पानी परेपछि किसानलाई राहत, खेती राम्रो हुने आशा-Sutra News

पानी परेपछि किसानलाई राहत, खेती राम्रो हुने आशा

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । मंगलबार मध्यरातयता झरी परेसँगै किसानको मुहारमा खुसी छाएको हो । महोत्तरीमा परेको पानीले रुखो जग्गाको माटो गलेपछि खनजोत गर्न पाइने भएको छ ।



पानीबिना ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट र लहरा लहलहाएका छन् । त्यसैगरी, झपक्क मज्रेका (मञ्जरी खिलेको, फूल लागेको) आँप, लिची र रूख कटहरसहितका रूख पानीले जालो र कालो धब्बा पखाली दिएपछि चहकिला देखिएका छन् ।

यसपालि पूरै हिउँद पानी नपरी बित्दा छट्पटिएका किसानमा अब बालीनाली अनुकूल हुने आश जागेको छ ।

‘वर्षाको पानीको जादू दुई दिनमै तरकारीका लहरा कति फेरिए,’ भङ्गाहा–४ रामनगरका किसान मोहन खाँ थारू भन्छन्, ‘अब चाहिँ पछिको मौसम ठिकठिकै रहे वैशाखी तरकारीले मन माफिक उत्पादन दिने आश जगायो ।’

त्यसैगरी, खेतीका किसानले पनि पछिल्लो वर्षा अमृत बनेको प्रतिक्रिया दिएका छन् । ‘पात र हाँगा नदेखिने गरी खिलेको मज्जर (मञ्जरी), रूखका हाँगा र पातमा बसेको जालो र काला धब्बा सबै पखालिएका छन्, फलका रूख परैबाट चहकिला देखिएका छन्,’ किसान सुरजसिंह कुशवाहाले थपे, ‘अब मज्जर नझर्ने र राम्ररी टिकोला (चिचिला) लाग्ने र बढ्ने आश जागेको छ ।’

पछिल्लो वर्षाले जालो, धब्बा पखाल्नसँगै जरामा पर्याप्त चिस्यान पुगेको हुँदा मधुवा (डढुवारोग)ंको प्रकोप पनि कम हुने किसानको विश्वास छ ।

अहिलेको वर्षा राम्ररी टिकोला लाग्न, टिकोला बढाउन, डाँठ दह्रो बनाउन अमृत नै भएको कुशवाहा बताउँछन् । पानी परेलगत्तै फलफूलका रूख फेरिएपछि किसानले राहत महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट