माधव रणनीति – एमालेलाई ‘ओलीमुक्त’ बनाउन नसके विद्रोह !-Sutra News

माधव रणनीति – एमालेलाई ‘ओलीमुक्त’ बनाउन नसके विद्रोह !

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले माफी माग्नुपर्ने अडान लिएको छ । आज बुद्धनगरस्थित एक बैंकटमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ओलीले एक हप्ताभित्र माफी मागेर पार्टी एकताका लागि आह्वान नगरेसम्म एकतामा नजाने कुरा उठेको थियो ।



बैठक सकिएपछि सांसद मेटमणि चौधरीले भने – ‘पार्टीमा पुर्याएको क्षति, प्रतिनिधि सभा विघटनलगायतका गल्तीहरूमा ओलीले माफी माग्न एक हप्ताको समय दिने तयारी गरेका छौं ।’

बैठकमा नेपाल समूहबाट प्रतिनिधित्व गर्ने कार्यदलका ५ सदस्यहरूलाई एक दुई दिनमै पार्टी एकताको काम सक्न निर्देशनसमेत दिइएको छ । भीम रावल नेतृत्वको कार्यदलमा नेपाल समूहका तर्फबाट ५ सदस्यहरू सामेल थिए । १० बुँदे सहमतिसँगै कार्यदल विघटन भएको थियो ।

आज बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीलाई अध्यक्ष मानेर पार्टी एकता नहुनेमा जोड दिएका थिए । तत्काल पार्टी विभाजन पनि नगर्ने र गठबन्धन सरकारमा पनि सामेल नहुने नीति लिएको नेपाल समूहमा ओलीलाई जसरी पनि एमालेबाट हटाउनुपर्ने कुरा उठ्न थालेको छ ।

‘एमाले ओलीमुक्त भएपछि मात्र पार्टी एकता हुन सक्छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सूत्रन्यूजसँग भने, ‘अन्यथा ओलीको दमन सहेर बस्ने कुरा पनि रहेन । एमाले बनाएको हामीले हो, अहिले ओलीको कब्जामा मात्र गएको हो । केही दिनमा बोल्ड डिसिजन लिने गरी हामी अघि बढेका छौं ।’

आजको बैठकमा कार्यदलको नेतृत्व गरेका रावलविरुद्ध केही केन्द्रीय सदस्यहरूले आक्रोश पोखेका थिए । पछिल्लो समय रावल ओलीतिर लहसिन थालेको चर्चा चलिरहेको छ ।

रावलले दशबुँदेकै आसपासमा गएर सहमति खोज्नुपर्ने बताएका छन् । बिहीवार उनले कार्यदलले कसरी काम गरेर दश बुँदे सहमति गरेको थियो भन्नेबारे विस्तृतमा चर्चा गरेका थिए । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट