बाढी पहिरो अपडेट : ६ को मृत्यु, ६ घाइते २९ जना बेपत्ता-Sutra News

बाढी पहिरो अपडेट : ६ को मृत्यु, ६ घाइते २९ जना बेपत्ता

सोमबार, ४ असार २०८०

सोमबार, ४ असार २०८०

अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ ।



बाढी तथा पहिरोमा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन् ।

साथै बाढी एवं पहिरोमा परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए ।

बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट