जिपिए बढे पनि चिन्तामा विद्यार्थी-Sutra News

जिपिए बढे पनि चिन्तामा विद्यार्थी

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- भक्तपुरको नालिन्दा विद्या मन्दिरकी छात्रा रीदिक्षा अधिकारीले यसवर्षको एसइई परीक्षाबाट ४ जिपिए प्राप्त गरिन् । विद्यालयको आन्तरिक मूल्यांकनबाट आफूले अपेक्षा गरेको ग्रेड त पाइन्, तर उनी खुसी हुन पाइनन् । ‘परीक्षा नै लिएको भए पनि त्यति ल्याउन सक्छु भन्ने थियो । तर, जति जिपिए आए पनि सबैले यसको मूल्य नै नभएको तर्क गर्छन्,’ उनी गुनासो गर्छिन् ।



अघिल्लो वर्षहरुमा जिपिएको आधारमा स्कलरसिप वा छुट दिने कलेज प्रशासनहरुले व्यवस्था गरेका थिए । राम्रो प्राप्तांक ल्याउनेहरुलाई राम्रो कलेजहश्ररुले छात्रवृत्तिसहित आग्रह समेत गर्थे । तर यसवर्ष आफूहरुले त्यो मौका गुमाउनुपरेको रीदिक्षा सुनाउँपछन् । ‘मैले केहीदिन अघि दुई-तीन वटा कलेज बुझेँ । बुझ्न जाँदा मलाई- यो वर्ष तिमीले ४ जिपिए नै ल्यायौ भने पनि त्यसको कुनै मूल्य हुँदैन भनियो । त्यो भन्दा उनलाई नरमाइलो लाग्यो । त्यसैले त्यो नम्बर त हामी आफैंले पाएको जस्तै भएन । स्कुलले उसै दिएको जस्तो फिल हुने भयो,’ उनले भनिन् ।

रीदिक्षा मात्र हैन आन्तरिक मूल्यांकनमा सहभागी ४ लाख ७२ हजार ९८ मध्ये अधिकांश विद्यार्थी परीक्षाफलबाट खुसी हुन सकेका छैनन् । कोभिड–१९का कारण २०७६ साल चैत्र ६ गते हुनुपर्ने एसइई परीक्षा अघिल्लो दिनमात्र स्थगित भएको थियो । परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले आफ्नो मिहिनेतको सदुपयोगसमेत गर्न पाएनन् ।  सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक त गर्‍यो, तर अघिल्लो वर्षजस्तो सबै जिपिए सार्वजनिक गरेन । शिक्षकहरुले मनोमानी गरेर नम्बर चढाए भन्दै विद्यालहरुको आलोचना समेत भइरहेको छ । तर, यसको प्रत्यक्ष मारमा परेका छन् विद्यार्थीहरु ।

‘फेसबुकमा जताततै लेखिएको देखिन्छ । तिमीहरुले फेबरमा ल्याएको मार्क्सले के गर्छौ, आफ्नै बल बुताले  ल्याएको हैन’ भन्छन् । मान्छेले किन यसरी अतिरञ्जित गरेको हो जस्तो लाग्छ,’ रीदिक्षा चिन्ता प्रकट गर्छिन् ।

परीक्षा बोर्डको अनुगमन नहुँदा समस्या

शिक्षाविद् बालचन्द्र लुइँटेल प्रकाशित भएको परीक्षाफलबाट आफू सन्तुष्ट नभएको बताउँछन् । परीक्षा बोर्डले शिक्षकहरूले गरेको मूल्यांकनको खोजी नगर्नु र अनुगमन नगर्नुले परीक्षाफलमा मनोमानी देखिएको लुइँटेलको आरोप छ ।

‘वास्तवमा अहिले त आधिकारिकरूपमा बोर्डले पनि हामीलाई केही भनेन । ग्रेड कसरी आयो भनेर भनेको भए गजब हुन्थ्यो, त्यो पनि भनेन,’ उनी भन्छन् । 

तर, यही ग्रेडको विषयलाई लिएर अतिरञ्जित गर्न नहुने उनी बताउँछन् । ‘विद्यार्थीले पाएको गे्रडलाई हामीले तलमाथि भन्नु हुँदैन । रिजल्ट नै खत्तम भयो भन्नुले उसको करिअरमा असर गर्छ,’ उनी भन्छन्, ‘हामीले समग्र प्रक्रिया कसरी अगाडि बढेको छ भन्ने कुराचाहिँ हेर्नुपर्यो ।’

प्याबसनका अध्यक्ष टीकाराम पुरी पनि परीक्षाफलसँग सन्तुष्ट छैनन् । उनी पनि राष्ट्रिय परीक्षा बोर्डले कार्यविधिमा कडाइ नगरेको दाबी गर्छन् । ‘संयन्त्रमा मूल्यांकन पद्धतिलाई कडाइ गर्न सकिन्थ्यो । बोर्डले कार्यविधि सच्याउन सक्थ्यो । त्यो खुकुलोपनको आभास हामीलाई भएको छ,’ उनी भन्छन् । 

जिपिए मनमौजी बढाएको भनेर शिक्षकहरूले गालीसमेत खेपिरहेका छन् । ‘शिक्षकले मनलाग्दी जिपिए दिने, अनि आफैँले बधाई दिने’ भन्नेजस्ता कुरा आइरहँदा शिक्षाविद् विद्यानाथ कोइराला भने यसमा असहमति जनाउँछन् । उनी शिक्षकलाई दोष दिनुको आधार नभएको बताउँछन् । ‘सबैको जाँच एउटै प्रश्नपत्रमा गरेको हैन । यो त १० कक्षाको जाँच हो । पहिलो, दोस्रो त्रैमासिक भनेर जम्मै १० कक्षाको जाँच गरेको हैन,’ उनी भन्छन्, ‘त्यो बेलामा आएको नम्बर हिसाब गरेर दिएको हो । शिक्षकलाई गाली गर्नुपर्ने कारण हैन ।’

परीक्षाफलमा मनोमानी भएको छैन : परीक्षा बोर्ड

नम्बर दिने कुरामा शिक्षकको कुनै दोष नभएको र बोर्डले पनि सबै प्रक्रिया पूरा गरेको राष्ट्रिय परीक्षा बोर्डको दाबी छ । आन्तरिक मूल्यांकन विद्यालयले आ–आफ्नो अनुकूलतामा फरक–फरक पाठ्यक्रम अनुसार गरेको हुनाले धेरै जिपिए आउनु स्वभाविक भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल बताउँछन् ।

‘सबैले एकैचोटि एउटै पाठ्यक्रमअनुसार परीक्षा लिने भनेर भनिएको थिएन । आन्तरिक प्रयोजनको लागि बनाएको नम्बरलाई हामीले बाह्य प्रयोजनको लागि प्रयोग गर्नुप¥यो,’ पौडले भन्छन्, ‘ कति स्कुलले परीक्षा नलिएका पनि होलान् । कतिले प्रिबोर्डकै आधारमा गरे होलन् । गलत केही भएको छैन ।’

पौडेल बोर्डमाथि गरिएको आलोचना टिप्पणीमात्र भएको बताउँछन् । उनी आक्षेपमाथि खण्डन गर्दै भन्छन्, ‘चुनौतिका बीचमा पनि हामीले काम ग¥यौं । कोरोनाको बेलामा पनि जोखिम मोलेरै काम गर्यौं । विशेष परिस्थितिमा गरिएको आन्तरिक परीक्षा हो । यसमा सामान्य अवस्थामा जस्तो ‘माइन्ड सेट’ गरेर आलोचनामात्र गर्नु उचित होइन,’ उनी भन्छन् ।

जिपिएको आधारमा विषय छनोट नगर्न सुझाव

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीहरूलाई अन्योलमा नरहन विज्ञहरूको सुझाव छ । शिक्षाविद् लुइँटेल अघिल्लो वर्षझैँ जिपिएको आधारमा विषय छनोट नगर्न विद्यार्थीलाई आग्रह गर्छन् । उनी सुझाउँदै भन्छन्, ‘के पढ्ने भन्ने विषयमा सोच्ने समय छ । रुचिको विषय पढ्नुहोला, जिपिएको आधारमा छनोट गर्दा रुचिको विषय छुट्न सक्छ ।’ धेरै जिपिए आए विज्ञान पढ्ने ट्रेण्ड प्रशस्त देखिन्छ । तर, लुइँटेल ट्रेण्डलाई पिछा नगर्न सुझाउँछन् ।

अभिभावकलाई पनि यो विषय पढ्नुपर्छ भनेर विद्यार्थीलाई दबाब नदिन प्याबसन अध्यक्ष पुरीको आग्रह छ । ‘विद्यार्थीले आफ्नो क्षमता कति हो भनेर आत्ममूल्यांकन गर्नुपर्छ,’ उनी भन्छन्,  ‘रुचिको विषयअनुसार क्षमता कति छ, त्यहीअनुसार छान्नुपर्छ । सर्टिसिफकेटको मात्र आधारमा नछानौं । त्यसले असर गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट