राजेन्द्र लिङ्देनसँग रिसाए पूर्वराजा ज्ञानेन्द्र !-Sutra News

राजेन्द्र लिङ्देनसँग रिसाए पूर्वराजा ज्ञानेन्द्र !

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वसँग असन्तुष्ट बनेका छन् । झापाको शक्तिप्रदर्शनपछि होटल मेची क्राउनमा बसेको समीक्षात्मक बैठकमा पूर्वराजा शाहले असन्तुष्टि पोखेका हुन् । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शैली निकै ‘अपरिपक्क’ देखिएको भन्दै असन्तुष्टि जनाएको निकटस्थले बताएका छन् ।



उक्त छलफलमा शाहनिकटले लिङ्देनलाई र्‍याखर्‍याख्ती समेत पारेको बताइएको छ । बताइएअनुसार पूर्वराजा शाहले लिङ्देनलाई हालकै शैलीले अगाडि बढ्न जटिल हुने कुरा सुझाएका छन् ।

“राजेन्द्र तिमिले छाती अलि ठूलो गर्नुपर्‍यो, यसरी हुँदैन”, शाहले लिङ्देनलाई भनेको भनाई उर्द्धत गर्दै राप्रपाका एक नेताले भनेका छन् ।

प्रसाइँलाई असहयोग गरेकोप्रति असन्तुष्ट

मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र बचाउन अभियान’ले केन्द्रीय राजधानी काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको थियो । मंसिर ७ गतेका दिन राम्रै सहभागितामा प्रदर्शन गराउन सफल भएपनि त्यसयता भने क्रमशः प्रसाइँ नेतृत्वको अभियान सेलाउन थाल्यो ।

निरन्तर सडक संघर्ष गर्ने भनिएको आन्दोलन आइतबारदेखि अनिश्चितकालका लागि स्थगित भएको छ । अभियानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेको जनाएको थियो ।

प्रसाइँ नेतृत्वको अभियानमा एकातिर सरकारले दमन गरेको थियो भने अर्कोतिर राजसंस्था पक्षधरको मूल शक्ति राप्रपाले नै असहयोग गरेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम्ले सार्वजनिक रूपमै प्रसाइँ नेतृत्वको अभियानलाई ‘ठग अभियान’को संज्ञा दिएका छन् ।

तथापी, प्रसाइँ नेतृत्वको अभियानलाई लिएर राप्रपा भने राम्रैसँग विभाजित बनेको छ । वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायत प्रसाइँ नेतृत्वको अभियानको पक्षमा उभिएका छन् ।

पूर्वराजा शाहले पनि प्रसाइँ नेतृत्वको अभियानमा लिङ्देनले गरेको असहयोगप्रति निकै असन्तुष्टि पोखेका छन् । “कम्तिमा प्रसाइँले उठाएको एजेण्डा हाम्रो पक्षमा थियो, जे–जसरी सम्बोधन गर्न मिल्थो, गर्नुपथ्र्यो भन्नेकुरा राजाले राख्नुभएको छ”, शाहनिकटले भनेका छन् ।

शाह निकटस्थतबाट लिङ्देनलाई र्‍याखर्‍याख्ती

शाहले डाकेको समीक्षात्मक बैठकमा लिङ्देनसँगै नेताहरु रामकुमार सुब्बा, रोशन कार्की, सगुनसुन्दर लावती, राम थापा, राजेन्द्र गुरुङलगायतको उपस्थिति रहेको थियो । जसमा लिङ्देनप्रति शाहसहित अन्यले पनि थुप्रै प्रश्न उठाएको बताइएको छ ।

शाहको साथ पाएका राजेन्द्र गुरुङले लिङ्देनलाई “महाधिवेशनको म्यान्डेड के हो ?” भन्दै प्रश्न गरेको ति नेताले बताए । “महाधिवेशनबाट किन नेतृत्व परिवर्तन भयो, महाधिवेशनले के भनेको थियो, हेक्का राख्नुपर्दैन ?” गुरुङले गरेको प्रश्नलाई उद्र्धत गर्दै ती नेताले भनेका छन् ।

महाधिवेशनमा दिइएको निर्देशनअनुसार रोडम्याप तय गर्न लिङ्देनलाई शाहले निर्देश गरेको ति नेताले बताए ।

राजसंस्थापक्षधरलाई एक ठाउँमा ल्याउन निर्देशन

पूर्वराजा शाहले राजसंस्था पक्षधरलाई समेटेर अगाडि बढ्न लिङ्देनलाई भनेका छन् । महाविधेशनसँगै टाढिएका कमल थापा र अहिलेका दुर्गा प्रसाइँलाई पनि साथ लिएर अगाडि बढ्न उनले निर्देशन गरेको ती नेताले भने ।

“उहाँले प्रष्टरूपमै कमल थापासहित प्रसाइँलाई समेटेर अगाडि बढ्न भन्नुभएको छ”, ति नेताले भने ।

 

याे पनि….

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट