विहे नगरी बच्चाको तयारीमा राजेशपायल राई [भिडियो अन्तर्वार्ता]-Sutra News

विहे नगरी बच्चाको तयारीमा राजेशपायल राई [भिडियो अन्तर्वार्ता]

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- गायक राजेशपायल राईलाई यदि कसैले ‘मिडियाले तपाईँलाई सबैभन्दा बढी सोध्ने प्रश्न के हो’ भनेर सोध्यो भने उनी एक सेकेन्डपनि नसोचिकन सहजै जवाफ दिन्छन्, ‘विहे कहिले गर्ने?’



वर्षौदेखि यो प्रश्नले उनलाई यसरी लखेटेको छ कि कहिलेकाहीँ त उनलाई लाग्छ- ‘मिडिया र शुभचिन्तककै लागि भए पनि विहे गरिदिनुपर्छ।’

यो त लाग्ने कुरा न भयो। तर, यथार्थमा उनको बिहे गर्ने सुरसार अझै देखिँदैन। बरु शुक्रबार सूत्रन्युजको अफिसियल च्यानल सूत्र टिभीको सूत्र विशेष कार्यक्रममा उनले नयाँ रहस्य खोलेका छन्, त्यो के भने उनी चाँडै ‘सेरोगेट मदर’ अर्थात् सेरोगेसी प्रक्रियामार्फत् बच्चा जन्माउन खोजिरहेका छन्।

‘यहाँ त यसरी बच्चा जन्माउनु अवैधानिक हो तर म अमेरिकाको भर्जिनियाबाट सेरोगेट मदरमार्फत् बच्चा जन्माउन खोजिरहेको छु,’ उनले भने, ‘मेरो रुची जुम्ल्याहा बच्चामा छ। त्यसैले जुम्ल्याहा र सिंगल दुवैको मूल्य बुझिरहेको छु। नेपाली एक करोड रुपैयाँसम्म खर्च हुने कुरा आइरहेको छ।’

बच्चा जन्माउनलाई सेरोगेट मदर नै किन भन्ने प्रश्नमा राजेश हाँस्दै जवाफ फर्काउँछन्, ‘ससुरालीको पनि झन्झट भएन। बुढीको कचकच हुने चिन्ता पनि नहुने। त्यसैले अमेरिकामा जन्माएर उतै हुर्काउने सोचमा छु।’

राजेशका अनुसार उनको यो सोचसँग परिवार त्यति सहमत छैनन्। ‘म धेरैजसो सल्लाह दिदी नमितासँग गर्ने गर्छु,’ उनले भने, ‘मैले उहाँलाई यो कुरा राख्दा त्यति सकरात्मक देखिनुभएन। अरुले जे गरेपनि हामीलाई त बुहारी नै चाहिन्छ भन्ने कुरा पो गर्नुभयो। मैले शाहरुख खान, शिल्पा सेट्टीदेखि करण जोहारसम्मको उदाहरण दिँदा पनि उल्टै समाजले के भन्छ भनेर प्रश्न पनि उठाउनुभयो।’

rajesh 2.JPG

राजेशले विहे नगरी बच्चा जन्माउने तयारी गरेपछि उनले बिहे नगर्ने संकेत झन् बढेको छ। ‘विहे हुन पनि सक्छ, नहुन पनि सक्छ,’ उनी भन्छन्, ‘मैले हुँदैन भनेको पनि छैन। यो डेटमा हुन्छ, भनेको पनि छैन।’

यद्यपि उनलाई यो लकडाउनमा फुर्सदिलो बस्नुपर्दा विहे गरेको भए हुन्थ्यो भन्नेचाहिँ लागेछ। भन्दै थिए, ‘विहे गरेको भए त बच्चा र श्रीमतीलाई प्रशस्त समय दिन त पाउने रैछु भन्ने लाग्यो।’

राजेशले कुराकानीका क्रममा आफू ३० वर्षको अन्तरालपछि यो पटक गाउँमा दसैँ मनाउन जान लागेको समेत खुलाए। उनी जन्मेको गाउँ हो, खोटाङको बुइपा। बाल्यकालका अनेक स्मृति सुनाउँदै उनले भने, ‘सधैँ स्टेज कार्यक्रममा व्यस्त भइन्थ्यो। यसपटक महामारीका कारण स्टेज कार्यक्रम नहुने संकेत छ। त्यसैले गाउँ जान पाइन्छ भनेर उत्साहित छु।’

कुनै बेला मदिरासँग राजेशपायलको डरलाग्दो प्रेम थियो। राजेश स्व्यं भन्छन्, ‘यो मदिरा मेरै लागि बनेको हो जस्तो लाग्थ्यो।’ तर, केही वर्षयता उनले मदिरा पिउन छाडेका छन्। उल्टै सुझाव दिन्छन्, ‘नपिएकै राम्रो।’

बुबाआमाका कारण पनि आफूले मदिरा पिउन छाडेको रहस्य उनले कुराकानीमा खुलाए। ‘रक्सीलाई एकातिर राखेर बुबाले मलाई सोध्नुभयो, हामीलाई रोज्छस् कि रक्सीलाई,’ राजेशपायलले सम्झिए, ‘मैले स्वभाविकरुपमा तपाईँहरुलाई रोज्छु नि भन्दिएँ। त्यसदिनदेखि मैले मदिरा पिउन छाडिदिएँ।’

बाँकी कुराकानी भिडियोमै हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट