राउटे समुदायको अस्तित्व सङ्कटमा, चिन्ता व्यक्त-Sutra News

राउटे समुदायको अस्तित्व सङ्कटमा, चिन्ता व्यक्त

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्।



गत एक वर्षको अविधमा छ जना बालबालिकासहित १७ जना राउटेको अकाल मृत्यु भएको उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र (सोसेक) ले जनाएको छ।

अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको सोसेकमा कार्यरत लालबहादुर खत्री बताउँछन्।

विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका नौमध्ये छजना शिशुको छ महिनाको उमेरभित्रै मृत्यु भएको तथ्याङ्क छ।

लोप हुने खतरा

भर्खरै जन्मिएको शिशुलाई समेत दिनभरि बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको खत्री बताउँछन्।

राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष रूपमा नजिकबाट नियाल्दै आएका उनी भन्छन्, “मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरा छ।”

यो अवधिमा अत्यधिक मदिरा पिएर, भिरबाट लडेर तथा दीर्घ रोगका कारण अरू ११ जना राउटेले पनि ज्यान गुमाएका छन्।

राउटे अगुवा चिन्तित

राउटे समुदायका अगुवाहरू पनि अत्यधिक मदिरा पिउने बानीका कारण आफ्नो समुदाय नासिने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन्।

अरू समुदायसँग घुलमिल बढेसँगै उनीहरूले खाएको देखेर आफ्ना जनताले पनि मदिरा पिउन सिकेको राउटे मुखियाहरू दाबी गर्छन्।

बजारमा पाइने विभिन्न खाले रक्सीका साथै लोकल रक्सी चार–पाँच वर्षदेखि अत्यधिक रूपमा खान थालेको र जति प्रयास गर्दा पनि आफ्ना जनतालाई मदिरा पिउनबाट रोक्न नसकेको राउटेका एक पूर्वमुखिया महिनबहादुर शाही गुनासो गर्छन्।

दिक्दारी मान्दै उनले भने, “जति भने पनि नमानेपछि कसो गर्ने हो? नखाऊ भन्दा खान्नँ भन्छन्, तर गाउँशहरबाट बेलुका टिल्ल भएर आउँछन्।”

राउटे मुखिया सूर्यनारायण शाही पनि आफ्नो समुदायका मानिसहरूले अत्यधिक मदिरा सेवन गर्न थालेको भन्दै चिन्ता प्रकट गर्छन्।

‘पैसाको अभाव हुँदैन’

सङ्घीय सरकारले राउटे समुदायका प्रतिव्यक्तिलाई मासिक तीन हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारले मासिक दुई हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता दिन्छन्।

प्रत्येक राउटे परिवारले चार महिनामा न्यूनतम २० हजारदेखि दुई लाख रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको तथ्याङ्क छ।

सरकारले दिने भत्ताका साथै विभिन्न सङ्घसंस्था, व्यक्तिले गर्ने सहयोग र आफैँले पनि कमाउने हुँदा उनीहरूसँग पैसाको खासै अभाव नहुने गरेको जानकारहरू बताउँछन्।

सरकारी र गैरसरकारी संस्थाले दिने चामल, दाल, तेल, लत्ताकपडाका साथै आफूहरूले प्रयोग नगर्ने खालका सामान गाउँलेलाई सस्तोमा बेचेर पनि राउटेहरूले मदिरा खाने गरेको खत्री बताउँछन्।

पछिल्लो समय आमाको दूध खान छोडेका बालबालिकादेखि महिला र वृद्धवृद्धाले अत्यधिक मदिरा पिउने गरेको राउटे समुदायको भलाइका लागि काम गरिरहेकाहरू बताउँछन्।

हातमा पैसा पर्नासाथ मदिरा पिइहाल्ने बानी परेका राउटेहरूलाई त्यस्तो कुलतबाट समयमै मुक्त गर्न नसके यो समुदायको अस्तित्व नै नरहने खतरा उनीहरू औँल्याउछन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट