विदेश भ्रमणमा पनि प्रचण्डको परिवार मोह, जम्बो टोली घटाउँदा पनि छुटिनन् छोरी-Sutra News

विदेश भ्रमणमा पनि प्रचण्डको परिवार मोह, जम्बो टोली घटाउँदा पनि छुटिनन् छोरी

शनिबार, ३० भाद्र २०८०

शनिबार, ३० भाद्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरे । प्रधानमन्त्रीसँगै १० जना भ्रमण दल आज अमेरिका लाग्यो ।



न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाबाट प्रचण्ड नेपाल नआई एकैपल्ट चीन भ्रमणमा निस्किने छन् । यो भ्रमण प्रचण्डका लागि महत्वपूर्ण हो । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पनि प्रचण्डले यो भ्रमण ऐतिहासिक भएको दाबी गरेका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी छन् । प्रचण्डले यसपल्ट टोली घटाएका छन् ।

मुलुकमा आइपरेको आर्थिक भार कम गर्न प्रचण्डको भ्रमण टोली घटाइएको हो । सुरुवातमा २४ जनाको टोली जाने भनिएपछि अन्ततः १० जना मात्र टोली लिएर प्रचण्ड अमेरिका उडे । उनले यसपल्ट नेपालबाट चिकित्सकसमेत नलिई अमेरिका लागे । सधैँ जम्बो टोली भ्रमण निस्कियो भने आरोपित हुने नेपालका प्रधानमन्त्रीहरु यसपल्ट अपबाह भए । तर यसपल्ट पनि भ्रमण टोलीमा प्रचण्डले परिवादवाद भने राम्रै गरी देखाए ।

थुप्रै अधिकारी छुटे पनि उनको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल भने छुटिनन् । प्रधानमन्त्रीको महत्वपूर्ण भ्रमण भएका कारण छोरीलाई पनि लिएको गएको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । तर प्रचण्डका अधिकांश विदेश भ्रमणमा गंगा दाहालको अनुहार देख्न पाइन्छ ।

अरुलाई त होइन, परराष्ट्रकै कर्मचारीलाई समेत गंगाको काम के हो थाहा पत्तो हुँदैन । उनी अहिले प्रधानमन्त्रीकी स्वकीय सचिव हुन् । तथापी, भ्रमण टाेलीमा प्रधानमन्त्री प्रचण्डले गंगालाई छाेरीकै रूपमा राखेका छन् ।

धेरैले यसपल्टको भ्रमण टोलीको गंगा नजाने अनुमान गरेका थिए । तर त्रिभुवन विमानस्थलबाट बिदा हुँदै गर्दा सारी र ब्लाउज पहिरिएर गंगा प्रचण्डसँगै देखिइन् । यसले गर्दा फेरि प्रचण्डको परिवार मोह झुल्किएको छ । गंगा दाहालको विषयलाई लिएर माओवादीभित्रै पनि प्रचण्डमाथि अनेक प्रश्न उठेका छन् । गएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दोस्रो स्तरका नेताले गंगा दाहालको भूमिकाका विषयमा प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीस्तरका महत्वपूर्ण भेटघाटमा पनि गंगा देखिने भएकाले गंगाको हैसियत बताउन प्रचण्डलाई दोस्रो स्तरका नेताले अनुरोध गरेका थिए । तर, प्रचण्डले यसबारे चासै राखेनन् । प्रचण्ड प्रधानमन्त्री बन्नुअघिदेखि नै गंगा उनको स्वकीय सचिव थिइन् । तर स्वकीय सचिव भएकै कारणले विदेशी बैठकमा समेत गंगा सहभागी हुन नपाइने कूटनीतिक विद्हरुको तर्क छ । यता प्रचण्ड भने यसबारे कुनै चासो राख्दैनन् ।

प्रचण्डका लागि यो विषय नौलो पनि होइन । उनी हरेक पल्ट यस्ता घटना दोहो¥याछँन् । र विपक्षीलाई कुरा काट्न सजिलो बनाइदिन्छन् । प्रचण्डको परिवादकै कारण गंगा स्वकीय सचिव बनेकी हुन् ।

प्रचण्डसँगै जनयुद्ध लडेका अनेकन कार्यकर्ता अहिले कहाँ छन् पत्तो छैन तर प्रचण्डको परिवार शक्तिमै छ । प्रचण्डमार्फत शक्तिमा धाउने गंगा एक्ली पात्र होइनन् ।
उनले माइली छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाएका छन् । कांग्रेससँग गठबन्धन गरेर २०७४ को स्थानीय चुनावमा रेनुलाई भरतपुर महानगरको मेयर पदमा उम्मेदवार बनाएको माओवादीले जवाफै दिन नसक्ने परिस्थिति खेप्नुपरेको थियो ।

प्र्रचण्डले भाइ नारायण दाहाललाई पनि सुविधाको पद दिएका छन् । रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि २५ फागुन २०७८ मा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनित भएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा दाहाल राष्ट्रियसभा सदस्य मनोनित हुँदा पनि प्रचण्डको परिवार मोहप्रति आलोचना भएको थियो । तर त्यसबेला प्रचण्डले कुनै जवाफ नदिए पनि भाइ नारायणले प्रतिवाद गरेका थिए ।

गंगाका श्रीमान् एवम् प्रचण्डका ज्वाइँ आचार्य पटक–पटक कोशी प्रदेशको मन्त्री बनेका छन् । उनी प्रचण्डको ज्वाइँ भएकै कारण हरेक पल्ट मन्त्री बनेका हुन् । उनलाई मन्त्री नबनाएकै कारण यसअघि कोशीमा माओवादीभित्र तीब्र विवाद भएको थियो । प्रचण्डकै नाम लिएर जीवनले मन्त्री बनाउन दबाब दिने कारण पटक–पटक मन्त्री बन्ने गरेका छन् ।

प्रचण्डकी बुहारी एवम् स्वर्गीय नेता प्रकाश दाहालकी श्रीमती बिना मगरलाई पनि प्रचण्डले परिवारका अरु सदस्य जत्तिकै महत्वका साथ अवसर दिएका छन् ।

२०७४को चुनावमा जितेकी उनले पहिलोपटक चुनाव जित्नासाथ बिना खानेपानी तथा सरसफाइ मन्त्री भइन् । माओवादी केन्द्र परिवादवादकै कारण राजनीति पनि सकिएर जाने राजनीतिक विश्लेषक मुमाराम खनालको तर्क छ । प्रचण्ड मात्र नभई दोस्रो स्तरका नेताले समेत परिवारवादलाई माओवादीभित्र प्राथमिकतामा राखेको खनालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट