माधव नेपालको रणनीति : पाण्डे बागमतीको मुख्यमन्त्री, तुलाधर या पौडेल महासचिव-Sutra News

माधव नेपालको रणनीति : पाण्डे बागमतीको मुख्यमन्त्री, तुलाधर या पौडेल महासचिव

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेको विभाजन बागमती प्रदेश संसदीय दलमासमेत परेको छ । दुई साता अघि सर्वसम्मत रुपमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेश सभामा एमालेको ५६ सांसद रहेसँगै एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य मंगलबार अल्पमतमा परेकी हुन् ।



एमालेबाट विभाजन भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) मा १२ जना सांसदले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । ५६ सांसदमध्ये १२ जनाले समाजवादीको पक्षमा सनाखत गरेपछि अब एमाले संसदीय दल ४४ सदस्यीय भएको छ । योसँगै बागमती प्रदेशमा एमालेले बहुमत गुमाएको छ । बहुमतका लागि ५५ सांसद चाहिनेमा एमालेसँग ४४ सांसद रहे । 

यता १२ जना सांसद रहेको माधव नेपाल नेतृत्वको समाजवादीबाट मुख्यमन्त्रीका उम्मेदवारलाई २२ सांसद रहेको कांग्रेस र २३ सांसद रहेका माओवादीले समर्थन रहने छ । 

समाजवादीको १२, कांग्रेसको २२ र माओवादीको २३  गरी ५७ सांसद हुनेछन् । जुन सरकार बनाउन आवश्यक पर्ने ५५ सांसदभन्दा दुई सांसद बढी हुन आउँछन् । यस कारण शाक्यलाई हटाएर बागमतीको मुख्यमन्त्रीमा समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन तयारी थालिएको छ । मंगलबार एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरिएसँगै पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ । 

मंगलबार सत्तारुढ एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरेपछि अबको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहन्छ । 

शाक्यलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने समाजवादीको रणनीति छ । पार्टी र सरकारमा एकै व्यक्तिलाई जिम्मेवारी नदिने माधव नेपालको रणनीतिअनुसार पार्टी महासचिवका दाबेदार पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन लागिएको हो । पाण्डे मुख्यमन्त्री बनेमा समाजवादीको महासचिव गंगालाल तुलाधर र डा.विजय पौडेल मध्ये एक बन्ने छन् । 

कांग्रेस र माओवादीको समर्थनमा बागमती प्रदेशको सरकार परिवर्तन गर्न तयारी गरेका माधव नेपालले सरकारमा समेटेकालाई पार्टी जिम्मेवारी नदिने र पार्टीको जिम्मेवारी लिएकालाई सरकारमा नपठाउने रणनीति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट