ओलीको आत्मघाती गोल : आफू आउट, गुरुङपछि पोखरेलको पालो-Sutra News

ओलीको आत्मघाती गोल : आफू आउट, गुरुङपछि पोखरेलको पालो

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हठ र दम्भका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद गुमाए । पहिलोपटक प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।



स्वेच्छाचारी ढंगले पार्टी चलाउन खोज्दा नेकपाकै एकता खण्डित भएपछि केन्द्रमा करीब दुईतिहाइको सरकारको नेतृत्वबाट ओलीले हात धुनुपर्यो । आफ्नै कारण बालुवाटारबाट बालकोट पुगेका ओलीले आफूलाई मात्र घात गरेनन्, पृथ्वीसुब्बा गुरुङ पनि निवर्तमान मुख्यमन्त्री हुनुपर्यो ।

विपक्षी गठबन्धनले गुरुङलाई मुख्यमन्त्रीबाट हटाएर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाएको हो । अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विपक्षी गठबन्धनको निशानामा छन् ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गते प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।

सामाजिक सञ्जालमा निकै आलोचित बनेका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले बहुमत जुटाएर अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसामू अविश्वासको प्रस्तावसँगै संसदको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरिएको थियो । शेरचनले सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम साउन २७ गते प्रदेशसभा आह्वान गरेका हुन् ।

८० सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा एमाले एक्लैको सांसद संख्या जम्मा ३८ रहेको छ । त्यस्तै माओवादी केन्द्रका १९, कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।

लुम्बिनीमा सरकार बनाउन ४१ सांसद चाहिन्छ । अहिले विपक्षी गठबन्धन एक भएको अवस्थामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोझै पारित हुने देखिन्छ ।

उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सांसद बिमला वलीलाई आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री पोखरेलले निकै कसरत गरेका थिए । उनीमाथि सांसद वलीलाई अपहरण र बन्धक बनाएको आरोप लागेको छ ।

उनले बिहीवार पत्रकार सम्मेलन गरेर आफू माओवादी केन्द्रमै रहेको सार्वजनिक गरिसकेकी छन् ।

यससँगै माओवादी केन्द्रका सांसद कूलप्रसाद केसीको मुख्यमन्त्री बन्ने बाटो सहज भएको छ । गण्डकीमा विपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्णचन्द्र नेपाली पोखरेललाई बनाएको थियो ।

गण्डकीपछि लुम्बिनीबाट एमालेको सरकार खोस्ने योजना शुरू भएको थियो । अब मुख्यमन्त्री पोखरेलको दिनगन्ती शुरू भएको लुम्बिनीका एक सांसदले बताए ।

पोखरेल आफूविरुद्ध दर्ता भएको प्रस्तावका बारेमा पार्टी अध्यक्ष ओली र कानूनविदसँग छलफल गर्ने प्रयोजनका निम्ति काठमाडौँ आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट