चार वर्षअघि घाटामा रहेको विद्युत प्राधिकरणले कमायो ११ अर्ब नाफा-Sutra News

चार वर्षअघि घाटामा रहेको विद्युत प्राधिकरणले कमायो ११ अर्ब नाफा

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाठौं- विद्युत् उत्पादन, प्रसारण र वितरण गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले ३५औं वर्ष पूरा गरेको छ। आर्थिक वर्ष २०७२–७३ सम्म घाटामा रहेको प्राधिकरणले आर्थिक वर्ष २०७६–७७ सम्म आइपुग्दा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ।



चार वर्षअघि मुलुकले लगभग १४ घण्टा लोडसेडिङ बेहोरिरहेको थियो। अहिले त्यो अवस्थाको अन्त्य भएको छ। प्राधिकरणले आर्थिक वर्ष २०७६-७७ मा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो। सरकारले आर्थिक वर्ष २०६७–०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो।

आर्थिक वर्ष २०७२–७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर घटाएर गत आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो। २०७२–७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ।

प्राधिकरणले २०७३–०७४ मा एक अर्ब ४७ करोड, २०७४-०७५ मा २ अर्ब ८५ करोड, २०७५-०७६ मा ९ अर्ब ८१ करोड मुनाफा कमाएको थियो। प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ। दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ।

प्रणालीमा रहेको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७२-०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर अहिले १५.२७ प्रतिशतमा झारेको हो। चुहावटलाई २०७३-७४ मा २२.९,  २०७४–७५ मा २०.४५, २०७५–७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो।

गत आर्थिक वर्षमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ। गत आर्थिक वर्षमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ।

आर्थिक वर्ष २०७२–७३ मा वाषिर्क विद्युत खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट थियो। अघिल्लो वर्षभन्दा अर्थात् आर्थिक वर्ष २०७१–७२ भन्दा पनि त्यो वर्ष विद्युत उपयोग करिब ०.७ प्रतिशतले कमी भएको थियो।

यसरी प्रतिव्यक्ति वाषिर्क विद्युत खपत १३१ युनिटमात्र थियो। तर, त्यसयता विद्युत खपत लगातार बढेको छ। आर्थिक वर्ष २०७३-७४ को कूल विद्युत खपत ४ अर्ब ७७ करोड ३८ लाख युनिट, आर्थिक वर्ष २०७४-७५ मा ५ अर्ब ५५ करोड ७३ लाख युनिट,  आर्थिक वर्ष २०७५-७६ मा कूल खपत ६ अर्ब ३३ करोड ८१ लाख र आर्थिक वर्ष २०७६-७७ को कूल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुगेको छ।

यसरी हाल प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत करिब दुई सय ४५ युनिट पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट