विमानस्थलमा कर्मचारीको अभ्रदता, रमिता हेर्दै सरकार-Sutra News

विमानस्थलमा कर्मचारीको अभ्रदता, रमिता हेर्दै सरकार

सोमबार, २५ भाद्र २०८०

सोमबार, २५ भाद्र २०८०

काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धानको नाममा प्रहरीले आफूहरूलाई अनावश्यक दुःख दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरूले भन्सार जाँचपास ठप्प पारेका छन् । कर्मचारीहरुले आफूहरुमाथि थालिएको अनुसन्धान रोक्न माग गर्दै चरणबद्ध विरोधका कार्यक्रम पनि घोषणा गरेका छन् ।



कर्मचारीहरु विरोधमा उत्रिँदा देशकै प्रमुख अन्तर्राष्ट्रिय भन्सारको कामकाज रोकिएको छ । जसको कारण एकातिर सेवाग्राही मारमा परेका छन् भने अर्कोतिर राजस्व संकलनमा असर परेको छ । तर, सरकार र सम्बन्धित मन्त्रालय भने रमिते बनेको छ ।

देशको आर्थिक संकटको न्यूनीकरण गर्ने प्रतिबद्धतासहित अर्थमन्त्रायको बागडोर सम्हालेका अर्थमन्त्री डा. प्रकाशरण महतले यो विषयमा सामान्य चासो समेत देखाएका छैनन् ।

कर्मचारीले भने सरकारलाई झुकाउने गरी विरोधका कार्यक्रमलाई आक्रामक बनाउने तयारी गरेका छन् । “हामीले हिजै आन्दोलनका कार्यक्रम घोषणा गरेका हौं, हिजो पेन डाउन गर्‍यौं, आजबाट सेवा ठप्प पारेका छौँ, औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन, भोलि पनि सेवा अवरुद्ध नै हुन्छ, हाम्रा माग पुरा नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ”, विमानस्थलका एक अधिकृतले भने ।

६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हालसम्म ६ जना भन्सार कर्मचारीहरूलाई पक्राउ गरिसकेको छ भने केही कर्मचारीलाई अनुसन्धानको घेरामा तानेको छ ।

प्रहरीले अनुसन्धान सुरु गर्दा कर्मचारीहरुले भन्सारबाट सामूहिक राजीनामा समेत मागिरहेका छन् । तर, सरकारले सामूहिक राजीनामालाई स्वीकार नगरेपछि काममा अवरोध गर्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

आइतबार घोषणा गरिएको आन्दोलनका कार्यक्रममा अन्तर्गत आइतबार तीन घण्टा पेन डाउन गरिएको थियो भने सोमबारदेखि कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्मबन्धी सम्पूर्ण कार्य पूर्णरूपमा बन्द गरिएको छ । आगामी बुधबारसम्म सुन तस्करीको अनुसन्धान रोक्ने माग पूरा नभएमा विमानस्थल भन्सार कार्यलयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यसमेत रोक्ने चेतावनी कर्मचारीहरुले दिएका छन्।

नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन तस्करी गरिएको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी आन्दोलन थाल्दासमेत दिनमा सयौं पटक सुशासनको गफ दिने सरकार भने यो प्रकरणमा मौन छ । विमानस्थल भन्सार कर्मचारीका मागको सम्बन्धमा सामान्य टिप्पणी समेत गर्न आवश्यक ठानेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट