अपार्टमेन्टमा बसेर प्रेमी-प्रेमिकानै चोरीमा संलग्न-Sutra News

अपार्टमेन्टमा बसेर प्रेमी-प्रेमिकानै चोरीमा संलग्न

आइतबार, १० असार २०८०

आइतबार, १० असार २०८०

जिल्ला प्रशासन कार्यालय, ललितपुर नजिकै हरेको ग्लोबल लिंग टेक्नोलोजीमा गत जेठ २८ गते झ्यालको ग्रील तोडफोड गरेर नगद र ल्यापटप चोरी भयो।



काउन्टरभित्र रहेको एक लाख ८ हजार रुपैयाँ, प्रमुख कार्यकारी अधिकृतको कोठाको ३८ हजार नगदसहित डेल भोस्ट्रो सिरिजका ल्यापटपहरू चोरी भएपछि सञ्चालकहरूले जिल्ला प्रहरी परिसर, ललितपुरमा अनुसन्धानका लागि निवेदन दिए।

ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढायो।

झण्डै २ साताको अनुसन्धानपछि प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टबाट काठमाडौं-१ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं-१६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गर्यो।

थुप्रै चोकका सीसी टीभी फुटेजको विश्लेषण, मोटरसाइकल र ट्याक्सीहरूमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनामा उनीहरूको कनेक्सन फेला पारेको हो ।

प्रहरीले शुक्रबार उनको अपार्टमेन्टमा छापा मार्दा चोरीका ८ वटा ल्यापटप बरामद गरे । आईफोनसहित विभिन्न ब्राण्डका मोबाइल भेटिए । सामान नै भेटिएपछि उनी नै चोरीमा संलग्न रहेको देखियो । प्रारम्भिक सोधपुछमा पनि उनले इन्कार गर्न सकेनन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहका अनुसार उनीहरू दुवैजना लिभिङ टुगेदर बस्ने गरेका थिए। महर्जनले श्रेष्ठसँग मिलेर चोरी गर्ने गरेको शाहले बताए। सुवोध श्रेष्ठ २०६१ सालमा चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको प्रहरी रेर्कडमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट