‘असली राजावादी’ को ?-Sutra News

‘असली राजावादी’ को ?

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र बचाउ’ अभियानले काठमाडौं केन्द्रीत शक्ति प्रर्दशनको आह्वान गर्‍यो । उनी नेतृत्वको अभियानले उक्त दिन बल्खुमा केही उत्साहजनक सहभागिता पनि गराएको थियो । तर, त्यसयता उनको पक्षमा माहोल भने क्रमशः सुस्ताउँदै गएको छ । गृहप्रशासनको दबाब र स्वयम् उनी पक्षधरको अग्रसता सेलाउँदै जाँदा प्रदर्शन पनि कमजोर बन्न गएको देखिन्छ ।



आइतबारदेखि प्रसाइँ समूहले सबै प्रदर्शनका कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ । प्रदर्शनका कार्यक्रम स्थगित गरेको समूहले आइतबार उपत्यकाका केही क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

प्रसाइँले समूहले राजसंस्थासहित हिन्दु राष्ट्र कायम गराउने, संघीयता खारेज गराउनेलगायतका एजेण्डा अघि सारेको छ । तर, स्वयम् राजसंस्था पक्षधर प्रसाइँ समूहको प्रदर्शनलाई लिएर पक्ष र विपक्षमा बाडिँदा अभियान भने कमजोर बन्यो । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल धार प्रसाइँको अभियानको विरुद्धमा उभिएको छ भने स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनी निकटस्थ सहयोगमा देखिएका छैनन् ।

प्रसाइँले काठमाडौंमा प्रदर्शन गरिरहँदा राप्रपाको मूल धारले झापामा पूर्वराजा शाहलाई नै उपस्थित गराएर शक्ति देखाएको छ । शनिबार पृथ्वी नारायण शाहको शालिक अनावरणको नाममा पूर्वराजा शाहलाई राप्रपाले झापा पुर्‍याएको थियो ।

राप्रपाको मूल धारले प्रसाइँ नेतृत्वको अभियानप्रति निकै रुखो आलोचना गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाइँलाई राजसंस्थाको एजेण्डा अघि सारेर जनतालाई ठग्न खोजेको आरोप लगाएका छन् । प्रसाइँको पक्षमा उभिएका आफ्ना नेता तथा कार्यकर्ताको पनि उनले आलोचना गरेका छन् ।

“हाम्रो अध्यक्ष किन आएन, हाम्रो राप्रपाले किन समर्थन गरेन भन्छन् ? म ठगलाई समर्थन गरेर कसरी हिँडु ?”, झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले भनेका छन्, “बैंकसँग अबौं ऋण लिएर तिर्नु पर्दैन भनेर हिँडेको छ, त्यस्तोमा हाम्रा केही उसैको पछि ताली बजाएर हिँडेका छन्, उसले राजा ल्याइदिन्छ, उसले हिन्दु राष्ट्र ल्याइदिन्छ भनेर हिँड्छन्, यस्तो पनि हुन्छ ? राप्रपाले एउटा बैंक ठगलाई समर्थन गरेर हिँड्छ ?”

पूर्व राजा शाह मौन रहने, राप्रपाको मूल नेतृत्वको प्रसाइँको अभियानको विरुद्धमा खुल्ने अनि अन्य राजसंस्थापक्षधर विभाजित हुँदा प्रसाइँ अभियान प्रभावित भएको देखिन्छ ।

समूहगत र व्यक्तिगत लडाइँ

गणतन्त्रको पक्षमा रापतापपूर्ण अवस्था भइरहँदा २०६३ मा राजासहित प्रजातन्त्रको मूल विचारलाई बोकेर राप्रपा नेपालको पुनर्गठन भएको थियो । विभिन्न राजवादीलाई समेटेर कमल थापाले राप्रपालाई अगाडि ल्याएका थिए । राजसंस्था पक्षधर निकै कमजोर बनेको त्यो परिस्थितिमा पुनर्गठन गरिएको राप्रपालाई अगाडि ल्याउने काम थापाले गरे ।

थापाकै पहलमा राजसंस्था पक्षधर पार्टीहरुबीच २०७४ मा पार्टी एकतासमेत भएको थियो । तर, २०७८ मा राप्रपा महाधिवेशनसँगै भने थापा स्वयम् पार्टीबाट बाहिरिने परिस्थित बन्यो । पार्टी अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेका थापा पूर्वराजा शाहप्रति असन्तुष्टि जनाउँदै राप्रपा छाडे ।

उनले फेरि राप्रपा नेपाल ब्यूँताए । राप्रपा ब्यूँताएका थापाले आफ्नो पार्टीको कार्यनीतिमै राजसंस्थाको एजेण्डालाई राखेनन् । राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले चलखेल गरेको आरोपसहित उनी राप्रपाबाट अलग भएका थिए । थापा नेतृत्वको पार्टीले राजसंस्थाको एजेन्डा छाडेर हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा बनाएको थियो ।

तर यसबीचमा भएका स्थानीय, प्रदेश र संघीय चुनावमा राप्रपा नेपालले कतै जित्न सकेन । २०७९ मंसिरमा भएको संघीय चुनावमा देशैभरबाट समानुपातिकतर्फ राप्रपा नेपाललाई करिब ११ हजार मत मात्रै प्राप्त भयो । त्यसपछि थापा बाध्यकारीरुपमै राजसंस्थाकै पक्षमा फर्किए । हाल उनी राजसंस्थाको पक्षमा निरन्तर वकालत गर्छन् ।

थापालाई हराएर उदाएका लिङ्देन अहिले राप्रपाभित्र बलिया अध्यक्षको रुपमा छन् । पछिल्ला घटनाले उनको पक्षमा स्वयम् पूर्वराजा शाह पनि रहेको देखाउँछ ।

तथापी, योबीचमा राप्रपाभित्रै पनि को असली ? भन्ने लडाइँ चलेको छ । साझा विकेकशील हुँदै राप्रपा भित्रिएका रवीन्द्र मिश्र राजसंस्थाको पक्षमा आक्रामक शैलीमा देखिइरहेका छन् । यता नवराप्रपा ज्ञानेन्द्र शाही पनि खाँटी राजावादी बन्ने होडमा छन् ।

पछिल्ला शक्ति प्रदर्शनका घटनालाई हेर्दा, विशेषगरी समूहगतरुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मेडिकल व्यवसायी दुर्गा प्रसाइँबीच को असली राजसंस्था पक्षधर भन्ने लडाइँ चलेको छ । असली देखाउन चलेको लडाइँले समग्रमा राजसंस्था पक्षधरलाई भने कमजोर पारेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट