प्रचण्डको प्रस्तावले तनावमा बाबुराम, फेरि पार्टी फुट्ने सम्भावना-Sutra News

प्रचण्डको प्रस्तावले तनावमा बाबुराम, फेरि पार्टी फुट्ने सम्भावना

बाबुराम पछिल्लो समय माओवादीप्रति आक्रामक छन् भने नेसपाको पुनर्निमाणमा लागेका छन्

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

काठमाडौं । बौद्धिक नेताका रुपमा चिनिने डा. बाबुराम भट्टराई राजनीतिक निर्णयमा भने बारम्बार चुकिरहन्छन् । यही शैलीका कारण उनको राजनीतिक भविष्यमाथि सधैँ चर्चा भइरहन्छ । बाबुरामको नेपाल समाजवादी पार्टी (नेसपा) पनि उनकै दोधारात्मक स्थितिका कारणका फुट्ने अवस्थामा पुगेको छ ।



केही समयअघि मात्रै माओवादी केन्द्रले नेसपालाई एकीकरणका लागि लिखित प्रस्ताव राखेको थियो । तर, प्रस्ताव आएको बेला बाबुराम भारत भ्रमणमा थिए । माओवादीले बाबुरामलाई बायस गर्नकै लागि नेसपालाई एकताको प्रस्ताव गरेको थियो ।

माओवादीले बाबुरामलाई सम्बोधन नगरी नेसपाका दोस्रो अध्यक्ष महेन्द्र राय यादवलाई पत्र लेखेको थियो । यो निर्णयबाट बाबुराम तरंगित भए । मुख्यगरी बाबुराम बिना नै माओवादीले नेसपासँग एकता गर्न खोजेको देखियो ।

बाबुरामसहितको नेसपासँग एकता गरेमा पदीय बार्गेनिङ्ग गर्ने र फेरि माओवादीमा धार पैदा हुने संशय देखिन्छ । यही कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि बाबुरामसँग जोखिम नमोल्नका लागि उनी बाहेकका अन्य नेतासँग एकता प्रस्ताव राखेका हुन् ।

यही पत्रका कारण बाबुरामको पार्टीभित्र अहिले विवाद छ । हुन त नेसपाले पनि माओवादीसँग एकताका लागि गएको फागुनमा पत्र पठाएको थियो । सोही पत्रमा बाबुरामले पार्टीको दोस्रो नेता आफूलाई दिनुपर्ने प्रस्ताव राखेका थिए ।

यही कारण प्रचण्ड चिढिएका र समाजवादी मोर्चामा समेत बाबुरामलाई मिसाएनन् । पार्टी एकता गरेर प्रचण्डपछाडिको पद लिने दाउमा रहेका बाबुराम मोर्चामा समेत अटाएनन् । यही कारण प्रचण्ड र बाबुरामबीच दरारता उत्पन्न भयो ।

प्रचण्डले बाबुरामबिनाको नेसपासँग एकता गर्न खोज्नुको खास कारण चाहिँ बाबुरामलाई अप्ठ्यारोमा पार्ने आशय हो । किनकि, अहिले नेसपाका नेतासमेत माओवादीको हसिँया हथौडा चिन्ह लिएर चुनाव जितेका छन् । वैधानिक हिसाबले उनीहरु अहिले माओवादीकै सांसद हुन् ।

माओवादीले पार्टी एकता प्रस्ताव गरेका महेन्द्र राय यादव पनि माओवादीकै सांसद हुन् । उनी नेसपाका भने संघीय परिषद् अध्यक्ष हुन् । उनी प्रचण्ड नेतृत्वकै सरकारको कृषि तथा पशुुपन्छी मन्त्री छन् । यही कारण महेन्द्र र प्रचण्डको सम्बन्ध राम्रो छ ।

नेसपा स्रोतका अनुसार बाबुराम नमाने पनि महेन्द्रराय यादवहरु माओवादीसँग एकता गर्ने पक्षमा उभिएका छन् । उनीहरु बाबुराम नमाने पार्टी फुटाएर भए पनि माओवादीमा मिसिने पक्षमा छन् । यही कारण बाबुराम पछिल्लो समय माओवादीप्रति आक्रामक छन् भने नेसपाको पुनर्निमाणमा लागेका छन् ।

यदि यो समयमा बाबुरामले महत्वपूर्ण निर्णय लिन नसके फेरि उनी एक्लिने छन् । बाबुराम कुनै बेलाका माओवादी नेता नै हुन् । माओवादीको दोस्रो नेता रहेका उनी प्रचण्डले अध्यक्ष हुन नदेको झोंकमा माओवादी छाडेर निस्किए ।

त्यसपछि नयाँ शक्ति निर्माणमा जुटे । नयाँ शक्ति निर्माणमा लाग्दा समेत माओवादीका उनी पक्षका नेताले उनलाई पत्याएनन् । उनको नेतृत्वमाथि प्रश्न गर्दै उनीसँग एकता गर्दाका नेताले समेत बाबुरामको साथ छाडे ।

नयाँ शक्तिबाट कुनै राजनीतिक छलांग मार्न नसकिने बुझेपछि बाबुराम तराई मधेश केन्द्रित दल संघीय समाजवादीसँग एकता गरे । उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेपछि पछि महन्थ नेतृत्वको अर्को मधेश केन्द्रित दललसँग एकता गरे । तर त्यहाँ पनि बाबुराम अटेनन् । महन्थहरु पनि बाहिरिएर लोसपा नामको पार्टी बनाए भने बाबुरामले पनि उपेन्द्रसँग बस्न सकेनन् ।

उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग पनि बिच्छेद गरे र नेपाल समाजवादी पार्टी (नेसपा) निर्माणमा लागे । उनले नेसपालाई टिकाउन माओवादीसँग चुनावी एकता गरे तर त्यही माओवादीले अहिले नेसपामा विभाजन ल्याउन खोज्दैछ ।

बाबुरामले माओवादी केन्द्रलाई पठाएको ९ बुँदे प्रस्तावको जवाफ नआएकोले वार्ताको औचित्य नरहेको बताएका छन् । हालै बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा माओवादीसँग एकताबारे अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरिएको थियो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म वार्ताको औचित्य नरहेको हाम्रो पार्टी स्पष्ट गर्दछ ।’

तर, यही कारण बाबुरामको पार्टी फेरि फुट्ने सम्भावना छ । माओवादीको चुनाव चिन्ह लिएर लडेका नेतामात्रै होइन माओवादीसँग एकताका पक्षधर बाबुरामबाट छुट्टिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट