डा. सुरेन्द्र केसी, राजनीतिक विश्लेषक कि काण्ड विश्लेषक ?-Sutra News

डा. सुरेन्द्र केसी, राजनीतिक विश्लेषक कि काण्ड विश्लेषक ?

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

विश्वमा प्रविधिको विकास भएसँगै विभिन्न अवसर, सूचना प्राप्त र विचार व्यक्त गर्न सहजता भयो । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालको विकास र व्यापकतासँगै आफ्नो विचार व्यक्त गर्ने राम्रो अवसरको रुपमा विश्वका मानिसले उपयोग गरे । यसबाट नेपाल पनि टाढा रहने कुरै भएन । नेपालीहरूले कुनै पनि विषयमा आफ्नो विचार तथा सूचना प्रदान गर्न फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेका छन् । तर, पछिल्ला वर्षमा युट्युबमा दिएका विषयलाई लिएर आममानिसले चिन्ता व्यक्त गर्न थालेका छन् । कुनै एक क्षेत्र वा विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरू सस्तो लोकप्रियताको लोभमा जुनसुकै विषयमा बोलिदिने र पारिवारिक विषयमाथि टिप्पणी गरिएका ‘कन्टेन्ट’ अपलोड गरिने संस्कारले समाजमा विकृत सृजना गराएको टिप्पणी हुन थालेको छ ।



युट्युबलाई सामाजिक सञ्जालको रुपमा लिइन्छ । युट्युब च्यानल जोसुकैले सजिलै सञ्चालन गर्न सक्छन् । तर, युट्युबमा अन्तर्वार्ता दिने व्यक्तिहरूले कुन विषयमा बोल्ने/नबोल्ने छुट्याउनु पर्नेमा सामाजका प्रतिष्ठित व्यक्तिहरू जुनसुकै विषयमा अध्ययनबिना विश्लेषण गरेको देखिन्छ । जसले समाजलाई नकारात्मक सन्देश प्रवाह गरेको भन्दै टिप्पणी भइरहेको छ ।

डा. सुरेन्द्र केसी समाज र राज्यले सम्मान र आदर गरेको व्यक्ति हुन् । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट अवकाश पाएका उनी राजनीतिक विश्लेषणमा दख्खल राख्ने व्यक्ति हुन् । अझ उनी कम्युनिष्ट विचारधाराको राम्रो विश्लेषण गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । कुनै बेला मूलधारका सञ्चारमाध्यममा उनलाई कोड गरिएर समाचार आउँथ्यो । अहिले त्यो अवस्था देखिँदैन । उनले आफूलाई ठूलो भनिएका मिडियाले स्थान नदिएको गुनासो पनि गर्ने गरेका छन् । तर, केही युट्युब च्यानलमा भने दैनिकजसो उनको अन्तर्वार्ता आउने गरेको छ । जसमा उनको विषयविज्ञता भन्दा फरक सामाजमा घटेका काण्डमा विश्लेषण गरेको सुनिन्छ । प्राध्यापकजस्तो व्यक्ति समाजका हरेक राम्रा/नराम्रा विषयमा जानकार रहन सक्छन् । तर, विश्लेषण गर्न भने त्यस विषयमा विज्ञता वा पूर्ण जानकार हुनुपर्ने हुन्छ । यसबारे डा. केसी सचेत देखिँदैनन् ।

बजारमा डा. केसीकै अन्तर्वार्ता हालेर केही युट्युब च्यानलले आफ्नो जीविकोपार्जन गरेको र यसको केही हिस्सा डा. केसीले पाउने गरेको चर्चा सुनिन्छ । तर, यसलाई डा. केसी र ती युट्युब च्यानल चलाउनेहरू अस्वीकार गर्छन् । एकै व्यक्ति हरेक विषयमा एउटै युट्युब च्यानलमा विश्लेषणात्मक धारणा राख्दा दर्शकमा विश्वसनीयतामा ह्रास आउन सक्छ । यसबारे डा. केसी जानकार छन् ।

तर, राजनीतिक विषयवस्तुमा भन्दा बढी समाजमा हुने घटनामा उनका खरो विश्लेषण सुनिन्छ । अझ राजनीति तथा सरकारको कामकारबाहीलाई लिएर डा. केसीले गरेको विश्लेषणमा समस्याको उठान गरे पनि समाधानका लागि सुझाव दिन नसकेको टिप्पणी हुँदै आएको छ । बरु युट्युबमा उनले आफ्नो स्थानलाई बलियो बनाएका देखिन्छन् । एभरेष्टनेपाल, सुनौलोनेपाल, ओटिभीनेपाल लगायतका केही युट्युब च्यानलमा समाजमा दैनिकजसो हुने घटनामा डा. सुरेन्द्र केसीको विश्लेषणात्मक धारणा अपलोड गरेको देखिन्छ । जस वापत उनले ती युट्युब च्यानलबाट मासिक पैसा लिने गरेको सुनिन्छ । राज्यबाट प्राध्यापक भएवापत मासिक पेन्सन लिने गरेका डा. केसी केही हजारका लागि जस्तोसुकै विषयमा बोलिदिँदा समाजमा नकारात्मक सन्देश प्रवाह भएको उनीनिकट व्यक्तिहरू बताउने गर्छन् ।

केही समय अघिसम्म उनले धेरै युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिने गरेका थिए । तर, ती युट्युब च्यानलसँग पैसाको बार्गेनिङ हुन थालेपछि अहिले सम्बन्ध बिग्रेको छ । तर, सीमित युट्युब च्यानलमार्फत उनी आफूलाई सक्रिय बनाइरहेका छन् । पत्रकारिताको धर्म र पत्रकार आचारसंहिता विपरीत सोधिने प्रश्न वा विषयमा उनले निर्धक्क जवाफ दिने गरेका छन् । सामाजिक सञ्जालको रुपमा रहेको युट्युब चलाउने व्यक्ति विज्ञ नहुन सक्छ । तर, यसप्रति प्राध्यापक भइसकेका व्यक्ति डा. केसी सचेत नहुनु दुःखद् रहेको टिप्पणी हुँदै आएको छ ।

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफ्नो विचार राख्ने अधिकार हरेक नागरिकलाई दिएको छ । तर, आफ्नो विचारले सामाजमा प्रेरणा र सकारात्मक सन्देश प्रवाह गरेको छ–छैन भनि ध्यान दिनु हरेक सचेत नागरिकको कर्तव्य हो । सरकारको सत्तोसराप गरेर जनतामा निराशा पैदा गराउने गरी डा. केसीको विचार आउने गरेको छ । आफूले अन्तर्वार्ता दिएकै भरमा युट्युब चलाउनेहरू बाँचेको उनले सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । जसलाई उनी अन्तर्वार्ता दिन्छन्, उनैलाई डा. केसी ‘तिमी गरिबहरू’ भन्ने गरेका छन् । समाजका प्रतिष्ठित व्यक्ति डा. केसीले कसैलाई गरिब र धनी भनेर आफ्नो ओझ घटाउँदै आएका छन् । उनको अन्तर्वार्ताले कुनै गरिब युट्युबर (डा. केसीकै शब्दमा) बाँचेको छ भने शायद उनले ती युट्युबबाट पैसा लिएको छैन भन्न सकिँदैन । उनी खुलेरै पैसा माग्ने गरेका छन् । कसैको विचार निःशुल्क लिन पाउनुपर्छ भन्न खोजिएको होइन । उनको विचार र विश्लेषणले समाजलाई कस्तो खालको सन्देश दिन्छ भन्ने नै महत्वपूर्ण हो ।

डा. सुरेन्द्र केसी युट्युबमा छाउने विश्लेषकका एक प्रतिनिधि मात्रै हुन् । उनीजस्ता धेरै नै छन् । तर, डा. केसी आफैंमा विज्ञ र सचेत नागरिक भएर पनि जुनसुकै विषयमा विश्लेषण गरिदिने र सचेत तथा सावधानी गराउनेमा भन्दा नकारात्मकता बढी दिने गरेको आरोप लाग्दै आएको छ । डा. केसी जस्ता विज्ञ व्यक्तिले आफ्नो विज्ञता हासिल गरेको विषयमा विश्लेषण गर्ने हो भने सम्बन्धित क्षेत्रको विकृति अन्त्यका लागि ठूलो योगदान हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट