पार्टी एकीकरण गर्ने की फेरी नयाँ पार्टी खोल्ने भन्ने अन्योलमा बाबुराम-Sutra News

पार्टी एकीकरण गर्ने की फेरी नयाँ पार्टी खोल्ने भन्ने अन्योलमा बाबुराम

मंगलबार, २८ असार २०७९

मंगलबार, २८ असार २०७९

काठमाडौं – पार्टीभित्रकै आन्तरिक विवादले सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भइसकेको छ । आफूहरुबीच कुरा नमिलेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सहमतीमा नै छुट्टिने निर्णय गरे । उपेन्द्र र बाबुरामबीच पार्टीको बैठक बोलाउनेदेखि पार्टीका निर्णयहरुमा मतभेद चल्दै आइरहेको थियो । केही समयअघि सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णयले त झन विवाद झनै चर्कियो ।



दुवैले सहमतीमा छुट्टिने निर्णय गरेको केही दिनमा नै सरकारमा रहेका मन्त्रीहरु पनि हेरफेर भए । पार्टीका हरेक निर्णय उपेन्द्रले गर्ने हुँदा बाबुरामले आफ्नो निर्णय अघि सार्न नै पाएनन् । यसै कारण असन्तुष्ट रहेका बाबुराम अहिले पार्टी विभाजनपछि दोधारमा छन् ।

नयाँ पार्टी खोल्नेकी अरु पार्टीसँग एकिकरण गर्ने भन्ने तनावमा उनी छन् । स्थानीय तहको चुनावअघि भट्टराईको पक्षमा रहेका प्रतिनिधिसभा सदस्य तथा कार्यकारिणी सदस्य इस्तियाक राइ, केन्द्रीय सदस्य प्रदीप यादव, मृगेन्द्र कुमार सिंह यादव लगायत नेताहरु चुनावपछि यादवको पक्षमा लागेका छन् ।

बहुमतसहित पार्टीबाट अलग हुने सोच राखेका भट्टराई अलमलकासाथ तात्तातो निर्णय गरेका थिए । माओवादी पार्टीसँगै कम्युनिस्ट विचार त्यागेर नयाँ पार्टीमा जोडिदै गएका भट्टराई फेरि अर्को पार्टीमा जोडिने अनुमान पनि गरिएको छ । पार्टी विभाजन भएपछि उनको अब दुई वटा मात्र रोजाई हुन्छ । नयाँ पार्टी गठन गर्ने वा अरु नै पार्टीसँग एकिकरण गर्ने ।

उनी जसपाबाट छुट्टिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) नेपालसँग एकिकरण गर्ने अनुमान पनि लगाइएको छ । स्रोतका अनुसार बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । उनले मंगलबार र बुधबार आफ्नो समूहको केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

काठमाडौंको जडीबुटीमा बस्ने बैठकबाट भट्टराईले नयाँ पार्टीको घोषणा गर्ने बताइएको छ । बैठकमा बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने पनि बताएका छन् । यता, उपेन्द्र समूहले पनि आफ्नो छुट्टै बैठक बोलाएको छ । उपेन्द्रको बैठक भने बुधबार र बिहीबार छ । बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले भने विज्ञप्ति जारी गर्दै अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गरेको छ ।

‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको छ । तर, त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’ – विज्ञप्तिमा भनिएको छ ।

कसरी जसपामा जोडिएका थिए बाबुराम
बाबुरामले माओवादी त्यागेपछि २०७३ साल जेठ ३० गते काठमाडौँको दशरथ रंगाशालामा एक कार्यक्रमको आयोजना गरेर ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेका थिए ।

२०७४ सालको स्थानीय तहको चुनावमा राम्रो नतिजा ल्याउन नसकेपछि उनले तत्कालीन संघीय समाजवादी फोरमसँग मिलेर २०७६ साल वैशाख २३ गते समाजवादी पार्टी निर्माण गरे । जसको नेतृत्व उनले यादवलाई छोडिदिए । त्यसको एक वर्षमै वैशाख १० गते नै सबै मधेस केन्द्रित दल एक ठाउँमा हुनुपर्ने भन्दै जसपा बन्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट