महामारीको निन्द्राबाट कहिले ब्युझिएला ठमेल ?-Sutra News

महामारीको निन्द्राबाट कहिले ब्युझिएला ठमेल ?

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- रात्रिकालीन जीवन अर्थात् नाइट लाइफका लागि स्वदेशमा मात्रै होइन, विश्वभर प्रख्यात ठाउँ हो- ठमेल। भनिन्छ, घाम अस्ताएपछि मात्रै ठमेलको खास चरित्र उदाउँछ।



झिलिमिली बत्ती, संगीत, नृत्य, मदिरा, मस्ती हरेक दृष्टिकोणले स्वदेशी हुन् या बाह्य, पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थान हो- ठमेल।

०७२ सालको भूकम्प होस् या माओवादीकालको सशस्त्र द्वन्द्व, ठमेल केही समय सुस्त भयो होला तर यसको चरित्र अर्थात् विन्दासपन सधैँ उस्तै रह्यो।

तर, कोभिड–१९ को महामारीका कारण करिब चार महिनादेखि ठमेलको यो चरित्रमा एकाएक बदलाव आएको छ। सधैँ राति जाग्ने ठमेल अचेल पुग्दा सुनसान देखिन्छ। कोरोनाले दिएको यो निन्द्राबाट कहिले ब्युझिएला ठमेल? यतिखेर ठमेलका व्यवसायीदेखि यहाँ रोजगार पाइरहेका सबैलाई यसको जिज्ञासा छ।

ठमेल रात्रिकालीन व्यवसायी संघका अध्यक्ष दावा तामाङ कोराना महमारीले ठमेलको स्वरुप नै बिग्रिएको बताउँछन्। ‘जताततै घाटैघाटा छ। सरकारले कर्मचारीलाई ५० प्रतिशत तलब खुवाउनुपर्ने निर्देशन दिएको छ। हामिले १२ प्रतिशत तलब दिने कुरा गरेको थियौं। तर, अहिले त तलब परको कुरा, व्यवसाय नै कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्यो,’ उनी पीडा पोख्छन्। 

उनका अनुसार घरभाडादेखि बिजुलीको शुल्क सबै तिर्नसक्ने अवस्था नै छैन। ‘सरकारले बिजुलीको महसुल घटाउने कुरा त गर्छ। तर, हामीले विल तिर्दा पहिलेकै अनुपातमा तिर्नु परिरहेको छ, यसरी कसरी टिक्ने,’ उनले गुनासो राखे। 

महामारीका कारण ठमेलका सम्पूर्ण पर्यटन तथा रात्रिकालीन व्यवसाय बन्दा हुँदा ठूलो नोक्सान बेहोर्नु परिरहेको बताउँछन्, ठमेल रात्रिकालीन व्यवसायी संघका उपसचिवसमेत रहेका टर्टल लाउन्ज एन्ड नाइट क्लबका सञ्चालक आयुष ठकुरी।

thamel2.jpg

‘लकडाउनभन्दा अगाडि रातदिन चालु हुने ठमेल बजार अहिले सुनसान छ,’ उनी भन्छन्, ‘अब कहिले खुल्छ भनेर अनुमान गर्न सकिने वातावरण छैन। खुलेपनि कोरानाले डरले पर्यटक आउने सम्भावना छ। यसले हामीलाई दिनहुँ करोडौँको नोक्सान भइरहेको छ।’

लकडाउन खुला भएपछि सरकारले केही होटल व्यवसाय विहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न अनुमति त दिएको थियो। तर, कोरोनाको संक्रमण बढेसँगै अहिले त्यो पनि बन्द गराएको छ। अझ बिहीबार बाट त उपत्यकामा निषेधाज्ञा नै जारी भइसक्यो।

संक्रमण नियन्त्रण भएन भने अझै लकडाउन बढ्ने अनुमान त छँदैछ। यो अन्योलताले ठमेलका व्यवसायीमा ठूलो तनाव सिर्जना भएको ठकुरी बताउँछन्। ‘सरकारले हेरेन भने त बर्बाद् हुन्छ,’ उनी राहत पाइने आशामा छन्। 

सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्षका रुपमा मनाउने घोषण गरेको थियो। वर्षभरि करिब २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो। पर्यटन व्यवसायीहरु पनि त्यहीअनुसार तयारी गरिरहेका थिए। पर्यटक धेरै आउँलान्, व्यापार धेरै होला भनेर दंग पनि थियो। तर, एक्कासी आएको यो कोराना महामारीले परिणाम ठीक उल्टो भइदिएको छ।

‘लाखौं खर्च गरेर व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका थियौँ। तर, कोरोनाले सारा सपना चौपट बनाइदियो,’ ठमेलका होटल व्यवसायी सुर्दशन सिलवालले भने, ‘भिजिट नेपाल मनाउनु त परको कुरा उल्टै होटल बन्द गरेर घरमा बस्नु परिरहेको छ। हवाइ उडानहरु ठप्प छन्। ठमेलमा धेरै जसो ग्राहक आउने भनेकै विदेशीहरु हुन्। अहिले त कोही आउनसक्ने अवस्थै छैन। अब के गर्ने, कसरी अघि बढ्ने? म त केही सोच्नै सकिरहेको छैन।’

त्यस्तै ठमेलका अर्का रेष्टुरेन्ट व्यवसायी पौरख महर्जन बस्न्यात् महामारीका कारण अनुमानै गर्न नसकिने गरी घाटा बेहोरिरहेको बताउँछन्। ठमेलमा ‘दी लेष्ट लाउन्ज’ र ‘दी इगल पब एण्ड बार’ सञ्चालन गरिरहेका उनी महामारीले निम्ताएको परिस्थितिका कारण चिन्तित छन्। ‘अब ठमेल कहिलेबाट पुरानै लयमा फर्किएला, त्यसको टुंगो छैन। सरकारले राहत दिएन भने त यहाँका सबै व्यवसायी समस्यामा पर्नेछन्,’ उनले भने।

ठमेलमा अहिले १५ हजार बढी पर्यटन व्यवसाय सञ्चालनमा छन्। जबसम्म कोरोना भाइरसको औषधि आइपुग्दैन तबसम्म स्थिति सामान्य भए पनि महामारी सर्ने डरले ठमेलमा पहिलेजस्तो माहोल नहुने पर्यटन व्यवसायीको अनुमान छ। ‘अब आश, भ्याक्सिनकै छ,’ टर्टल लाउन्जका सञ्चालक ठकुरीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट