एसईई परीक्षा नजिकिँदा दैनिक ११ घण्टा लोडसेडिङले विद्यार्थी मारमा-Sutra News

एसईई परीक्षा नजिकिँदा दैनिक ११ घण्टा लोडसेडिङले विद्यार्थी मारमा

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी विद्युत् कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मारमा परेका छन् ।



एसइईको परीक्षा नजिकिएको अवस्थामा विद्युत् कटौतीले उनीहरू मारमा परेका हुन् । विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् ।

चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदै छ । विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ । ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन् । ‘दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?,’ हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे ।

गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ । दैनिक ११ घण्टा विद्युत् कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ ।

जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार व्यवसाय प्रभावित बनेको छ । कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन् ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्वीकारे । तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट