घाइते भन्छन्– चालकको लापरबाहीले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो-Sutra News

घाइते भन्छन्– चालकको लापरबाहीले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०
दुर्घटनाग्रस्त बस गलकोट(बागलुङ), ५ चैत : रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं को आज साझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको दुर्घटनाग्रस्त बस । तस्बिर सौजन्य : नेपाल प्रहरी/रासस

काठमाडौं । सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नु पर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो ।



‘पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो,’ धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए ।

उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । ‘रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन, गाडी हुँइकिएपछि मैले सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ,’ उनले थपे ।

पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरुले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा चालक अटेर गर्दै अघि बढेको उनको भनाइ थियो । ‘ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो,’ उनले भने ।

घाइते दशरथको टाउकोमा चोट लागेको छ । उनी अन्य घाइतेहरुसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइते पीडाले कराइरहेका छन् भने केही मलिन अनुहारमा शोक मनाइरहेका छन् ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका १ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौंका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए ।

‘केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए, तर गाडी सडकबाट तल खसिहाल्यो,’ उनले भने । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले बताए ।

‘केही बेरपछि होस आउँदा वरिपरी यात्रुका शव र घाइते मात्रै थिए, एकैछिन हातै चलेन, जसोतसो उठेर रुख र ढुंगाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ,’ उनले भने ।

उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि रातिनै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१–००६ ख ३८७९ बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

बस सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । सात जनाको घटना स्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुने अधिकांश रुकुमका छन् । घटना स्थलमै मृत्यु भएका सात जनाको शव संकलन गरी सोमबार राति रुकुम पठाइएको उनको भनाइ छ । बसमा ३७ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट