नोबेल मेडिकल कलेजमा विद्यार्थीविरुद्ध व्यवसायीहरुको प्रदर्शन-Sutra News

नोबेल मेडिकल कलेजमा विद्यार्थीविरुद्ध व्यवसायीहरुको प्रदर्शन

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी विरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।



एमबिबिएस अध्ययनरत विद्यार्थीहरु कलेज प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् भने उनिहरुको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

आइतबार बिहान विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला व्यवसायीहरूले ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटल भित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरे ।

मेडिकल कलेजमा तालाबन्दी हुँदा व्यवसायीलाई समस्या भएको बताउँदै उनीहरुले आन्दोलन राज्यका निकाय केन्द्रित बनाउन आग्रह गरेका छन् । ‘नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन ठिक ठाउँमा गएर गर्नुहोस्, सिडिओ कार्यालयमा गर्नुहोस् मन्त्रालयमा गर्नुहोस्, जहाँ गरेपनि भयो,’ प्रदर्शनमा उत्रिएका एक व्यवसायीले भने, ‘कोलाहल माहोल बनाएर त्रासको वातावरण सृजना गर्दा असर गरिरहेको छ ।’

विद्यार्थी संगठनहरुले भने नोबेल प्रशासन विरुद्धको आन्दोलन नोबेलमै हुने बताएका छन् । आफ्नो आन्दोलन नोबेल प्रशासनसँग भएको बताउँदै विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले विद्यार्थीको आन्दोलन विथोल्न मान्छेहरु खटाएको आरोप लगाए । अनेरास्ववियूका नेता नविन पहाडीले विद्यार्थीको जायज माग सम्बोधनका लागि अस्पताल केन्द्रित आन्दोलन गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट