गीतमार्फत् घोषणा गरियो षट्कोण आर्ट्सको नयाँ फिल्म-Sutra News

गीतमार्फत् घोषणा गरियो षट्कोण आर्ट्सको नयाँ फिल्म

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । शुक्रबारबाट देशभर रिलिज भएको प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’को नयाँ गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ ।



चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको गरिरहेको छ । सार्वजनिक गरिएको ‘महाजात्रा’को यो गीतको भिडियोमा फिल्मका तीन पात्र विपिन कार्की (फडिन्द्र), रविन्द्र सिंह बानियाँ (जोयश) र रविन्द्र झा (मुन्ना)को गीतमा मित्रतालाई देखाइएको छ । जसमा उनीहरूबीच श्रङ्खलाबद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको छ ।

हर्क साउदको शब्द, कालीप्रसाद बाँस्कोटाको स्वर तथा सङ्गीत रहेको गीतको भिडियोमा मुख्य तीन पात्रहरूले जीवन जिउनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरुको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ ।

आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाइएको ‘महाजात्रा’को विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, वर्षा राउत, दिव्य देव, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, अरविन खड्काको पनि अभिनय छ ।

यस्तै, सार्वजनिक गीतको अन्तिममा ‘अब वि.सं  २०८२ को दशैंमा भेटौंला’ भनेर उल्लेख गरिएको छ । अर्थात् ‘जात्रा’ समूहको नयाँ फिल्म ०८२ सालको दशैंमा आउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट