सत्ता सहकार्यले ओली-माधव नजिक, एकताकै सम्भावना कति ?-Sutra News

सत्ता सहकार्यले ओली-माधव नजिक, एकताकै सम्भावना कति ?

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । पार्टी विभाजनयता निकै कटुतापूर्ण सम्बन्धमा रहेका नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) फेरि नजिकिने परिस्थिति बनेको छ । नयाँ सत्ता समीकरण बनेसँगै सत्ता गठबन्धनमा रहेका दुई दल नजिकिने अवस्था बनेको हो ।



एउटै गठबन्धनमा सहभागि भइरहँदा दुई दलबीच पुनः पार्टी एकता हुनसक्ने अड्कलबाजीसमेत हुन थालेको छ । एमाले र एकीकृत समाजवादीभित्रको बहसले पनि उक्त अड्कलबाजीलाई प्रश्रय दिएको देखिन्छ । राजनीतिक विश्लेषक दुई दललाई एक ठाउँमा ल्याउने परिस्थिति बनेको बताउँछन् ।

अहिलेको गठबन्धनलाई लिएर कतिपयले बाम एकताकै तहमा चर्चा गरेका छन् । यद्यपि, पछिल्लो परिस्थिति तत्कालै एमाले र एकीकृत समाजवादीलाई एक गराउने खालको भएको टिप्पणी विश्लेषकहरुको छ ।

एमालेका कतिपय नेताहरुले पनि एकताको आधार बनिसकेको टिप्पणी गर्दछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेताहरुले व्यक्तिगत ‘इगो’ मात्रै छाडेको खण्डमा तत्कालै एकता हुनसक्ने बताउँछन् ।

“समीकरण बदलिएसँगै नेताहरूबीच भेटघाट र छलफल हुन थालेको छ, एकीकृत समाजवादीसँग त हाम्रो वैचारिक, नीतिगत र कार्यगत कुनै पनि कुरा फरक छैनन्, त्यसैले मिलनबिन्दू खोज्न गाह्रो छैन”, उनले भनेका छन्, “यद्यपि, नेताहरुले इगो त्याग्नुपर्छ ।”

यता एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला पनि परिस्थिति नजिक हुने रहेको बताउँछन् । “पहिलेको सम्बन्धमा स्वभाविक रूपमा सुधार हुन थालेको छ, छलफल र सहकार्यले त्यसलाई बढाउँदै लानेछ र भविष्यमा एकता पनि हुनसक्छ”, उनले भनेका छन्, “मन माझामाझ भएमा एकता हुनलाई गाह्रो छैन ।”

बृहत बाम एकताको पनि चर्चा

नयाँ समीकरण बनिरहँदा दलहरुबीच बृहत बाम एकताकै कोणबाट पनि छलफल चल्न थालेको छ । स्वयम् प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बृहत्तर वामपन्थी एकताको पहलमा लाग्ने बताएका छन् । उनले बामपन्थी एकता अपरिहार्य भएको पनि बताएका छन् ।

प्रचण्डको पछिल्लो भनाईमा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि भनाई मिल्छ । ओलीले भाषागतरुपमा एकताको विषयमा नबोलेपनि परिवर्तनकारी एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् ।

यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने नामै किटेर नेताहरु एकताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले तीन दल (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) नै मिलेर मात्रै देशको निकास हुनसक्ने बताएका छन् ।

माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । जसलाई बृहत बाम एकताको रुपमा अगाडि बढाउने नेताहरुको तयारी छ । पछिल्लो समय उक्त मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव पनि मोर्चालाई बृहत बनाउन एमालेसँग छलफलमा छन् । उनले एमालेसहितका दललाई मात्रै समेटेमा मोर्चाले पूर्णता पाउने बताइरहेका छन् ।

यस्तोमा क्रमशः वाम सहकार्य तथा एकताको वातावरण बन्दै गएको टिप्पणी विश्लेषकहरुको छ । वामपन्थी विश्लेषक लोककृष्ण भट्टराई वाम एकताको परिस्थिति तयार हुँदै गएको बताउँछन् । पछिल्लो परिस्थितिले जबरजस्त एकताको माहोल बनेको उनको भनाई छ ।

“जसरी गठबन्धन बनेको छ, जे आधारमा बनेको छ, यसले पनि एकताको सम्भावनालाई बढाएको देखिन्छ”, उनले भनेका छन्, “अहिलेको आन्तरिक तथा बाह्य राजनीतिको परिस्थिति पनि बाम एकताको पक्षमा छ, एकता गर्नु वा सिध्धिनुको विकल्प छैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट