पाथीभरा क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, दुलर्भ वन्यजन्तु रेडपाण्डा संकटमा-Sutra News

पाथीभरा क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, दुलर्भ वन्यजन्तु रेडपाण्डा संकटमा

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको रेडपाण्डाको चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ ।



६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाले बताए ।

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जंगल र सिकैचा क्षेत्रको जंगलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जंगलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।

काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन ।

गत बिहीबारदेखि फुङलिङ नगरपालिका-११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट