उच्च शिक्षापछिको खुड्किलो-Sutra News

उच्च शिक्षापछिको खुड्किलो

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

आज केही लेख्नभन्दा पहिला भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको एउटा भनाइ उद्धृत गर्न मन लाग्यो। उनी भन्छन्, ‘जीवनको लक्ष्य प्राप्तीमा कुरेर बस्नेहरुले पाउने भनेको मेहनतीले छाडेकोमात्र हो’। यो भनाइबाट पनि प्रष्ट छ कि मेहेनतको अर्को विकल्प छैन।



उच्च शिक्षा हासिल गरिसकेपछि आफ्नो शिक्षा र सीप बमोजिमको काम गर्न मन लाग्नु स्वाभाविक हो। तर,आफ्नो शिक्षाअनुसारको काम पाउनु धेरै कुरामा भर पर्छ। उच्चशिक्षामा हासिल गरेको नतिजामात्र जागिर पाउनका निम्ति प्रयाप्त नहुन सक्छ।

तपाईं रहनुभएको देशको अर्थतन्त्र, त्यस देशमा रहेको सीपको माग अनि त्यहाँको भाषा र संस्कृति आदि धेरै कुराहरु छन्, जसले शिक्षा बमोजिमको जागिर पाउनका निम्ति महत्वपूर्ण भूमिका खेल्छन्। चाहे नेपालमा होस् या विदेशमा आफ्नो शिक्षाअनुसार जागिर नपाएकै कारण धेरै जना मानिसहरु मानसिक तनावबाट ग्रुजिरहेको हामीहरूले देखेका छौं।

विशेषगरी जीवनको रंगीन सपनाहरु बोकेर लाखौं खर्च गरेर विश्वकै अब्बल विश्वविद्यालयबाट उच्चशिक्षापछि विश्वप्रख्यात कम्पनीहरुमा आफ्नो शिक्षा बमोजिमको जागिरको सपना देख्नु स्वभाविक पनि हो। तर,सधैं डिग्रीपश्चात सपना पूरा नहुन सक्छ।

आजकल नेपाली विद्यार्थीको पहिलो गन्तव्य अस्ट्रेलिया बनेको छ। अस्ट्रेलियामा नेपालबाट मात्र नभएर अरु देश जस्तै चीन, भारत, मलेसिया आदिबाट पनि प्रसस्तै विद्यार्थी आउने गर्छन्। आफ्नो विश्वविद्यालय पश्चात नेपालीमात्र नभएर अस्ट्रेलियाकै स्वदेशी नागरिक र अरु विभिन्न देशबाट आएका आप्रवासीहरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

त्यसैकारणले यति धेरै लगानी गरेर मेहेनतले अध्ययन गरेको भएपनी आफ्नो शिक्षा अनुसार काम गर्ने नेपालीको संख्या भने धेरै नै कम छ। कोहीले त आफ्नो इच्छा भएको क्षेत्रलाई माया मारेर अन्य विषयजस्तै नर्सिङ विषय पुनः अध्ययन सुरु गरेका घटना पनि प्रशस्तै भेटिन्छन्।

त्यत्ति ठूलो लगानी अनि बिरानो मुलुकमा आफ्नो सीप, शिक्षासँग मेल नखाने काम, त्यसमाथि नेपाली समाजमा हुने अष्ट्रेलियाका विद्यार्थीलाई गरिने ब्याङ्यले धेरै विद्यार्थी र स्थायी बसोबासको प्रमाणपत्र भएका नेपालीलाई समेत गरिराखेको छ। त्यस्को दुःखद परिणाम हामी पत्रपत्रिका, अनलाइनमा देखिरहेका छौं। यसै परिस्थितीलाई मैले आफ्नो अहिलेसम्मको विदेश बसाइको बुझाई, सिकाइलाई यहाँ प्रस्तुत गर्न खोज्दैछु।

मलाई धेरै मित्रहरुले मेरो ब्यवसायिक जीवनको अनुभव र सुझावको बारम्बार जिज्ञासा राख्नुहुन्छ, ती जिज्ञासाका लागि अहिले केही सुझाव समेट्न प्रयास गर्दैछु। हुन त मसँग धेरै वर्षको जागिरे अनुभव त छैन, तैपनि मेरो सुझावले कसैलाई सहयोग गर्छ भने मेरा लागि गर्वको विषय हुनेछ।

सुझावहरु प्रस्तुत गर्नुभन्दा अगाडि एउटा कुरा सबै पाठकहरुमा प्रस्ट पार्न चाहन्छु कि मेरो उदेश्य कुनै पनि काम-सीपलाई ठूलो-सानो भनी विभेद गर्नु पटक्कै होइन। मेरो सबै कामप्रति उत्तिकै सम्मान छ, तर हाम्रो शिक्षा र वर्षौंदेखिको मेहनत बमोजिमको काम गर्ने इच्छा हुने जनहरूलाई मेरो एउटा कोसिसमात्र हो, जुन तल बुँदागत रुपमा लेखेको छु। यी सुझावहरु धेरैजसो सबै देश-विदेशमा रहनुभएका विद्यार्थी, डिग्रीहोल्डरलाई लाभ हुने तरिकाले प्रस्तुत गरेको छु। केही उदाहरण भने अष्ट्रेलियाबाट लिएको छु।

सिभी/कभर लेटर

हरेक रोजगारका लागि सबैभन्दा महत्त्वपूर्ण हजुरले बुझाउने सिभी र कभर लेटर नै हो। एउटा रोजगारदाताले तपाईंलाई चिन्ने, सबल पक्षहरु देख्ने भनेकै यी दुई डोकुमेन्टबाट नै हो। त्यसैले सिभी र कभर लेटरलाई सकेसम्म व्यवसायिक देखाउन पहल गर्नुपर्छ। पहिले सिभीमा रोजगारदाताले मागेको कुराहरु प्रस्ट देखिने गरी लेख्नुपर्छ। यसका लागि आफ्नै कुनै फरम्याट बनाए पनि हुन्छ अथवा इन्टरनेटमा उपलब्ध व्यवसायिक टेम्प्लेट प्रयोग गरेपनि हुन्छ। इन्टरनेटमा उपलब्ध https://cvmkr.com/, https://www.resume.com/ आदि धेरै वेबसाइटहरु छन्, जसले सजिलो तरिकाले व्यवसायिक सिभी बनाउन मद्दत गर्छ।

Prabin pathak 2.jpg

कभर लेटर भनेको सिभीको सारांस हो। तर, यसमा रोजगारदातालाई हजुर यो कामको लागि किन योग्य हुनुहुन्छ भनेर खुलाउनुपर्ने हुन्छ। हरेक रोजगारदाताले आफूले चाहेको व्यक्तिमा हुनुपर्ने सीप-गुण आफ्नो विज्ञापनमा उल्लेख गरेका हुन्छन्। त्यही विज्ञापनमा उल्लेखित गुणहरुलाई पहिलेको अनुभवबाट म यी कारणले योग्य छु भनेर उल्लेख गर्नुपर्ने हुन्छ। यो कभर लेटरले नै निवेदकको व्यवसायिकताको परिचय दिने हुँदा यसलाई सकेसम्म आफ्नो भाषामा र बुझ्न सरल हुनेगरी लेख्नुपर्छ। कभर लेटर लेख्नकै निम्ती धेरै एजेन्सीहरु पनि बजारमा पाइन्छन्, जसले सटिक शब्दहरु प्रयोग गरी आफूसँग भएका गुण र सीपलाई कसरी व्यवसायिक देखाउने भनेर सल्लाह दिने गर्छन्।

अन्तर्वार्ता

जागिर पाउनका निम्ति दोस्रो तर अति महत्वपूर्ण खुड्किलो मानिन्छ अन्तर्वाता। यसलाई सकेसम्म व्यवसायिक र औपचारिक बनाउनुपर्छ। यसका लागि आफ्नो पोसाकदेखि हाउभाउ, प्रयोग गरिने शब्द आदि धेरै कुरामा ध्यान दिनुपर्छ। हामीले दिने उत्तर सकेसम्म एउटा फरम्याटमा हुनपर्छ। उत्तर दिने धेरै फरम्याटमध्ये STAR फरम्याट पनि एक हो।

STAR (Situation,Task, Action and Result) तरिकामा आफ्नो पुरानो अनुभवमा घटेका घटना, त्यसमा कस्तो समस्या आएको थियो, कुन तरिका आपनाएर त्यो समस्याको सामाधान गर्नुभयो र त्यसपछि त्यसको रिजल्ट कस्तो आयो भनेर बताउनुपर्ने हुन्छ। अन्तर्वातामा जानुअघि रोजगारदाता कम्पनीको पृष्ठभूमि, उनीहरुले गरिराखेको कामको जानकारी लिएको राम्रो। यसका साथै घरमै अन्तर्वाताको सम्भावित प्रश्न-उत्तरका पूर्वतयारी पनि गरेको राम्रो, यसले अन्तर्वार्ताको उत्तरहरुमा आत्मविश्वास झल्काउने काम गर्छ। आफ्नो क्षेत्रका विज्ञसँग पनि सुझाव लिएको राम्रो हुन्छ। धेरै एजेन्सीहरु पनि हुन्छन्, जसले अन्तर्वार्तामा चाहिने सम्भावित प्रश्नका साथै मोक अन्तर्वाता गराएर हजुरलाई अभ्यस्त बनाउँछन्।

इन्टर्नसीप

विकसित देशहरुमा धेरै विद्यार्थीहरु आफू पढिरहेको विश्वविद्यालयमा हुँदा नै इन्टर्नसीप गर्ने मौका पाउँछन्। यसले व्यवसायिक दुनियाको आधारभूत पाटाहरु सिकाउने काम गर्छ। धेरैजसो विकसित देशको विश्वविद्यालयमा त यसलाई अनिवार्यरुपमा पाठयक्रममै राखिएको हुन्छ। यदि विश्वविद्यालयमा इन्टर्नसीप गर्न पाउनुभएको छैन भने डिग्रीपश्चात पनि गर्नसक्नुहुन्छ। इन्टर्नसीपले रोजगारदातालाई स्थानीय अनुभवसँगै काममा चाहिने आधारभूत सीपबारे जानकारी दिन्छ। विदेशमा इन्टर्नसीप अथवा कुनै अनुभव बिना जागिर पाउन धेरै कठिन मानिन्छ। त्यसैले चाहे पारिश्रमिक बिना होस् या पारिश्रमिकसहित इन्टर्नसीपको कोसिस गर्नुपर्छ। बिना पारिश्रमिक इन्टर्नसीप दिलाउनका लागि पनि धेरै एजेन्सीहरु बजारमा पाइन्छन्। इन्टर्नसीप पाउन सकिएन भने यस्तै एजेन्सीको सहयोग लिन सकिन्छ। जसले व्यवसायिक दुनियाको लागि ढोका खोल्ने काम गर्छन्। धेरै वेवसाइटहरु जस्तै https://www.internships.com/ https://www.linkedin.com/, https://www.glassdoor.com.au/ आदि छन्, जसले लगातार आफूले रोजेको क्षेत्रभरि उपलब्ध इन्टर्नसीपको अवसरहरुलाई पोस्ट गरिरहन्छन्।  

प्रोफेसनल रजिस्ट्रेसन र नेटवोर्किङ

आफूलाई अब्बल दावेदारको रुपमा प्रस्तुत गर्नका निम्ति यो पनि अति नै महत्वपूर्ण कडी मानिन्छ। व्यवसायिक रुपमा काम गर्न धेरै देशहरुमा त्यो देशको आधिकारिक सरकारी निकायमा रजिस्टर हुनुपर्छ। साथै आफ्नो क्षेत्रको व्यवसायिक संस्थामा आबद्ध भएको पनि राम्रो हुन्छ।

जस्तै हजुर एउटा इन्जिनियर हुनुहुन्छ भने इन्जिनियरहरूको रजिस्ट्रेसनको लागि नेपाल इन्जिनियरिङ काउन्सिल, अष्ट्रेलियामा इन्जिनियर्स अष्ट्रेलिया र इन्जिनियरहरुको छाता संगठन नेपालमा नेपाल इन्जिनियर एसोसिअसन, अष्ट्रेलियामा एसोसिअसन अफ प्रोफेस्सिओनल इन्जिनियर्समा आबद्ध भएको राम्रो। यस्ता संस्थाहरुमा लगातार गोष्ठी, वर्कसप, कन्फेरेन्स हुनेगर्छ, hसले एउटा रोजगारदाताले खोज्ने गुणबारे जानकारी दिइन्छ, यसबाहेक व्यवसायिक जीवनमा चाहिने सीप, ज्ञानहरु पनि प्रदान गरिराखेका हुन्छन्। यी संस्थाहरुमा आफ्नो विधाको पायोनिरलाई पनि भेट्न सक्नुहुन्छ। व्यवसायिक जीवनमा चाहिने धेरै कुराहरु उहाँहरूको अनुभवबाट सिक्न सक्नुहुन्छ। यस्ता संस्थाहरुमा अझै मेण्टोर-मेण्टी कार्यक्रम नै हुन्छ, जसले अनुभवी दिग्गज व्यक्तित्वबाट आफ्नो क्षेत्रबारे जानकारी गराउँछन्। हजुरहरुको व्यवसायिक हकहितको लागि लड्ने सस्था पनि यिनै हुन्।

लिन्क्ड इन

आजकल धेरै रोजगारदाताले ‘लिन्क्ड इन’ प्रोफाइलमा आँखा लगाइरहेका हुन्छन्। त्यसैले ‘लिन्क्ड इन’ प्रोफाइल सकेसम्म ब्यवसयिक बनाउन जरुरी छ। ‘लिन्क्ड इन’मै आफ्नो क्षेत्रको दिग्गजलाई भेट्न सक्नुहुन्छ र अफूलाई यस क्षेत्रमा चाहिने सीपको बारेमा जानकारी राख्न सक्नुहुन्छ । यो एउटा सामाजिक सञ्जाल भएका करणले आफूले भन्न चाहेका कुराहरु सजिलै रोजगारदातासँग पुर्‍याउन पनि सक्नुहुन्छ ।

स्वेच्छिक काम

धेरै रोजगारदाताले आफ्नो कर्मचारीमा नेतृत्व क्षमता, टिमवोर्कलाई पनि उत्तिकै महत्व दिन्छन्। स्वयंसेवकको रुपमा काम गर्दा व्यवसायिक कामको संस्कृति बुझ्ने मौका त पाउनु हुन्छ नै आफूमा आत्मविश्वास र नेतृत्वदायी क्षमताको पनि विकास गर्न सक्नुहुन्छ । स्वेच्छिक काम जुनसुकै क्षेत्रमा हुनसक्छ, यसले आफूलाई अरुभन्दा प्रबल दावेदारको रुपमा प्रस्तुत गर्छ। हजुर नेपालमा हो भने आफ्नो ठाउँको युवाक्लब, सामाजिक संस्थाहरु आदिमा आबद्ध पनि हुन सक्नुहुन्छ। त्यसैगरी प्रवासमा हुनुहुन्छ भने नेपाली जनहरूको संस्था अनि अन्तर्राष्ट्रिय संस्थाजस्तै ओक्स्फाम, रेडक्रस आदि संस्थाहरुमा पनि आबद्ध हुन सक्नुहुन्छ।

रिक्रुटिङ एजेन्सी

बजारमा धेरै रिक्रुटिङ एजेन्सीहरु हुन्छन्, जसको काम भनेको तपाईँजस्तै रोजगार खोजिरहेकालाई रोजगारदातासम्म पुर्‍याउनु हो। यस्ता संस्थामा आफ्नो सिभी पठाएर आफ्नो नाम, काम गर्न चाहेको क्षेत्र, सम्पर्क गर्न सकिने इमेल र फोन नम्बर सहित दर्ता गर्न सक्नुहुन्छ।

उनीहरुले डिग्री, सीप र अनुभवका आधारमा बजारमा आएका अवसरहरुलाई हजुरलाई र रोजगारदातालाई जोड्ने पुलको काम गर्छन्। हेज.कम (https://www.hays.com.au/), एडेको.कम (https://www.adecco.com.au/ )जस्ता एजेन्सीहरू छन्, जसले लगाताररुपमा आफ्नो पोर्टलहरुमा बजारमा आएका जागिरका विज्ञापनहरुलाई पनि उपलब्ध गराइरहन्छन्। धेरै वेवसाइटहरुजस्तै https://www.seek.com.au/, https://au.indeed.com/?from=gnav-homepage, https://au.jora.com/,  https://merojob.com/ आदि छन्, जसले लगातार रूपमा बजारमा आएका अवसरहरु लेराइ रहन्छन। सबै एजेन्सीहरु हरेक देशमा उपलब्ध नहुन सक्छन्, त्यसैले आफू बसिरहेको अथवा काम गर्न खोजेको क्षेत्रमा कुन एजेन्सीले धेरैभन्दा धेरै अवसरहरु लेराउँछन्, भनेर खोजी गर्नु पनि उत्तिकै आवश्यक छ।

स्थायी बसोबासको प्रमाणपत्र

हजुर विदेशमा हुनुहुन्छ भने स्थायी बसोबासको प्रमाणपत्र पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। धेरै रोजगारदाताहरु स्थानीयबासीलाई पहिलो प्राथमिकतामा राख्ने गर्छन्। उनीहरूको उद्देश्य आफ्नो कर्मचारी माथि उनीहरुले गरेको  लगानी भिसाकै कारण खेरा नजाओस् भन्नु हो। अर्को अप्ठ्यरो भनेको आस्थायी भिसामा काम गर्नको निम्ती सरकारले निश्चित मापदण्ड र समय तोकेको हुनसक्छ। धेरै सरकारी निकायको अवसरमा त नागरिकताको अथवा स्थायी बसोबासको प्रमाणपत्र लगभग अनिवार्य नै हुन्छ। त्यसैले त्यस देशमा काम गर्न चाहनुहुन्छ भने स्थायी बसोबासको प्रमाणपत्रले पनि केही मात्रामा सहयोग गर्नसक्छ। फेरि स्थायी बसोबासको प्रमाण पत्र लिने नलिने आफ्नो ब्यक्तिगत निर्णय नै हो।

माथि उल्लेखित केही सुझावमात्र हुन्। सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूसँग विज्ञापनमा रोजगरदाताले उल्लेख गरेको शिक्षा, सीप र गुण हुनैपर्छ। माथिका सुझावले हजुरलाई गन्तब्यसम्म पुर्‍याउन मद्धत भने अवश्य गर्नेछ।  आफ्नो क्षेत्रको जागिर नपाएर तनावमा हुनुहुन्छ अथवा प्रयास गर्दा पनि नभएर हरेस खानु भएको छ भने एकपटक माथि उल्लेखित सुझावहरु अपनाउने कोसिस गर्नुहोस्, आफूले देखेको सपनाको ठाउँमा पुग्न सक्नुहुन्छ कि। यति भनिरहँदा सुरुमा उल्लेख गरेको एपिजे अब्दुल कलामको भनाइ फेरि याद आयो मेहेनत भने निर्विकल्प छ।

                                                               लेखक इन्जिनियर हुन्। उनी हालः अष्ट्रेलियामा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट