एमालेभित्रको उत्साह : के गठबन्धन तोडिन लागेको हो ?-Sutra News

एमालेभित्रको उत्साह : के गठबन्धन तोडिन लागेको हो ?

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । सत्ता गठबन्धनभित्र करिब किचलोको स्थिति छ । राष्ट्रियसभा सदस्यको निर्वाचनदेखि नै गठबन्धनभित्रको किचलो सतहमा छरप्रष्ट देखिन्छ । यस्तोमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनको तालिका नजिकिँदै गर्दा गठबन्धन टुट्ने भय देखिएको छ ।



जुन भयलाई बढाउन शीर्ष भेटवार्ता पनि सहायक बनेको छ । विभिन्न शीर्षकमा शीर्ष नेताबीच केही दिनदेखि नै भेटवार्ता बाक्लिएको छ । जसले गठबन्धनभित्र केही असन्तुलन बढिरहेको जनाउँछ ।

आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै नभई प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । उनले नेताहरुसँग एक्ला–एक्लै संवाद गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले उक्त संवादलाई टीआरसी विधेयकमाथिको सकस फुकाउने सन्दर्भमा भएको छलफल भनेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य भेटवार्ता टीआरसीमा सहमति जुटाउने प्रयत्नमा केन्द्रीत रहेको बताए ।

“छलफल विशेषगरी संक्रमणकालीन न्यायको विषयसँग सम्बन्धित रहेर भएको हो”, भेटवार्ताबारे आचार्यले भनेका छन्, “शान्ति प्रक्रियालाई सहमतिमै टुंग्यायौं भन्ने प्रस्तावमा दुवैले सहमति जनाउनुभएको छ, बहुमत र अल्पमतको कुरा नगरौं भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।”

यद्यपि, घण्टौं लामो छलफल र वान–टु वान छलफल टीआरसीमा मात्रै मात्रै सीमित नरहेको देखिन्छ । जुन घटनाक्रमका बीच नेताहरुबीच छलफल चलेको छ, त्यसले विषय अन्य पनि रहेको जनाउँछ ।

काठमाडौंमा भेटवार्ता चलिरहँदा धनुषा पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेलले उत्साहित मुद्रामा गठबन्धन फुट्दै गरेको बताएका छन् । उनले गठबन्धनभित्रै अन्तरद्वन्द्व व्यवस्थापन गर्ने तहमा नरहेको दाबी गरे ।

“यो गठबन्धन अब रहने अवस्था छैन, आफैंभित्रका समस्या र अन्तरविरोधको कारण यो जुनसुकै बेला टुट्न सक्छ, फुट्न सक्छ”, उनले भनेका छन्, “विकल्प खोज्नुपर्ने तहमा थियो, आफैं त्यो तहमा पुगेको छ ।”

एमाले उपाध्यक्ष पौडेलले भने झैं गठबन्धन आफैं तोडिने अवस्थामा रहेको विश्लेषण धेरैको छ । विशेषगरी राष्ट्रियसभा अध्यक्ष चयनको विषयलाई लिएर विकसित घटनाक्रम सामान्य प्रकृतिको छैन । जसले गठबन्धनलाई अगाडि बढाउन निकै जटिलता सिर्जना गरेको छ ।

अहिले राष्ट्रियसभा अध्यक्षको विषय पहिलो बाधाको रुपमा उभिएपनि सँगसँगै अन्य विषय पनि जटिल बन्दै आएका छन् । विवादित मन्त्रीको व्यवस्थापन कसरी गर्ने ? मन्त्रिपरिषद् पुनर्गठन कसरी गर्ने ? आगामी उपनिर्वाचनमा कुन दलबाट कसलाई उम्मेदवार बनाउने ? लगायतका विषय सत्ता गठबन्धनलाई निरन्तरता दिन जटिल देखिन्छन् ।

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई विशेषगरी कांग्रेस महासमिति बैठकपछि नीतिगतरुपमै दलहरुबीच दुरी बढाएको बताउँछन् । कांग्रेसले अगाडि बढाएको नीतिले गठबन्धन गर्ने सन्दर्भमै प्रश्न उठाएको उनको विश्लेषण छ ।

“महासमिति बैठकसँगै कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभियो, कांग्रेसले कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने नीतिलाई अगाडि सारेको छ”, उनले भनेका छन्, “यो परिस्थितिमा माओवादी केन्द्र कसरी कांग्रेसको पछाडि उभिन सक्छ ? यो निकै जटिल परिस्थिति हो ।”

भट्टराई राजनीति क्रमशः धुव्रिकृत बन्दै गएको र त्यो सैद्धान्तिक मान्यतामा केन्द्रीत रहेको विश्लेषण गर्दछ । जसको प्रभाव बाम दलबीच पुनः सहकार्य हुने अवस्था पनि देखिएको उनले बताए ।

“राजनीति पूर्ण धुव्रिकृत हुँदैछ, बामदल एक हुने परिस्थिति जबरजस्त बनेको छ”, उनले भनेका छन्, “राष्ट्रियसभा अध्यक्षको निर्वाचनले बाम दल एक ठाउँमा आउने देखिन्छ । यो गठबन्धन रहने परिस्थिति छैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट