हिमेश पन्तको माग बढ्दो !-Sutra News

हिमेश पन्तको माग बढ्दो !

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । ‘स्ट्यान्ड अप कमेडी’ रियालिटी शो ‘कमेडी च्याम्पियन’ पहिलो सिजनका विजेता समेत रहेका कमेडियन हिमेश पन्तको फिल्ममा व्यस्तता बढिरहेको छ । उनको माग एकपछि अर्को गर्दै फिल्ममा देखिन्छ ।



निर्देशक मिलन चाम्सको फिल्म ‘वर एण्ड बधु’ र ‘शमशेर’मा अनुबन्धित भइसकेका हिमेशले अर्को नयाँ फिल्म साइन गरेका छन् ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा हिमेश अनुबन्धित भएका हुन् ।

बसन्त निरौलाको निर्देशनमा बन्न लागेको यस फिल्मका लागि निर्माणपक्ष र पन्तबीच करिब एक हप्ता अघि कागजी सम्झौता भएको हो । अनुबन्धित भएका हिसाबले उनको यो तेस्रो फिल्म हुने भएको छ ।

घोषणा गरिएको १० महिना सम्म पनि छायांकनमा जान नसकेको यो फिल्मको निर्माण पक्षले यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह केन्द्रीय भूमिकामा अनुबन्धित गराइसकेको छ । राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

आउँदो बर्षको तिहारमा प्रदर्शन गर्ने घोषणा गरिएको फिल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरिरहेको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

यस फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

निर्देशक निरौलाले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले यसअघि आफूले निर्देशन गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट