जनस्वास्थविद् भन्छन्- संक्रमण समुदायमा फैलियो, सतर्कता अपनाऔं-Sutra News

जनस्वास्थविद् भन्छन्- संक्रमण समुदायमा फैलियो, सतर्कता अपनाऔं

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनालाई कोरोना संक्रमण पुष्टि भयो। काठमाडौं उपत्यकामा मात्र आज २ सय ५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार ५ सय ८१ जना संक्रमित थपिएका थिए।



सोमबारको तुलनामा आज झण्डै दोब्बर संख्यामा संक्रमित थपिएका छन्। यसरी संक्रमित बढ्दै जाँदा भयावह रुप लिनसक्ने चिन्ता जनस्वास्थ्यविद्हरुमा छ।

जनस्वास्थ्यविद् डा भगवान कोइराला कोरोना समुदायमा फैलिसकेको दाबी गर्छन्। भन्छन्, ‘समुदायमा कोरोना पहिलादेखि सुस्त रुपमा थियो। अब द्रूत गतिमा फैलन लक्षण देखियो। चिन्ताजनक कुरा हो।’
सरकारले ‘क्वारेन्टीन, सीमा व्यवस्थापन र परीक्षणमा हेलचक्र्याँइ गरेकै कारण संक्रमण समुदायमा फैलिएको उनको ठहर छ।

जनस्वास्थ्यविद् डा शरद वन्त संक्रमण बढेको कुरामा चिन्ता लिनुभन्दा पनि व्यवस्थापनमा ध्यान दिनु महत्वपूर्ण पाटो भएको बताउँछन्। ‘हामीले संक्रमण हुन नदिन जे–जस्ता सुरक्षाको प्रावधान अबलम्बन गर्नुपर्दथ्यो त्यो आजसम्म देखिएको छैन। अहिले पनि मानिसहरुको गतिविधि, चलायमानतामा मैले कमी देखिरहेको छैन। भिडभाड पनि घटेको छैन,’ उनी चिन्ता व्यत्तः गर्छन्।

जनस्वास्थ्यविद् डा कोइरालाका अनुसार संक्रमण बढ्दै गएपछि बिरामी संख्या पनि बढ्छ। उपचारको व्यवस्था मिलाउन सरकारले पहल बढाउनुपर्ने उनको भनाइ छ। अब एउटै घरमा पनि एक–आपसमा दुरी कायम गर्नुको विकल्प नभएको कोइराला बताउँछन्।

‘वृद्धवृद्धालाई सार्न नदिने कुरामा ध्यान दिनुपर्छ। दीर्घरोगीलाई घरभित्रै पनि कोठा र खाना छुट्टै गरिदिनुपर्छ। अहिलेको मोडालिटीलाई पनि परिवर्तन गर्नुपर्छ,’ उनी सुझाउँछन्।
जनस्वास्थ्यविद् वन्त संक्रमणको कहाँबाट कसरी फैलियो भन्ने कुरामा तीव्र गर्नुपर्ने कुरामा जोड दिन्छन्। ‘केस कसरी र कहाँबाट फेला पर्‍यो, संक्रमणमा आएकालाई कति छिटो पहिचान गर्न सक्छौं भन्ने कुरा अपनाउनुपर्छ, ’ डा वन्त भन्छन्।

मोडालिटीबारे छलफलमा छौं : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल सह-प्रवक्ता डा समीर अधिकारी नयाँ मोडालिटीबारे छलफल भइरहेको तर निर्णय हुन बाँकी रहेको बताए। ‘छलफल भइरहेको छ। निर्णय नभई छलफलको अर्थ हुन्न। हामीसँग रोकथाम मात्र हो। रोकथामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराहरु भएका छन्,’ उनले भने। केसहरुको संक्रमणलाई कसरी घटाउन सकिन्छ भन्ने सन्दर्भमा काम भइरहेको डा अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट