मन्त्रिमण्डल पुनर्गठनको तयारीबाट किन पछि हटे प्रधानमन्त्री ?-Sutra News

मन्त्रिमण्डल पुनर्गठनको तयारीबाट किन पछि हटे प्रधानमन्त्री ?

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । सरकारको भूमिकालाई लिएर पछिल्लो समय एकातिर दलहरुभित्रै असन्तुष्टि झल्किन्छ भने अर्कोतिर नागरिक तहमा विरोधका स्वरहरु देखिन थालेका छन् । व्यवस्थाविरुद्ध सडकमा देखिएको प्रदर्शन पनि सरकारको भूमिकासँग कहिँ न कहिँ जोडिएको देखिन्छ । जसमा विपक्षी मात्रै होइन, सत्तापक्षभित्रबाटै सरकार नेतृत्वको विकल्प खोज्नुपर्ने स्वरहरु पनि आउन थालेका छन् ।



यस्तोमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरोधका स्वरहरुलाई मथ्थर गर्न मन्त्रिमण्डल पुनर्गठनको तयारीमा देखिएका थिए । उनी निकटका केहीले सार्वजनिकरुपमै मन्त्रिमण्डलको ‘पुरै सेट’ नै परिवर्तन हुने पनि बताउन थालेका थिए ।

प्रधानमन्त्रीको दुबई भ्रमण लगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा चलेको थियो । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जनाएअनुसार मन्त्रिमण्डल पुनर्गठनकै सन्दर्भमा छलफल गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक बेलाउने तयारी गरिएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्ड मन्त्रिमण्डल पुनर्गठनको तयारीबाट एकाएक पछि हटेका छन् । उनले मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आएका विषयलाई मथ्थर पार्न ‘चर्चा अर्थहिन’ भएको टिप्पणी पनि गरेका छन् ।

“सरकार गठन भएको बेलादेखि नै यस्ता चर्चाहरु चल्ने गर्दछन्, अहिले पनि त्यस्तो चर्चा चलेको छ”, आइतबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, “अहिले कुनै त्यस्तो तयारी छैन, भएका चर्चा हल्ला मात्रै हुन् ।”

तर, प्रधानमन्त्रीनिकटका एक नेता अन्य कारणले प्रधानमन्त्री मन्त्रिमण्डल पुनर्गठनको तयारीबाट ‘ब्याक’ भएको बताउँछन् । “पार्टीभित्रैबाट र सत्ता साझेदार दलहरुबाट पनि ‘प्रर्फमेन्स’का आधारमा मन्त्रिहरु फेरफेर गर्नुपर्ने सुझाब आएको थियो, कतिपयले समग्र सेट नै परिवर्तनको विषय पनि उठाएका थिए”, प्रधानमन्त्रीनिकटका ती नेताले भनेका छन्, “तर, अहिले यी कुरा तत्काललाई टरेको छ ।”

उनका अनुसार विशेषगरी कांग्रेसभित्रको विवादले मन्त्रिमण्डल पुनर्गठनको विषय प्रभावित बनेको हो ।

कांग्रेसभित्रको किचलोपछि ‘ब्याक’

अहिले सत्तारुढ नेपाली कांग्रेसभित्रको विवाद क्रमशः मथ्थर बनेको छ । कोशी घटनासँगै चुलिएको विवादले सत्ता गठबन्धन र संघीय सरकारकै भविष्यमाथि पनि प्रश्न उठाएको थियो । तर, पछिल्ला घटनाहरुसँगै उक्त विवाद क्रमशः किनारा लागेको छ ।

तर, निकट समयमै हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनको विषयले भने कांग्रेसभित्र केही हलचली सिर्जना गर्न खोजेको देखिन्छ । यस्तोमा मन्त्रिमण्डल पुनर्गठन गरिएमा विवाद थप चर्किने स्थिति बन्छ ।

कांग्रेसको इतर पक्षले केही मन्त्रालयको नेतृत्व आफूले पाउनुपर्ने अडान राखिरहेको छ । यस्तोमा मन्त्रालय बाँडफाँटकै किचलोले समग्र सरकार नै अस्थव्यस्त बन्न सक्छ । प्रधानमन्त्रीनिकटका ति नेताले बताएअनुसार राष्ट्रिय सभा निर्वाचनअघि मन्त्रिमण्डल पुनर्गठनको विषयलाई थाँती राख्ने सहमति बनेको छ ।

बढ्दै सरकारको कामप्रति असन्तुष्टि

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको आगामी पुस १० गते एक वर्ष पुग्दैछ । सुरुवाती समयमा गठबन्धन हेरफेरको किचलोले काम गर्न नपाएपनि त्यसपछिका समयमा प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएर नागरिक तहमै मन जितेको थियो ।

तर, पछिल्लो समय सरकारप्रति दलहरुभित्रै र जनतामा असन्तुष्टि चुलिएको छ । जसमा मन्त्रिहरुको कार्यसम्पादनलाई पनि लिन मिल्छ ।

अहिले कार्यसम्पादन मूल्यांकनको आधारमा अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राईलगायतमाथि प्रश्न छ । माओवादीभित्र सिटकै विषयमा प्रश्न नउठपेनि कांग्रेस र एकीकृत समाजवादीभित्र सेट नै परिवर्तनको विषय उठेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट