रास्वपामा लेनदेन काण्ड : ढाकाकुमारको अभिव्यक्तिपछि मोहनजंगमाथि छानबिन-Sutra News

रास्वपामा लेनदेन काण्ड : ढाकाकुमारको अभिव्यक्तिपछि मोहनजंगमाथि छानबिन

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडौं । ढाकाकुमार श्रेष्ठलाई कारबाहीलाई गरेसँगै सेलाएको लेनदेन काण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेरि तातिएको छ । पार्टीबाट कारबाहीमा परेका श्रेष्ठले सार्वजनिकरुपमा आफूलाई मन्त्री बनाउन सभापति रवि लामिछानेको कोर टिमबाट तीन करोड रुपैयाँ मागिएको विषय सार्वजनिक गरेपछि रास्वपामा हल्लिखल्ली मच्चिएको हो ।



श्रेष्ठले आफूलाई मन्त्री बनाइदिन्छु भन्दै पार्टी सभापति रवि लामिछानेको कोर टिमका भनिएका रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड मागेको खुलासा गरेका थिए । एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा तीन करोड बुझाए मन्त्री बन्ने अवस्था भएपछि आफू घर बेच्नसमेत तयार रहेको बताएका थिए ।

श्रेष्ठले शामाखुसीको एक कफी सपमा थापासँग पैसाको लेनदेनबारे छलफल भएको र त्यसपछि उनका सहयोगीमार्फत पैसाबारे डिल भएको बताएका छन् । तीन करोड रुपैयाँ मागिएको र अन्तिममा साढे दुई करोडमा डिल फाइनल भएकोमा ५० लाख आफूसँगै रहेको र दुई करोड रुपैयाँ पछि फिर्ता गर्ने शर्तमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माग गरेको कुरा श्रेष्ठले स्वीकार गरेका छन् । तर, सापटी सहयोग माग गरेको प्रस्तावको अडियो इडिट गरी व्यवसायी दुर्गा प्रसाईंले आफूलाई फसाएकाे उनको आरोप छ ।

यता, श्रेष्ठको अभिव्यक्तिपछि नेता मोहनजंग थापाले भने सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको भन्दै आरोप पुष्टि गर्न चुनौति दिएका छन् । उनले श्रेष्ठलाई आरोप पुष्टि गर्न चुनौति दिँदै त्यसो नगरे मानहानीको मुद्दा लिएर कानुनी लडाइँमा जाने बताएका छन् ।

सार्वजनिक टेलिभिजनमार्फत निष्कासित नेता श्रेष्ठको अभिव्यक्तिपछि रास्वपा भने नराम्रोसँग विवादमा तानिएको छ । रास्वपाले उक्त घटनामा मुछिएका मोहनजंग थापामाथि छानबिन थालेको छ ।

चौतर्फी आलोचनापछि बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाका महामन्त्री मुकुल ढकालले थापामाथि सोधपुछ र अनुसन्धानको प्रक्रिया अघि बढाइएको जनाएका छन् । “केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो, यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ”, ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले प्रमाण भेटिए ७२ घण्टाभित्र कारबाही गरिने जनाएको छ । विज्ञप्तिमा अघि भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घन्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट