खाडीका युवालाई कसरी फर्काउने स्वदेश ?-Sutra News

खाडीका युवालाई कसरी फर्काउने स्वदेश ?

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

युएईमा तीन लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् । अन्य देशमा पनि हजारौँको संख्यामा विदेशिएका छन् । रोजगारी, अध्ययन, उपचार, भ्रमणलगायत अन्य सेवा सुविधा बढी पाउने आशका साथ दिनहुँ हजारौँको संख्यामा युएईलगायत अन्य देश पुग्ने क्रम बढ्दो छ । यसरी परदेश लागेपश्चात पुनः आफ्नै देशमा फर्केर केही गर्ने आशा, हुटहुटीले मनमा अनेकौ सपना बोकेर स्वेदश फर्केका र फर्कन लागि पर्नेको जमातको कमी पनि छैन ।



हरेक नेपालीले केही निश्चित समय प्रवास बसाईपछि स्वदेश फर्केर विभिन्न पेशा, व्यवसाय गर्न चाहेका हुन्छन् । विदेशमा सिकेको सिप प्रयोग गरेर बाँकी जीवन साथीभाई तथा परिवारसँग आरामपूर्वक बिताउन चाहन्छन् । उनीहरुले आफ्नो अनुभव देश र समाजको विकासमा प्रयोग गर्न चाहन्छन् । तर, परिस्थिति उनीहरुले सोंचअनुकुलको छैन ।

आखिर स्वदेश फर्केपछि के चाहेको हुन्छ त ? कस्तो देश र समाजको अपेक्षा लिएको हुन्छ त वैदेशिक रोजगारमा गएको नेपालीले ? परदेश बसुन्जेल स्वदेशको चिन्ता र स्वदेश बसेपछि यहाँको (विदेश) माहोल देखेर पुनः विदेश जाने बाध्यतामा रुमलिएको हुन्छ । यसको कारक तत्व के हो ? किन विदेशबाट फर्केका नेपाली स्वदेशमा केही गर्न चाहँदैन त ? यस विषयमा न कुनै बहस न कुनै छलफल नै भएको पाइन्छ ।

स्वेदश फर्केका नेपालीहरु सामान्य आफ्नो देशले केही गरी दिए हुने भन्नेमा आशावादी रहेको हुन्छ । पहिलो त रोजगारी होस्, जसले आफूले सिकेको सिपलाई आफ्नो ठाउँमा प्रयोग गर्न सकोस्, जसका लागि स्थानीय तह, उद्योगीले सिपका आधारमा वर्गीकरण गरी रोजगारीको सुनिश्चतता आवश्यक छ ।

दोश्रो, स्थानीय श्रोत साधनलाई प्रयोग गरी स्थानीय तहमा नै भाषा, धर्म, रहनसहन, भेषभुसालाई प्राथमिकताका आधारमा पर्यटन प्रवद्र्धन गर्न मद्दत पुर्‍याउन र आफू विदेशमा बसेका बेला त्यहाँको मानिसलाई देशमा ल्याएर पर्यटक आगमनमा पुलको काम गर्न सकिन्छ ।
तेश्रो, काम हो वैदेशिक रोजगारबाट फर्किआएका कामदारहरूको तथ्यांक संकलन गर्नु । जुन स्थानीय तहले गर्न सक्छ । सोहीअनुसार दक्षता र सिपअनुसार रोजगार दिन सकिन्छ ।

सामाजिक सचेतनाका लागि पारिवारिक सहभागितामा सामाजिक मेलमिलाप, परामर्श, नेतृत्व विकास, स्वयम् सेवक परिचालन जस्ता कार्यक्रम गरी फर्केका नेपालीको मनोवैज्ञानिक चेतना विकास गराउन सके राम्रो हुन्छ । जसले गर्दा, उनीहरुमा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने भान हुन्छ ।

स्थानीय बजारको मागअनुसार कृषि, पशुपालन, जडीबुटी, बन पैदावारलाई प्राथमिकता दिई सोहीअनुसार सिपमूलक तालिमको व्यवस्था, परम्परागत पेशालाई आधुनिकीकरण गराउने र क्षमताअनुसारको रोजगारी प्रदान गराउन सकिन्छ । साथै, सोहीअनुसार उद्योग, कलकारखानाको उत्पादन र प्रबद्धन गर्ने । समय–समयमा अनुगमन, परीक्षण सुपरिवेक्षणको अभ्यास र राम्रालाई प्रोत्साहित गर्ने गराउने ।

वैदेशिक रोजगारीमा सिकेका सिप, प्रबिधीलाई अनुभवका आधारमा वित्तीय साक्षरता, प्राबिधिक पहुँचमा बृद्धि गर्ने र उद्यमलाई बजारिकीकरण गर्ने । विदेशबाट फर्केकालाई देशमा अर्कै देशको नागरिक सरह हेर्ने दृष्टिकोण छ, त्यसलाई हटाउन जरुरी छ । किनकी विदेश आफ्नो घर परिवार छोडेर केही समयका लागि रोजगारी र घरको आर्थिक स्थिति मजबूत गराउने चाहना चाहेको हुन्छ, यसलाई मनन गर्नु आवश्यक छ । विशेषगरी महिलाहरूमाथि लाग्ने गरेका लान्छना, हिंसा बढी देखिन्छ ।

सीप र पुँजी दुवै लिएर आएकालाई लगानीको वातावरण राज्यले गर्नुपर्छ र सिप र पुँजी दुबै नलीई आएकालाई समेत राज्यले सोहीअनुसार कार्यान्वयन गर्नु पर्दछ । सर्बसुलभ बैंक सुबिधा प्रदान गराउने, प्रशासनिक ढिला सुस्तीलाई कम गरी छिटो छरितो काम गराउने र वैदेशिक नेपालीलाई प्राथिमिकता दिने । हाम्रालाई भन्दा राम्रालाई प्रोत्साहन गर्ने ।

विदेशका मल्टीनेशनल कम्पनीलाई देशमा नै ल्याउने परिकल्पना तयार गरी एनआरएनए जस्ता संस्थाको सहयोग लिने । अहिले सानो–सानो कामका लागि भारतलगायतका देशबाट आउने क्रम छ । यसलाई रोक्न जरुरी छ । देशको अभिन्न हात रेमिटान्स भएका कारण रेमिटान्स जसले धेरै पठाएका छन्, उनीहरुलाई प्राथमिकताका आधारमा राज्यको सेवा सुबिधामा सहज पहुँच प्रदान गर्नुपर्छ ।

अध्ययन गरेर फर्केकाले विदेशको अध्ययन गर्ने शैली अत्यन्त फरक हुने भएका कारण पुरानो शिक्षा प्रणालीलाई हटाई आधुनिक प्रविधि र वैज्ञानिक तवरको शिक्षा गराउन सके आगामी बालबालिकाको सिकाईमा बृद्धि हुन्छ । विदेशबाट आएको पुँजीलाई देशमा काम गर्नका लागि चाहिने कच्चा पदार्थ ल्याउन, उत्पादित समान बजारसम्म ढुवानी गर्न, बिजुली बत्ति पानीको व्यवस्था गर्न छुट र क्षति भए राहतको व्यवस्था गर्न सक्नुपर्दछ । स्वदेश फर्किएपछि उनीहरूलाई धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक साथै राजनीतिक क्रियाकलापमा पुनः सक्रिय बनाउन एवम् पुनस्र्थापन गराउनमा जोड दिनु पर्दछ ।

अन्तयमा, जे भने पनि देशको राजनीतिक माहोल सरकारको राज्य व्यवस्था दीगो हुनु आवश्यक छ । स्वदेशमा नै नेपालीलाई परिणाममुखी र अर्थतन्त्र बलियो बनाउन मुख्य कारकतत्व गैरजिम्मेवार राजनीतिक शक्ति भएकोले यसको ठोस कदम चाल्ने र भ्रष्टाचारमुक्त समाज र देश बनाउन सके वैदेशिक रोजगारमा रहेका नेपाली फर्केने वातावरण छिट्टै मिल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट