थप ४६८ जनामा कोरोना संक्रमण, मृत्यु संख्या १०२ पुग्यो-Sutra News

थप ४६८ जनामा कोरोना संक्रमण, मृत्यु संख्या १०२ पुग्यो

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरि ११ हजार ४४७ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा गरिएको व्रिफिङमा जानकारी दिइयो।



योसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप १२४ जना कोरोनामुक्त भएका छन्। हालसम्म १७ हजार २०१ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुष, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुष र धनुषा जिल्ला जनकनन्दन गाउँपालिकाका ५० वर्षका पुरुषको मृत्यु भएको हो। नेपालमा कोरोना संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने थप ९८ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ८० र भक्तपुर र ललितपुरमा ९-९ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट