‘पैसा कमाउन आएको होइन, फिल्म मेरो सपना हो’ : निकेश खड्का-Sutra News

‘पैसा कमाउन आएको होइन, फिल्म मेरो सपना हो’ : निकेश खड्का

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

कोरोना महामारीको प्रभाव सबैभन्दा बढि परेको क्षेत्र मनोरञ्जन उधोग हो । विश्व नै महामारीको चपेटामा गुज्रिरहँदा नेपाल अछुतो रहने कुरा भएन । नेपाली फिल्म उधोग नराम्रोसँग प्रभावित बन्यो । दोस्रो लहरको अन्त्यसँगै गत असोजबाट फाट्टफुट्ट फिल्म प्रदर्शनको क्रम सुरु भयो तर ठुला भनिएका फिल्म हलमा ल्याउन मेकरहरुले आँटेनन् । यो बीचमा केहि हप्ता पहिले ‘कठपुतली’ नामक फिल्म प्रदर्शनमा आएपछि हलमा देखिएको दर्शकको उपस्थितिले मेकरहरुलाई उत्साहित बनायो । फिल्म चलिरहँदा ओमिक्रोनको अर्को प्रभाव सुरु भइसकेको थियो, तर पछिल्ला केहि हप्ता विदेशीदेखि स्वदेशी फिल्म हेर्ने दर्शकले हल भरिभराउ नै रहे ।



तेस्रो लहरको रुपमा पुनः कोरोनाको प्रभाव बढेर सरकारले ‘स्मार्ट लकडाउन’ जारी गरिसक्दा घोषणा गरिसकेका धेरै फिल्मको रिलिज स्थगित भइसकेको छ । तर यहि हप्ताबाट ‘चपली हाइट ३’ फिल्म भने जोखिमका बीच प्रदर्शनको तयारीमा छ ।

फिल्म प्रदर्शनको अन्तिम हावरमा आइपुग्दा यो फिल्मको निर्माण टिम जोडतोडले प्रचारमा दौडिरहेको छ । फिल्म हल बन्द भएको छैन, सुरक्षाका मापदण्ड पालना गरौं फिल्म हेरौं भन्दै दर्शकलाई रिझाउन निर्माता निर्देशक निरन्तर दौडधुपमा छन् । यो बीचमा हामीसँग भेटिए फिल्मका निर्देशक निकेश खड्का ।

त्यसो त नेपाली मनोरञ्जन दुनियाँसँग निकट जो कोहिको लागी निकेश खड्का परिचित नाम हो । टेलिभिजन हुँदै म्युजिक भिडियो निर्देशनमा होमिएका निकेशको परिचयमा पछिल्लो केहि बर्षयता फिल्म निर्देशक पनि थपिएको छ । भिडियो निर्देशनमा स्थापित भइसकेका निकेश फिल्मको ‘एक्सन कट’मा पनि आफुलाई अग्र पङ्ग्तिमा उभ्याउन संघर्षरत छन् ।

नेपाली म्युजिक भिडियो निर्देशकको पङ्ग्तिमा अग्र भागमा आउने निकेशलाई फिल्म निर्देशनमा पनि सोहि स्थान ओगट्ने चुनौती छ । ‘जीन्दगी रक्स’ फिल्मबाट फिल्म मेकिङमा होमिएका उनले ‘फाटेको जुत्ता’ हुँदै ‘चपली हाइट ३’ सम्म आइपुग्दा काममा निखारता त खोजेका छन् नै फरक पृष्ठभुमि र फरक जनरामा काम गर्न पाएको भन्दै आफुलाई भाग्यमानी पनि उत्तिकै सम्झिन्छन् ।

दशक पहिले भिडियो निर्देशनको सुरुवाती दिनमा ठुलै फिल्मको डिरेक्टर बन्छु भन्ने सोच थिएन, काम गर्दै जाँदाको बुझाई, अनुभव र अध्ययनले यहाँसम्म ल्यायो, निकेश सम्झिन्छन् । भिडियोमा रमिरहँदा लाइफ विन्दास लाग्थ्यो, हरेकजसो यात्रामा नयाँ प्रयोग गर्दै यहाँसम्म आइपुगेँ, उनि भन्छन्, ‘फिल्ममा छिरेपछि पुनः करियर खोज्न सुरु गरेँ, निरन्तर छु, आजको दिनमा आइपुग्दा एउटा राम्रो फिल्म निर्देशकको कौशलता प्रदान गर्न तयार छु ।’

पहिलो फिल्म ‘जीन्दगी रक्स’ मा फरक प्रयोगको सुरुवात गरेकै हुँ, लभस्टोरी हुँदै डार्क कमेडी जनराको फिल्मबाट आज क्राइम थ्रिलरसँग आइपुग्दा फरक फरक जनरामा पनि एक निर्देशकले आफुलाई उभ्याउन सक्छ, जुन चाहिँ तीन वटै फिल्मबाट देख्न सक्नुहुन्छ, उनि सुनाउँछन् । पहिलो फिल्म निर्देशनको क्रममा परिपक्क नभएको हो कि भन्ने आलोचनालाई स्विकार गर्ने निकेश सोहि फिल्मबाट पाठ सिकेरै यो स्थानमा आएको बताउँछन् ।

फिल्म प्रदर्शन नजिक हुँदा निकेशमा देखिएको एउटा कन्फिडेन्स कोरोनाको महामारी चलिरहँदा ओटिटी प्लेटफर्ममा दर्शकको उपस्थिति पनि हो । कोरोनाकाल ‘स्टिल’ रहिरहँदा सर्वाधिक हेरिएको जनरा ‘क्राइम’ भन्दै उनि नेपाली दर्शकमा पनि यसको प्रभाव परिसकेको बताउँछन् । जुन विधा पछिल्लो समय संसारमै सर्वाधिक बढि हेरिएको छ त्यसैको वरिपरी नै ‘चपली हाइट ३’ रहेको भन्दै नेपाली दर्शकमा पनि आफ्नो फिल्मप्रति आकर्षण पाएको उनले सुनाए ।

अन्य फिल्म प्रदर्शनको दौरान हलमा जब ‘चपली हाइट ३’को ट्रेलर टिजर बज्यो, दर्शकमा एक किसिमको प्रतिक्षा र कौतुहलता भेटेको छु त्यसको प्रभाव फिल्म आइसकेपछि पक्का देखिन्छ, निकेश भन्छन्, सामाजिक सञ्जालमा हाम्रो कन्टेन्टमा प्राप्त भ्युज अपेक्षा गरे अनुसार पक्का छैन तर सफलता र संभावना म त्यसमा जोख्दिँन ।

‘छिटो रिजल्ट खोज्नेहरु यो फिल्डमा टिक्न सक्दैनन्, धैर्यता चाहिन्छ, मैले तेस्रो फिल्म निर्देशन गरेँ अझै करियर खोज्दैछु, समय पक्का लाग्छ तर मेहनत र संघर्ष निरन्तर चाहिन्छ ।

नेपालमा पछिल्लो समय म्युजिक भिडियोको सफलताको मापन युट्युवमा आएको भ्युजलाई लिएर गर्ने चलन बढेको छ । स्थापित म्युजिक भिडियो निर्देशक निकेश भने भिडियोको सफलता पनि भ्युजमा मात्रै नजोडिने बताउँछन् । ‘भिडियोको मेकिङ, प्रस्तुति, कलाकारहरुको अभिनय गीतले बोलेको भाव अनुकुल छ या छैनले त्यसभित्रको सफलता र असफलता छुट्याउँछ, उनि भन्छन्, एक निर्देशकले सन्तुष्टि पाउनु निर्माता रिझाउनु मात्र होइन्, आफ्नो काममा आउने सकारात्मक प्रतिक्रिया र मुल्याङ्कन नै सफलता जजमेन्ट गर्ने आधार हो ।

‘फिल्मले बोल्ने जनरा कुन हो भन्ने सेट हुन्छ, कमर्सियल रुपमा सफल रहेर समिक्षा राम्रो नआउँदा र समिक्षा राम्रो आएर कमजोर व्यापार हुँदा पनि मैले मेरो असफलता सम्झिन्छु, चपली हाइट भित्र सफलता कता खोज्नुहुन्छ भन्ने प्रश्नमा निकेश गुञ्जिए । विगतका फिल्म निर्देशनपछिको अनुभवमा टेकेर यहाँसम्म आइपुगेकोले यो पटक कमर्सियल रुपमा अनि समिक्षागत रुपमा दुबैतर्फ आफु अब्बल रहने विश्वास उनमा छ । मैले आफ्नो काममा ‘कन्फिडेन्स’ राखेको हुँ, निर्माता र दर्शकको विश्वासमा तुषारापात आउन पक्कै दिनेछैन, निकेश सुनाउँछन्, ‘पछिल्लो फिल्म ‘फाटेको जुत्ता’ले निर्माताको लगानी सुरक्षित गर्यो समिक्षा राम्रो पाएन, यो पटक सबै राम्रो हुनेछ ।’

फिल्म रिलिजको तीन दिन पहिले मात्रै हामीसँग भेटिएका निकेश केहि हतारमा देखिन्थे, उनको साथमा निर्माता मात्रै थिए, मुख्य अभिनयमा रहेका कोहि पनि कलाकार उनको साथमा थिएनन् । निर्देशक र निर्माताको एक्लो दौडधुपले दर्शक तान्न सक्नुहुन्छ त कलाकार कोहि देखिएनन् नि ? प्रश्न नसकिँदै निकेश सुनिए, ‘कलाकारहरुले आफ्नो आफ्नो ठाउँमा प्रचार गर्नुभएकै छ, रिलिज फेरबदल गर्दा सबै ठाउँमा सबैजना उभिने परिस्थिति नबनेको स्वभाविक हो, तर एक्लो अनुभुति गरेको छैन ।’ पटक पटक रिलिज फेरबदल हुँदा दर्शकमा कन्फ्युजन छ कि भन्ने डर भने निकेशमा छ । सुरुमा त यो फिल्म यो मितिमा लाग्दैछ भन्ने कुरा दर्शकसम्म पुर्याउन मै हामी व्यस्त छौं, उनले भने इनिसियल फेजमा हल पुग्ने दर्शकको प्रतिक्रिया ले त्यसपछिको दिनमा हल भरिनेछ, प्रदर्शनमा आएपछिको ‘वर्ड अफ माउफ’लाई लिएर मसँग कन्फिडेन्स छ, सम्पुर्ण टिमभित्र कन्फिडेन्स छ ।

नाम चलेको कलाकार लिएर मात्रै दर्शक हलमा आउँछन् भन्ने फिल्म मेकरहरुको बुझाईलाई पुर्ण स्विकार नगर्ने निकेश इनिसियल विजनेशमा भने चलेको नामले प्रभाव पार्ने बताउँछन् । ‘सुरुवाती विजनेशमा को कलाकार छ भन्नेले पक्का पनि अर्थ राख्छ, तर दुई तीन दिनपछि दर्शक तान्न त फिल्मले दिने कन्टेन्ट नै बलियो हुनुपर्छ ।’

महत्वकांक्षी छु स्वभाविक हो तर पैसा कमाउन मात्रै फिल्म क्षेत्रमा जोडिएको होइन, फिल्म मेरो सपना हो, एउटा सफल र स्थापित मेकर बन्ने हुटहुटीले नै यात्रालाई अघि बढाएको हुँ, उनले सुनाए । त्यसो त निकेश नाम नेपाली फिल्म निर्देशकहरुको पङ्ग्तिमा युवा नाम हो । आफ्नो अनुभव र निर्देशकिय यात्रालाई जोड्नै यो क्षेत्रमा भविष्य खोज्नेहरुलाई उनि सुझाउँछन्, ‘छिटो रिजल्ट खोज्नेहरु यो फिल्डमा टिक्न सक्दैनन्, धैर्यता चाहिन्छ, मैले तेस्रो फिल्म निर्देशन गरेँ अझै करियर खोज्दैछु, समय पक्का लाग्छ तर मेहनत र संघर्ष निरन्तर चाहिन्छ । काम गर्दै जाँदा एउटा समय पक्का आउँछ, जहाँ तपाइँ र तपाइँको काम ‘नोटिस’ हुन्छ अनि केहि हदमा सुरक्षित महसुस गर्ने ठाउँ भेटिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट