नारायणकाजीप्रति किन असन्तुष्ट छन् देउवा ?-Sutra News

नारायणकाजीप्रति किन असन्तुष्ट छन् देउवा ?

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा निकै आक्रामकरुपमा प्रस्तुत भए । गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति उनले निकै नै असन्तुष्टि व्यक्त गरे । संसदमा देखिएको गतिरोधको विषयमा निकास खोज्न भन्दै बोलाइएको बैठकमा देउवा भने अन्य प्रकरणका विषय निकालेर श्रेष्ठमाथि खनिए ।



बैठकमा सहभागि एक नेताले बताएअनुसार “कांग्रेस नेतालाई थुन्ने अनि आफ्ना मान्छेलाई बचाउने ?” भन्दै गृहमन्त्रीमाथि देउवा खनिएका थिए । उनले विशेषतः पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँणलाई थुनिएकोमा आक्रोश पोखेका थिए ।

देउवाले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनि उनका छोरा राहुल महरालाई नसमातिएको प्रति बैठकमा विरोध गरेका थिए । “नाम के हो रे ! बाउछोराकै विषय त्यत्रो आउँदा पनि किन नसमातेको ? जोगाउन खोजेको हो ?”, देउवाले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न गरेको ती नेताले बताए ।

बैठकमा देउवा जंगिएपछि अन्य नेताहरु अवस्था सामान्य बनाउन लागेका थिए । गृहमन्त्री श्रेष्ठले पनि “सभापतिज्यू, पछि छलफल गरौंला” भन्दै अवस्था सामान्य बनाउन लागेको ती नेताले बताए ।

गृहमन्त्री श्रेष्ठमाथि देउवा आक्रोशित भएको यो पहिलो घटना भने होइन । देउवाले यसअघि पनि विभिन्न समयमा श्रेष्ठको भूमिकालाई लिएर असन्तुष्टि जनाउँदै आएका थिए । गृहमन्त्री श्रेष्ठले अघि सारेका सबैजसो प्रकरण कांग्रेसलक्षित भएको भन्दै देउवाको विरोध छ ।

नक्कली शरणार्थी प्रकरणमा देउवा पत्नि आरजु राणासहित थुप्रै कांग्रेस नेताको नाम जोडिएको छ । ललिता निवास प्रकरणमा पनि कांग्रेस नेताहरु मुछिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सांसद सुनिल शर्मा पक्राउ परे । शर्मा पक्राउ परेको घटनाले कांग्रेसभित्र ठूलो तरंग सिर्जना भएको थियो । कांग्रेसको संसदीय दलको बैठकले गृहमन्त्री श्रेष्ठको निकै आलोचना गरेको थियो ।

घटनाक्रमको बीचमा देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै गृहमन्त्री श्रेष्ठको भूमिकाप्रति तिव्र असन्तुष्टि जनाएका थिए । उनले श्रेष्ठको विकल्प खोज्न तयार हुनुपर्ने मागसमेत प्रचण्डलाई राखेको बुझिएको छ ।

तर, प्रचण्ड गृहमन्त्रीकै विकल्प खोज्ने पक्षमा भने देखिन्नन् । प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल परिस्थिति गृहमन्त्री फेर्ने खालको नभएको बताउँछन् ।

“असन्तुष्टि हुन्छन्, पार्टीभित्र दबाब आउँछन् तर, दबाबकै आधारमा निर्णय लिने भन्ने हुँदैन, परिस्थिति गृहमन्त्री फेर्ने खालको छैन”, गजुरेलले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट