प्रसाइँले आन्दोलन उठाउँदा विभाजित बन्यो राप्रपा-Sutra News

प्रसाइँले आन्दोलन उठाउँदा विभाजित बन्यो राप्रपा

बिहिबार, ७ मंसिर २०८०

बिहिबार, ७ मंसिर २०८०

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँले बिहीबारदेखि संघीय राजधानी काठमाडौं केन्द्रीत आन्दोलन थालेका छन् । उनी नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ नामक समूहले बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । बिहीबार बल्खुमा प्रदर्शन गरेको उक्त समूहले शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । साथै, प्रदर्शन निरन्तर पनि गरिने जनाएको छ ।



बल्खुमा गरिएको प्रदर्शन अपेक्षाकृत नै रहेको समूहको निष्कर्ष छ । आगामी दिनको प्रदर्शनमा थप सहभागिता बढ्ने विश्वास समूहले लिएको छ ।

प्रदर्शनमा समूहले विशेषगरी राजसंस्थासहितका एजेण्डालाई अगाडि सारेको छ । उसले राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघियता खारेज गर्नुपर्ने जस्ता एजेण्डालाई अगाडि सारेको छ । प्रसाइँ समूहले आफ्नो आन्दोलनमा बैंक तथा वित्तीय संस्थाबाट पीडित बनेकाको एजेण्डा पनि अगाडि सारेको छ ।

प्रसाइँ समूहले अहिले उठाएका अधिकांश एजेण्डा संसदको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग मेल खान्छ । यस्तोमा प्रसाइँले आन्दोलनको उठान गर्दै गर्दा राप्रपामा भने अन्योलतामा देखिएको छ । राप्रपा प्रसाइँ समूहको आन्दोलनलाई समर्थन गर्ने वा नगर्ने भन्नेमा विभाजित देखिएको छ ।

वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत प्रसाइँसँग हातेमालो गर्नुपर्ने पक्षमा उभिँदा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन भने मौन देखिएका छन् । अध्यक्ष लिङ्देनले मौनरुपमै प्रसाइँ समूहको प्रदर्शनप्रति बिमती जनाएका छन् ।

राप्रपाभित्र प्रसाइँ समूहको आन्दोलनलाई लिएर नेताहरु विभाजित बनेपछि वरिष्ठ नेता लोहनीले प्रसाइँलाई सघाउनुपर्ने धारणा राखेका थिए । सामाजिक सञ्जालमार्फत उनले प्रसाइँ समूहको आन्दोलनमा सहयोग र समर्थन रहनुपर्ने बताएका थिए ।

लोहनी जस्तै वरिष्ठ उपाध्यक्ष मिश्रले पनि प्रसाइँ समूहको आन्दोलनलाई सघाउनुपर्ने बताएका थिए ।

तर, पार्टीको मूख्य नेतृत्व असहमत बनेपछि राप्रपाले निर्णय भने लिन सकेन । स्वयम् लिङ्देन मंसिर ९ मा झापामा शक्ति प्रदर्शन गर्ने तयारीमा जुटेका छन् ।

प्रसाइँ समूहको आन्दोलनलाई लिएर पार्टी विभाजित बनेपछि केही नेताहरु भने व्यक्तिगतरुपमै आन्दोलनमा सहभागि भएका छन् । पार्टी प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाही बल्खुको प्रदर्शनमा सहभागि हुन पुगेका थिए ।

उनले प्रदर्शनलाई सम्बोधन पनि गरेका थिए । सम्बोधन क्रममा उनले सबै राजसंस्था पक्षधर, राष्ट्रवादी गोलबन्द हुनुपर्ने बताएका थिए । उनले प्रसाइँ नेतृत्वबाट सुरु आन्दोलन नै निर्णायक हुनेसमेत बताएका थिए ।

“यो व्यवस्था फाल्नको निम्ति दुर्गा प्रसाइँको नेतृत्वमा आन्दोलन उठान भइसकेको छ, यो आन्दोलनमा सबै सहभागि हुनुपर्छ, यसले नै निर्णायक अवस्थामा पुर्‍याउँछ”, उनले भनेका छन् ।

नेतृत्वलाई भने एजेण्डा ‘हाइज्याक’को चिन्ता

प्रसाइँले उठाएका करिब सबै एजेण्डा राप्रपासँग मेल खान्छन् । प्रसाइँले विगतमा राप्रपाले गर्ने प्रदर्शनभन्दा पनि बलियो शक्ति देखाएका छन् । प्रसाइँ समूहले गरेको प्रदर्शनले राप्रपाको नेतृत्वलाई भने अस्तित्व जोगाउने चिन्ता बनाएको छ । आफ्नै नेता तथा कार्यकर्ता समूहको प्रदर्शनमा गइरहँदा आफ्नै अस्तित्व के हुने अन्योल बनेको छ ।

एकातिर एजेण्डा ‘हाइज्याक’ भएको चिन्ता छ भने अर्कोतिर संगठन नै विभाजित त हुने होइन भन्ने चिन्ता देखिन्छ । राजनीतिक विश्लेषक पछिल्लो घटनाक्रमले राप्रपाको अर्थमाथि नै प्रश्न उठेको बताउँछन् ।

“आन्दोलन एजेण्डाका पछाडि हुने हो, विगतमा राप्रपाले बोक्ने एजेण्डा प्रसाइँले बोकिदिए, राप्रपाका मान्छे पनि प्रसाइँको आन्दोलनमा छ”, विश्लेषक मुकुन्द आचार्य भन्छन्, “राप्रपाको एजेण्डा प्रसाइँले हाइज्याक गरे, अब लिङ्देनको पार्टी नै संकटमा देखियो ।”

तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठ आफ्नो एजेण्डामा जे सुकैले आन्दोलन गर्नु सुखद भएको बताउँछन् । “धर्म र राजाको एजेन्डा राप्रपाको हो, राप्रपाले कठिन दिनमा यी मुद्दा उठान गर्दै आएको हो, राप्रपाले यो मुद्दा जीवितै राखेको थियो र आज दुर्गा प्रसाईंले बोकेर हिँडेका छन्”, उनले भनेका छन्, “प्रसाईं मात्र होइन, जो-कोहीले यो मुद्दा उठाउँदा राप्रपालाई सन्तोष नै हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट