सुवासको राजनीतिक उत्तराधिकारी बन्न सुहाङलाई कति सहज ?-Sutra News

सुवासको राजनीतिक उत्तराधिकारी बन्न सुहाङलाई कति सहज ?

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । एमाले उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि अहिले उनको परिवार र उनको पार्टी शोखमा छ । परिवारलाई अभिभावक गुमाएकोमा र पार्टीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेता गुमाएकोमा चिन्ता छ ।



एमाले अध्यक्ष केपी शर्मा ओलीले सुवासको अभाव सधैँ खट्किरहने बताएका छन् । सोमबार आयोजित स्मृति सभामा समेत ओलीले आफूलाई नेम्वाङको निधन पत्यार नलागेको बताएका थिए । शोकमै रहे पनि एमालेभित्र राजनीतिक गतिविधि भने बढ्दो छ । ओलीले पार्टी कार्यालय च्यासलमा सुवासचन्द्र नेम्वाङलाई सम्झिरहँदा नेम्वाङको गृह जिल्ला इलाममा पनि सोही कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव रघुवीर महासेठजस्ता नेताले नेम्वाङलाई सम्झिए ।

इलामको कार्यक्रममा सुवास पुत्र सुहाङ पनि सहभागी थिए । कार्यक्रममा सुहाङले आफूलाई चिन्ता र शोकको बेला साथ दिनेप्रति आभाव प्रकट गरे । इलाम चोक बजारको लाकुरी चौताराबाट सुहाङले आफ्ना बावुका विगतलाई सम्झिए । उनले बाबुलाई सम्झिँदै जाँदा बाबुले नसकेको र अधुरा कामलाई आफूले सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

केन्द्रीय स्तरका नेता रहेको सोही कार्यक्रममा सुहाङको भाषणलाई धेरैले प्राथमिता दिएका थिए । उनले अधुरा कामलाई पूरा गर्ने भन्दै गर्दा भने के उनी बाबुको उत्तराधिकारी बन्न चाहन्छन् ? भन्ने प्रश्न जन्मिएको छ ।

उनी विगतबाटै बाबुको जीवनलाई पछ्याइहेका व्यक्ति हुन् । सुवास वकिल हुन् । छोरा सुहाङले पनि बाबुलाई पछ्याउँदै वकिल नै बने । अहिले उनको फर्म छ । सुवास फुटबल प्रेमी थिए । उनी जिल्लामा हुने सानातिना फुटबल प्रतियोगितामा पनि पुग्थे । उनी जिल्लाकै चर्चित माइभ्याली फुटबल क्लवमा सधैँ जान्थे । बाबुकै सिको गर्दै सुहाङले पनि इलाम एफसी चलाएका छन् ।

बाबु सुवास अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका फेन थिए । छोरा पनि यस्तै लिभरपुलको फेन हुन् । बाबु र छोराबीच अधिकांश कुरामा समानता छ । अब खेलकुद र कानुनमा जस्तै राजनीतिमा समेत बाबुलाई पछ्याउँदै त छैनन् सुहाङ भन्ने प्रश्न जन्मिएको छ । हुन त सुवास इलामका अभिभावक थिए । सरल स्वाभावका कारण उनी छिटो घुलमिल हुन्थे भने बारम्बार चुनाव जिन्थे । उनी इलाम २ बाट यसपटकको पनि प्रतिनिधिसभा सांसद हुन् । अब सोही क्षेत्र खाली छ । नेम्वाङको निधनसँगै खाली रहेको उक्त क्षेत्रमा कतै एमालेले सुहाङलाई नै उठाउँदैन ? प्रश्न पनि उब्जिएको छ ।

हुन त स्मृति सभाका कार्यक्रममा सुहाङले राजनीतिमा आफूले नै अवसर पाउनुपर्छ भन्ने नलागेको बताएका थिए । उनको भनाइको आशयमा अवसर नलिने तर, आवश्यकता परे लड्ने बताएका छन् । एमालेका नेताहरु पनि सुवासको क्षेत्रमा अन्य एमाले उम्मेदवारको तुलनामा सुहाङलाई सहज पर्ने बताउँछन् ।

उनी पढेलेखेका छन् भने युवा नेता हुन् । सुवासको मृत्युपछिको समवेदनाको मत पनि उनलाई जाने उनीहरुको बुझाइ छ । अहिले सोही क्षेत्रमा चुनाव लड्ने नेतासमेत अभाव छ । एमाले जिल्ला अध्यक्ष महेश बस्नेत इलाम १ का सांसद हुन् । उनले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै सांसद बनेका हुन् ।

जिल्ला कमिटी उपाध्यक्ष उदय राई गएको स्थानीय तहमै पराजीत नेता हुन् । सन्दकपुर गाउँपालिका अध्यक्ष हारेका छन् भने अब चुनाव लड्ने तयारी गरेका छैनन् । पार्टी सचिव उमेश गुरुङ पनि चुनाव लड्न चाहँदैनन् । उनी गएको स्थानीय तहको निर्वाचनमै बागी हालेर विवादित बनेका नेता हुन् । त्यस क्षेत्रबाट उठ्न पूर्व सचिव गणेश बरालको तयारी देखिन्छ । तर, उनी मतभारका आधारमा भने कमजोर देखिन्छन् । सैद्धान्तिक नेताको छवि बनाएका उनी गएको निर्वाचनमै प्रदेश सभामा हारेका हुन् ।

यही कारण अन्य दलसँग गठबन्धन नभए सुहाङ लड्न सक्ने कतिपयको बुझाइ छ । हुन त एमाले वृतमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नै उठ्ने तयारी गरिरहेको समेत चर्चा छ । उनी पछिल्लो समय एमालेसँग नजिकिएका देखिन्छन् ।

नेम्वाङ्गको स्मृतिमा भएको एमालेको सभालाई सम्बोधन गर्न उनी एमाले पार्टी कार्यालय पुगेका थिए भने एमाले र एकीकृत समाजवादी एकता हुने समेत बताएका थिए । यही कारण खनालको सम्भावना समेत छ । तर, अहिलेसम्म एमालेबाट उठ्ने उम्मेदवारमा भने सुहाङ नै हुन सक्ने धेरैको आंकलन छ ।

सुहाङलाई पार्टीबाट टिकट लिनसमेत असहज नभएका कारण लड्न सक्ने कतिपयको भनाइ छ । सुहाङको राजनीतिक उदय असम्भव नरहेको एमाले इलामका कार्यकर्ता बताउँछन् । एमालेमा विगतबाटै मृत्युपछि उत्तराधिकारीको खोजीमा परिवारकै सदस्य लिने परम्परा समेत छ । जस्तो मदन भण्डारीको निधनपछि विद्या भण्डारीको उदय र रवीन्द्र अधिकारीको निधनपछि पत्नी विद्या भट्टराईको उदय जस्तै सुहाङ एमालेको भाबी नेतृत्वमा आउन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट