विधान महाधिवेशन : दशौँ  महाधिवेशनपछि पनि ओली नै अध्यक्ष रहने गरी सर्वसम्मति खोज्ने प्रयास-Sutra News

विधान महाधिवेशन : दशौँ  महाधिवेशनपछि पनि ओली नै अध्यक्ष रहने गरी सर्वसम्मति खोज्ने प्रयास

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले अबको अध्यक्ष पनि केपी शर्मा ओली नै बनाउने गरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन् ।



शुक्रवारदेखि ललितपुरको गोदावरीमा शुरू भएको विधान महाधिवेशनमा प्रस्तुत गरिएको संशोधित विधानमाथि भएको छलफलमा आगामी महाधिवेशनबाट हुने नेतृत्व चयन पनि सर्वसम्मत हुनुपर्ने धारणा बहुमत प्रतिनिधिहरूबाट आएको हो ।

नेतृत्व सर्वसम्मत चयन गर्न बरू पदाधिकारीको संख्या बढाउनुपर्ने धारणा उनीहरूले राखेका छन् । मङ्सिर १० देखि १२ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा अध्यक्षका रूपमा ओलीले पुनः आफ्नो आकांक्षा देखाएका छन् ।

गत मंगलवार राष्ट्रिय मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले आफूले दोहोर्याएर कक्षा नपढ्ने भएपनि अध्यक्षभन्दा माथि अर्को कक्षा नभएकाले आफू अध्यक्षको आकांक्षी भएको बताएका थिए ।

एमालेको विधान संशोधन गर्ने क्रममा ७० वर्षे उमेरहद कायम गर्नुपर्ने, अध्यक्षसहित १३ बाट बढाएर २१ पदाधिकारीको व्यवस्था गर्नुपर्ने, पार्टी विभाजनको असर कम गर्दै लैजानुपर्ने र अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिनुपर्ने माग उठेको छ ।

शनिवार ६ समूह बनाइ छलफल गरिएको थियो । ५ समूहले हिजै आफ्नो राय सुझाव दिएका छन् भने आइतवार एउटा समूहले आफ्नो सुझाव दिँदैछ । समूहले दिएको सुझाव र सोधेको प्रश्नको जवाफ आज अध्यक्ष ओलीले दिने कार्यक्रम रहेको छ । त्यसपछि विधान महाधिवेशन सम्पन्न हुनेछ ।

विधान महाधिवेशनका लागि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले संशोधित विधान प्रस्तुत गरेका थिए ।

देशै भरिबाट आएका करीब ६ हजार प्रतिनिधिहरूको ६ समूह बनाएर छलफल गरिएको थियो ।

ओलीनिकट एक प्रतिनिधिले भने – ‘आगामी महाधिवेशनपछि पनि पार्टी र देशलाई अध्यक्ष ओलीकै खाँचो छ । त्यसैले हामीले विधान महाधिवेशनमार्फत नै सर्वसम्मति जुटाएर दशौँ महाधिवेशनको नेतृत्व छनौट गर्न सुझाव दिएका छौं ।’

प्रतिनिधिका रूपमा पूर्व माओवादीका नेता कार्यकर्ता गरी ५ सय ३२ र एमालेका तत्कालीन नेता माधवकुमार नेपालको पक्षमा रहेका २ हजार भन्दा बढी सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट