प्रेमले मानव जीवनलाई कसरी सुन्दर बनाउँछ ?-Sutra News

प्रेमले मानव जीवनलाई कसरी सुन्दर बनाउँछ ?

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

सायद संसारमै सबैभन्दा लामो अध्ययन हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरुमा गरिएको थियो। ७५ वर्ष लामो यो अध्ययनका लागि ७ सय २५ युवाहरुलाई सहभागी थिए।  



सुरुमा तिनीहरुलाई सोधिएका प्रश्नहरु जीवनका मुख्य उद्देश्यसँग सम्बन्धित थिए। ८० प्रतिशत विद्यार्थी धनी बन्न चाहन्थे भने ५० प्रतिशत विद्यार्थी प्रसिद्ध हुन्। सबै विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो। उनीहरुका श्रीमती र बच्चाहरुसँग समेत कुराकानी गरिएको थियो। साथै मेडिकल रेकर्डको अध्ययन पटक-पटक गरिएको थियो। अध्ययन समाप्त हुँदा ७ सय २५ मध्ये ६० जना जीवितै थिए। यो अध्ययनले ३ वटा ठूला निष्कर्ष निकाल्यो।

एक, राम्रो सम्बन्धले हामीलाई खुसी दिने रहेछ, स्वास्थ्य राम्रो राख्ने रहेछ। राम्रो सामाजिक सम्बन्धले खुसी दिने रहेछ। एक्लोपना त विष समान हुने रहेछ। यसले खुसी नदिने मात्र होइन, स्वास्थ्य बिग्रिने र जीवन समेत छोट्टिने रहेछ।

दुई राम्रो सम्बन्ध भन्नाले गुणस्तर र प्रेमपूर्ण सम्बन्ध रहेछ। यस्तो सम्बन्ध महत्वपूर्ण हुने रहेछ। यस्तो सम्बन्धले भित्रैवाट सन्तुष्टि पनि दिने रहेछ। तीन, राम्रो सम्बन्धले शरीर र मनलाई राम्रो गर्ने रहेछ र सम्झना शक्ति पनि राम्रो रहिराख्ने रहेछ। राम्रो सम्बन्ध परिवारमा, साथीहरुसँग र आफ्नो समुदायमा हुनु भनेको स्वास्थ्यको लागि लाभदायक रहेछ।

पाठकलाई जिज्ञासा लाग्ला, ७ सय २५ जना मध्ये कतिजना धनी र कतिजना प्रसिद्ध भए। तिनीहरुमध्ये केही कलकारखानामा काम गर्ने भएछन्। कोही वकिल, कोही डाक्टर, भएछन्। अनि कोही चाहिँ रक्सीको लतमा फसेछन्। केहीलाई स्किजोफ्रेनिया भन्ने दीर्घ मानसिक रोग लागेछ। एकजना भने अमेरिकाको राष्ट्रपति बन्न सफल भएछन्।

यो लामो अध्ययनको निष्कर्ष हो, जीवनमा खुसी हुनको लागि, राम्रो स्वास्थको लागि र राम्रो संझना शक्तिको लागि सबैभन्दा महत्वपूर्ण कुरा प्रेम नै रहेछ। आफ्नो परिवार लगायत सबैसँग प्रेमपूर्ण सम्बन्ध निकै महत्वपूर्ण कुरा रहेछ। 

हुनपनि, जीवन छोटो छ। कति छिटो समय जान्छ, यादै हुँदैन। यस्तो छोटो जीवनमा रिसाउने, झगडा गर्ने वा बेमतलवका कुरा वा काम गरेर बिताउनु भनेको आफैलाई दुःख दिनु हो।

प्रेम सकरात्मक भावना हो, जसले व्यक्तिलाई नयाँ ऊर्जा दिन्छ। आनन्द, खुसी, हर्ष, सन्तुष्टि, कृतज्ञता र ‘आहा’ को भावना सबै सकरात्मक भावनाहरु हुन्, जुन प्रेमकै कारण अनुभव गर्न पाइन्छ।

जब सकरात्मक भावनाहरु मनमा ओइरिन्छन्, गहन आनन्द र शान्तिको अनुभव गर्न सकिन्छ। गुलावको कोपिला फक्रिँदा जति सुन्दर देखिन्छ, प्रेम हुँदा आफूभित्रको मन पनि त्यस्तै सुन्दरताले भरिएको हुन्छ। जब आफूभित्र यस्तो आनन्दको अनुभव हुन्छ, शान्तिको अनुभव हुन्छ, बाहिर देखिने प्रकृतिको विविधिता पनि त्यस्तै आनन्ददायक लाग्छ। 

त्यसैले, सकरात्मक भावनामध्ये प्रेमलाई नै परम, उच्चतम वा महान र सर्वश्रेष्ठ भावना मानिन्छ। ‘त्यसो भए प्रेमी र प्रेमिकाबीचको प्रेम भावना किन लामो समयसम्म टिक्दैन त?’ भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ। यदि प्रेमी र प्रेमिका दुबैले आफ्नो प्रेमलाई ताजा राख्न चाहे भने यस्तो प्रेम पनि अवश्य टिक्छ। यदि प्रेमभाव टिक्दैन भने प्रश्न आफैंले आफैंलाई गर्ने हो, आफूभित्रै ‘किन यस्तो भयो?’ भनेर सोच्ने हो। मस्तिष्कको प्रकृति नयाँ-नयाँ कुरामा वा खोजमा रमाउने हुन्छ। यस्तो नयाँपन, कसरी कायम राख्ने भन्ने प्रयास गर्दा पनि राम्रो हुनेछ।

युवा अवस्थामा एक अर्काप्रति आकर्षण र यौन सुखको चाहना हुनु स्वाभाविक हो, जैविक आवश्यकता पनि हो। यसलाई काम इच्छा वा वासना भन्दा पनि हुन्छ। तर, यौन सन्तुष्टिको चाहनालाई नै प्रेम हो भन्न मिल्दैन। यस्तो सन्तुष्टिको लागि प्रेमको आवश्यकता पनि छैन। यदि वासना पुरा हुँदैन भने प्रेम नाम दिइएको वासना पनि छिटै असफल हुन्छ। प्रेम छ र एकले अर्कालाई सुख दिने भावना छ भने त्यो अवष्य टिक्छ।

प्रेमपूर्ण सम्बन्ध आमाबाबु, छोराछोरी, श्रीमान–श्रीमती, साथीभाई, अन्य प्रियजनहरु र जनावरहरुबीच हुन सक्छ। भनिन्छ, अन्तरज्ञान र अन्तरदृष्टि पनि प्रेमपूर्ण भावको कारणले नै उत्पन्न हुन्छन्। प्रेम  सम्पूर्ण मानव जाति, प्रकृति र सम्पूर्ण जीवनलाई गर्न सकिन्छ।

प्राय मानिसहरु प्रेम र आशक्तिलाई एकै अर्थमा बुझ्न खोज्छन्। यदि कुनै व्यक्तिले अर्को व्यक्तिलाई तिमीले मलाई सुख दिन सक्छौ वा खुसी दिन सक्छौ भनेर प्रेम गरेको हो भने त्यो आशक्ति हो। ‘म तिम्रो खुसी चाहन्छु, तिमीलाई महत्व दिन्छु, प्रयास गर्छु, विनास्वार्थ म तिमीलाई प्रेम गर्छु’ भन्ने सोच्छ  भने त्यो प्रेम हो। 

प्रेमलाई अत्याधिक महत्व दिएकालै भनिएको होला, ‘प्रेम नै ईश्वर हो।’             

 

(लेखक बरिष्ठ मनोचिकित्सक हुन्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट