फेरि एक हुँदै पूर्वमाओवादी : प्रचण्ड, बाबुराम र विप्लव फागुन १ अगावै एक ठाउँमा आउने-Sutra News

फेरि एक हुँदै पूर्वमाओवादी : प्रचण्ड, बाबुराम र विप्लव फागुन १ अगावै एक ठाउँमा आउने

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । माओवादी केन्द्रले छिट्टै माओवादी घटकबीच एकताको अभियानलाई बृहतरुपमै अगाडि बढाउने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकताको लागि अन्तिम तयारी गरेको केन्द्रले अन्य पूर्वमाओवादी घटकबीच पनि औपचारिकरुपमै छलफललाई अगाडि बढाउने भएको हो ।



माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सबैजसो माओवादी घटकका दलहरुबीच एकताको निम्ति अनौपचारिकरुपमा संवाद सुरु भएको छ । “अहिले समाजवादी पार्टीसँग एकता गर्न कार्यदल नै निर्माण भएको छ, जसले छिट्टै मूर्तरुप लिनेछ”, महासचिव गुरुङले भनेका छन्, “पहिला पूर्वमाओवादी घटकलाई एकताबद्ध गर्ने अनि अन्य कम्युनिष्ट वामपन्थीबीच छलफल अगाडि बढाउने तयारी पार्टीले गरेको छ ।”

भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग औपचारिक संवाद गरिरहेको माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि संवाद चलाइरहेको उनले बताए । विप्लव नेकपा समाजवादी मोर्चा हुँदै माओवादी केन्द्रसँग नजिक छ ।

पछिल्लो समय विप्लव नेकपाले संसद बाहिरै रहेर पनि माओवादी केन्द्रलाई सघाइरहेको देखिन्छ । विप्लव स्वयम् र नेकपाका अन्य नेताले पनि छिट्टै माओवादीहरुबीच एकता हुने बताइरहेका छन् । विप्लव नेकपासँग स्वयम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संवादमा जोडिएको देखिन्छ ।

सहमतिमै नाम र विचार फेर्ने प्रस्ताव

माओवादी घटकका दलहरुबीच अहिले वैचारिक तथा कार्यनीतिक रुपमा पनि थुप्रै प्रश्नहरु देखिन्छन् । महासचिव गुरुङका अनुसार वैचारिक तथा कार्यनीतिक रुपमा देखिएका समस्यालाई हल गर्नुपर्ने विषयमा माओवादी केन्द्रबीच समीक्षा भएको छ । ति विषयमा सबैबीच छलफलमार्फत मध्यमार्गी बाटो खोज्नुपर्ने सुझाब नेताहरुले दिएका छन् ।

माओवादी केन्द्रभित्र अहिले पार्टीको नामको सन्दर्भमा छलफल चलेको छ । भट्टराई नेतृत्वको समाजवादी पार्टीसँगको पहिलो चरणको छलफलमै माओवादी केन्द्रले नाम परिवर्तनमा सहमति जनाएको थियो ।

माओवादी केन्द्रले कम्युनिष्ट विचारअनुसारको पहिचान हुने नाम राख्नुपर्नेमा मत राखेको छ । जुन विषयमा विप्लव नेकपा पनि सहमत देखिन्छ ।

माओवादी केन्द्रका केही नेताहरुले पार्टीको नाम नेकपा (समाजवादी पार्टी) राखेर जानुपर्ने प्रस्ताव राखेका छन् । तथापी, सहमतिमै नाम टुंगो लगाउने नेताहरुको तयारी छ । जसमा माओवादी केन्द्र निकै लचक देखिन्छ ।

को–कोबीच हुनसक्छ एकता ?

अहिले भइरहेको छलफलअनुसार माओवादी घटकका तीन पार्टीबीच छिट्टै एकता हुनसक्ने देखिन्छ । माओवादी केन्द्रसँग भट्टराई नेतृत्वको नेसपा, विप्लव नेतृत्वको नेकपाबीच छिट्टै पार्टी एकताको अवस्था रहेको माओवादी केन्द्रका नेता निलकण्ठ तिवारी बताउँछन् । उनका अनुसार फागुन १ भित्रै तीन पार्टी एक भइसक्नेछन् ।

“अहिलेसम्मको छलफलअनुसार विशेषगरी तीन दलबीच एकता भइहाल्ने स्थिति छ, जुन फागुन १ सम्म टुंगिने अवस्था देखिन्छ”, उनले भनेका छन्, “माओवादी घटकका अन्य दलबीच पनि छलफल चलिरहेको छ, जसले मूर्तरुप लिन केही महिना लाग्ला ।”

तिवारीका अनुसार मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी र गोपाल किराँती नेतृत्वको माओवादीसँग पनि छलफलहरु भइरहेका छन् । “फुटेर हुँदैन भन्ने सबैलाई परेको छ, परिस्थितिले पनि एक नभइ अगाडि जान नसकिने देखाउँछ”, उनले भनेका छन्, “पछिल्लो स्थितिले वैद्यदेखि किराँतीसम्मलाई छलफलमा जोडेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट