहिरिने अवस्थामा समेत पुगेको चर्चा माओवादी वृत्तमा चल्यो । पुराना र शीर्ष भूमिकामा रहेका गजुरेलको असन्तुष्टिको विषयले मिडियामा समेत चर्चा पायो ।



गजुरेल असन्तुष्ट बनेपछि पार्टी अध्यक्षको भूमिकामा समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्लाहकारमा बोलाए । प्रचण्डको ‘मलाई सफल बनाउन आउनुस्’ भन्ने आग्रहपछि उनी पनि सल्लाहकारमा जान राजी भए । तथापी, गजुरेलले सल्लाहकारको भूमिकामा आउँदै गर्दा केही सर्त भने राखेका थिए ।

उनले बताएअनुसार ती सर्तमा– केही कानुन निर्माणका काम, केही आयोजना अगाडि बढाउने काम र पार्टीभित्र गर्नुपर्ने केही काम थिए । ती सर्तअनुसार नै गजुरेल २०७९ माघ ४ गते मन्त्री सरहको सुविधासहित प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।

सुरुवाती समयमा प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा नियुक्त भएका गजुरेललाई निकै काम गर्ने हुटहुटी पनि थियो । उनले कामका लागि थुप्रै नेता तथा कार्यकर्तालाई बोलाएर सुझाब पनि माग गरेका थिए । सुरुवातमै गजुरेलले ‘प्रधानमन्त्रीको सचिवालयलाई व्यवस्थित बनाउन’ भन्दै सार्वजनिकरुपमै सुझाब माग गरेका थिए ।

तर, गजुरेलले सोंचेजस्तो काम गर्ने अवसर प्रमुख राजनीतिक सल्लाहकारको भूमिकाबाट बनेन । गजुरेल निकटका एक नेताले बताएअनुसार प्रधानमन्त्री प्रचण्डले गजुरेलसँग केही समयसम्म सल्लाह लिएपनि त्यसपछिका समयमा भने वास्तै गर्न छाडे । प्रमुख राजनीतिक सल्लाहकारलाई नै प्रधानमन्त्रीलाई भेट्न सकस हुने अवस्था बन्यो ।

“सुरुवाती समयमा सल्लाह माग्ने र सल्लाह दिने काम चलिरहेको थियो तर, केही समयपछि त्यस्तो सम्बन्ध रहेन”, ती नेताले भनेका छन्, “हुनत् प्रधानमन्त्री र प्रमुख सल्लाहकारको तला नै फरक थियो, सल्लाहकारले नै सल्लाह दिन समय माग्नुपर्ने र लाइनमा कुर्नुपर्ने अवस्था बन्यो ।”

ती नेताले बताएअनुसार पछिल्ला केही महिनादेखि गजुरेललाई प्रधानमन्त्रीले खोज्न छाडेका थिए । प्रधानमन्त्रीले खोज्न छाडेपछि उनलाई पनि के सुझाब दिने ? अप्ठ्यारो बनेको थियो ।

“सल्लाहकारको भूमिकामा राखेपछि प्रधानमन्त्रीले बोलाउने, सल्लाह सुझाब लिने काम गर्ने चलन हुन्छ, तर, एकातिर प्रधानमन्त्रीले वास्ता नगर्ने अर्कोतिर गजुरेलले नै भेट्न नपाउने अवस्था बन्यो”, ती नेताले भनेका छन् ।

प्रधानमन्त्रीको टिममा विभिन्न पदवी झुण्ड्याएका करिब तीन दर्जनको टोली छ । सल्लाहकार, स्वकीय सचिवालय, निजी सचिवालयलगायतका जिम्मेवारीमा विभिन्न व्यक्ति नियुक्त छन् । ती नेताले बताएअनुसार प्रमुख राजनीतिक सल्लाहकारबाहेकका अन्यलाई प्रधानमन्त्रीपुत्री तथा उनको स्वकीय सचिव गंगा दाहालले नै हेर्ने गर्छिन् । गंगाको नेतृत्वमै समग्र सचिवालय र सल्लाहकारको टिम परिचालित हुन्छ ।

पछिल्लो समय प्रधानमन्त्रीलाई भेट्न स्वयम् गजुरेलले पनि गंगालाई आग्रह गर्नुपर्ने परिस्थिति बनेको थियो । उनका अनुसार गजुरेलले कुनैपनि एजेण्डामा काम गर्ने वातावरण त्यहाँ थिएन । “उहाँ नामको प्रमुख सल्लाहकार तर, भूमिकाले अर्थहिन अवस्थामा हुनुहुन्थ्यो, उहाँले राजीनामा बाध्यात्मक अवस्थामा दिनुभएको हो”, ती नेताले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट