भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी-Sutra News

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।



यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी एक दिनमा ४२ हजार ९४२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना सुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख २४ हजार ९३७ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ ।

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुँदै आएको छ । त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि बृद्धि भएको छ ।

मङ्गलबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९२ हजार ८६४ जना छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट