यसकारण थप सकसमा पर्न सक्छ शेयर बजार-Sutra News

यसकारण थप सकसमा पर्न सक्छ शेयर बजार

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

काठमाडौं । लामो समयदेखि शेयर बजारले गति लिन सकेको छैन । असोज अन्तिम सातादेखि हालसम्म बजारमा दैनिक कारोबार निरन्तर एक अर्बभन्दा मुनि छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार बजारमा कारोबार रकम जम्मा ५४ करोड रुपैयाँको भएको थियो । बजार विश्लेषकका अनुसार यो अवस्था लगानीकर्तामा आएको चरम निराशाको अवस्था हो ।



बजार घटिरहँदा दर्जनौं कम्पनीका मूल्य सुरुवाती अवस्थाभन्दा तल झरेका छन् । आइतबारदेखि दोस्रो बजारमा प्रवेश गरेको सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको मूल्य बुधबारसम्म आउँदा आईपीओ निष्कासन गर्दाको मूल्यभन्दा तल झरेको छ ।

प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको बुधबार बजार बन्द हुँदाको मूल्य प्रति कित्ता २३४ रुपैयाँ ८० पैसा थियो । हालसम्मको ट्रेण्डलाई हेर्दा सोनापुरको मूल्य अझै झर्ने देखिन्छ ।

सोनापुर मात्रै होइन, आन्तरिकरुपमा मजबुद देखिएका कम्पनीका मूल्य पनि निकै खस्किएका छन् । १९ वाणिज्य बैंकमध्ये सात वाणिज्य बैंकको प्रतिकित्ता मूल्य दुई सय रुपैयाँभन्दा कम छ । जुन निकै नै नसुहाउने अवस्था हो । वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा गनिएको ग्लोबल आइएमईको मूल्य बुधबार दुई सयको हाराहारीमा थियो ।

७० अर्बभन्दा बढीको शेयर थपिँदै

लामो समयदेखि नै शेयर बजारले गति लिन सकेको छैन । तर, योबीचमा दजनौं कम्पनीहरुले शेयर निष्कासन गरिरहेका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर जारी भएको छ । बोर्डका अनुसार थप ४२ अर्ब ९० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन प्रक्रियामा रहेको छ ।

बोर्डले जनाएअनुसार बैंकहरुले मात्रै २० अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि स्वीकृति माग गरेका छन् । उनीहरुले ९ देखि १०.५० प्रतिशतसम्मको व्याज दिने प्रस्ताव गरेका छन् ।

त्यस्तै, ११ वटा कम्पनीले ११ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्दैछन् । अन्य केही कम्पनीले पनि ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्यूचल फण्ड र केही कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ बराबरको एफपीओ पनि जारी गर्न बोर्डसँग स्वीकृति माग गरेका छन् ।

यसरी हेर्दा, चालु आबमा शेयर बजारमा ७० अर्बभन्दा बढीको शेयर थपिने देखिन्छ । बजार विश्लेषक शंकर घिमिरे ठूलो स्तरमा शेयर निष्काशनले दोस्रो बजारलाई प्रभावित पारेको बताउँछन् ।

भएको बजारको आकार चल्न नसकिरहेको र आकार थप वृद्धि हुँदै जाँदा बजार थप समस्यामा पर्न सक्ने उनको अनुमान छ । हालकै अवस्था कायम रहे बजार थप तल खस्किन सक्ने उनी बताउँछन् ।

धितोपत्र र राष्ट्र बैंक मुख्य जिम्मेवार

शेयर बजारलाई समस्यामा पार्न नियमनकारी भूमिकामा रहेका धितोपत्र बोर्ड र राष्ट्र बैंकको भूमिका नै जिम्मेवार रहेको शेयर विश्लेषकहरुको बुझाई छ । विश्लेषक घिमिरे दुवै निकायका नीतिहरु बजारमैत्री नभएको बताउँछन् ।

“धितोपत्र बोर्डभित्र निकै भ्रष्टाचारका विषयहरु आएका छन्, जहाँ कुनै मापदण्डबिनै शेयर निष्कासनको अनुमति दिने काम भएको छ”, उनले भनेका छन्, “नेपाल राष्ट्र बैंकको भूमिका पनि उस्तै छ, बजारलाई कसरी समस्यामा राखिरहने भन्ने कोणबाट नीतिहरु आएका छन् ।”

जबसम्म बोर्ड र केन्द्रीय बैंक बजार मैत्री बन्दैनन् तबसम्म बजारमा सुधार हुने अवस्था नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट