गोगंबुको विभत्स घटना : यौन हिंसाको परिणाम-Sutra News

गोगंबुको विभत्स घटना : यौन हिंसाको परिणाम

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं- आइतबार बिहानै करिब ७ बजेतिर राजधानीको गोगंबुस्थित नवज्योती मार्गबाट एक स्थानीयको प्रहरीलाई फोन पुग्यो- ‘कालो रंगको सुटकेशबाट रगतजस्तो पदार्थ बगिरहेको छ।’



त्यसको केही समयमै प्रहरी त्यहाँ आइपुग्यो। सुटकेश खोलेर हेर्दा बोराको नाम्लोसहित रातो प्लास्टिकले बेरिएको अवस्थामा टाउको र खुट्टाबिनाको शव फेला पर्‍यो।

त्यसपछि प्रहरीको माथा खराब भयो। प्रश्न उठ्यो- शवको बाँकी टाउको र खुट्टा कहाँ छ? मृतक को हुन्? कसले किन र कसरी मार्‍यो?

महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी अनुसन्धान महाशखाको टोलीले संयुक्तरुपमा यसको अनुसन्धानमा जुट्यो। अपरेशनको नाम दिइयो– ‘अपरेशन जोजो’।

त्यसपछि शवको बाँकी अंग खोज्न प्रहरीले नेपाल प्रहरीको केन्द्रीय कुकुरबाट तालिमप्राप्त कुकुर जोजोलाई झिकायो। घटनास्थलमा फेला परेको नाम्लो सुँघेपछि उक्त कुकुरले सुटकेश भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर एउटा झोला नजिक पुगेर प्रहरीलाई संकेत गर्‍यो।

नभन्दै झोला खोलेर हेर्दा शवको बाँकी टाउको र खुट्टा भेट्टियो। शव टुक्राटुक्रा अवस्थामा थियो। मृतकको शरीरमा भेस्ट र कट्टुबाहेक अरु केही थिएन।

त्यसपछि शवलाई पोस्टमार्टमका लागि अस्पताल त लगियो तर मृतकको पहिचान हुन नसक्दा र कुनै ‘क्लु’ नपाउँदा प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेन। हत्याको नजिक पुग्नु त परको कुरा।

prahari photo.jpg

शव सनाखत गर्न सकस परेपछि प्रहरीले बाध्य भएर मृतकको फोटो नै सार्वजनिक गर्न बाध्य भयो। यही कारण प्रहरी विवादमा समेत पर्‍यो।

पत्रकार केपी ढुंगानाले ट्वीटरमै प्रहरीको आलोचना गरे, ‘नेपाल प्रहरीमा फरार अपाधिको हुलिया भनेको भरमा उतार्नसक्ने जनशक्ति छन्। मिलेको नि थियो। तर, प्रहरी किन गोंगबु घटनाको टाउकोको तस्बिर बाँडेर बसेको छ? किन यति लापरबाही? कति असंवेदनशिल। टाउको हेरेर स्केच बनाए सार्वजनिक गर्दा हुन्नथ्यो।’

यद्यपि प्रहरीलाई सायद यही फर्मुलाले साथ दियो- तत्काल मृतकका आफन्त पर्ने सम्पर्कमा आए। मृतक दाङका कृष्णबहादुर बोहोरा रहेको खुल्यो। त्यसपछि शवको सनाखत भयो। सोमबार राति नै प्रहरीले हत्यामा संलग्न महिलालाई चितवनबाट पक्राउ गर्‍यो र मंगलबार काठमाडौंमा ‘प्रेसमिट’ गरेर सार्वजनिक गरियो।

पक्राउ परेकी महिला हुन्, शव भेटिएको स्थानबाट करिब ५० मिटर नजिकको घरमा बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)। ‘घटना घटाएपछि उनी बिरामी बोकेर आएको एम्बुलेन्स चढेर चितवन ९ शक्तिखोरस्थित आफ्नो माइती घर पुगेकी रैछिन्, चितवन प्रहरीको सहयोगमा हामीले त्यहीँबाट पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सोमेन्द्र राठौरले बताए।

राठौरका अनुसार अनुसन्धानबाट अभियुक्त महिला केही टेलिशृंखलामा अभिनय गरेकी कलाकारसमेत रहेको खुलेको छ।

यी महिलासँगै प्रहरीले उनकी १० कक्षामा अध्ययनरत १५ वर्षीय छोरीलाई पनि पक्राउ गरेको छ, आमालाई हत्या गरिएको शव व्यवस्थापनमा सहयोग पुर्‍याएको आरोपमा।

‘सुरुमा अभियुक्तले जेब्रा झोलामा मृतकको टाउको र खुट्टा हालेर घरबाट करिब ५० मिटर उत्तरमा रहेको स्वर्गद्धारी मार्गको खाली जमिनको कुनामा लगेर फ्यालिछिन्,’ महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा एसएसपी दीपक थापाले भने, ‘त्यसपछि बाँकी शरीर ब्रिफकेसमा राखिन् तर बोक्न गाह्रो भयो। त्यसपछि अर्को कोठामा रहेकी छोरीको सहायतामा दोस्रोपल्ट शव व्यवस्थापन गरेको पाइयो।’

मृतक-अभियुक्तबीच फेसबुकबाट जोडिएको पुरानै सम्बन्ध

प्रहरीका अनुसार मृतक बोहोरा र अभियुक्त मुडभरीबीच पुरानै सम्बन्ध थियो। करिब तीन वर्षअघि फेसबुकबाट सम्बन्ध जोडिएपछि उनीहरु नजिक थिए। बोहोरा महिलाको घरमा गइरहन्थे।

काठमाडौं प्रहरी परिसर प्रमुख श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक बोहोराले अभियुक्त महिलाको नाम र फोटो राखेर फेक आइडीमार्फत् ब्ल्याकेमेल गर्दै आइरहेको खुलेको र थप अनुसन्धान भइरहेको छ।

‘मृतक बोहोरा कोठा आइरहने, निकै टर्चर दिइरहने कुरा अभियुक्त महिलाले बयानमा बताएकी छन्,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी राठौरले सूत्रन्युजसँग भने, ‘ मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आइडी खोलेर चलाउने गरेको र आफू अनुकुल चल्न दबाब दिने गरेकोसमेत देखिएको छ। हामी अझै अनुसन्धान गरिरहेका छौं तर समग्रमा यो घटना यौन हिंसाले निम्ताएको परिणामजस्तो देखिन्छ।’

jojo.jpg

दाङ घर भएका मृतक बोहोरा करिब ८ महिनादेखि गोगंबुस्थित एक होटलमा बस्दै आइरहेका थिए। प्रहरी अनुसन्धानका अनुसार घटना भएको दिन बोहोरा आफू बसेको होटलबाट बा७२प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएका थिए।

त्यसपछि मादक पदार्थ पिएर लठ्ठीएका बोहोरालाई महिलाले दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट मिसाएर चिउरासँग खुवाइन्। ट्याब्लेट खाएपछि बोहोरा पूरै लठ्ठीएर सुते।

सुतेको कन्फर्म भएपछि महिलाले उनको अण्डकोषमा ह्यामरले हिर्काइन्। बोहोरा मरे-नमरेको कन्फर्म गर्न आफ्नो कालो रंगको सल बोहोराका घाटीमा बेस्सरी बाँधेर कसिन्, थिचिन्।

त्यसपछि धारिलो हतियारको प्रयोगले खुट्टा र टाउँको छिनाएर शव टुक्रा पारेर एउटा सुटकेश र अर्को झोलामा राखेर व्यवस्थापन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

हालसम्मको प्रारम्भिक अनुसन्धानबाट पीडित र अभियुक्तबीच फेसबुकसँगै शारीरिक सम्बन्ध भएको स्थापना भएको देखिने प्रहरीले ‘प्रेसमिट’मा बताएको छ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपिङ ट्याबलेटको खोल र मोबाइल सेटहरु घटनास्थलबाट बरामद गरेको छ।

हत्यापछि महिलाले आफूले चिनेको चितवनबाट बिरामी बोकेर आएको परिचित एम्बुलेन्स ड्राइभरलाई फोन गरेर माइत गएको प्रहरी अनुसन्धानमा खुलेको छ। ‘घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौँ,’ परिसरका प्रवक्ता राठौरले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट