ज्याक माको नेपाल यात्रा : कालीमाटीदेखि स्वयम्भू दर्शनसम्म-Sutra News

ज्याक माको नेपाल यात्रा : कालीमाटीदेखि स्वयम्भू दर्शनसम्म

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

मंगलबार एक्कासी निजी विमानमार्फत नेपाल आएका चिनियाँ खर्बपति ज्याक माले बुधबार कालीमाटी तरकारी बजारको अवलोकनदेखि स्वयम्भूको दर्शनसम्म गरेका छन् ।



व्यापारी एवम् उद्यमी ज्याक मा युनले आज करिब १३ मिनेट कालीमाटी तरकारी बजारको अवलोकन गरेका छन् ।

५ वटा कार र सुरक्षाका केही मोटरसाइकलसहित कालिमाटी बजारमा १० बजेर ३७ मिनेटमा छिरेका ज्याक मा युनको टोली १० बजेर ५० मिनेटसम्म कालीमाटीमा बसेका थिए । बजार परिसरमा पुगेका ज्याक मा कारबाट बाहिर भने ननिस्किएको स्रोतले बतायो । ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराकानी नगरेको पनि प्रत्यक्षदर्शीले बताए ।

त्यस्तै उनले आजै स्वयम्भूको दर्शन गरेका छन् । उनी बिहान साढे १० बजेको समयमा कालिमाटी तरकारी बजारको निरीक्षण गर्न जाने क्रममा स्वयम्भू डाँडामा उक्लेका हुन् ।

कालिमाटी तरकारी बजार पुगेका टोलीका केही सदस्यसहित ज्याकले स्वयम्भूको दर्शन गरेको बताइएको छ । उनीसँग काठमाडौं आएको टोलीमा डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङ छन् ।

स्वयम्भू चैत्यको दर्शनसँगै उनले नजिकैबाट काठमाडौं उपत्यकाको अवलोकन गरेको बताइन्छ ।

अलिबाबाका सहसंस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका हुन् । अलिबाबाको लगानीमा नेपालमा दराज नामक अनलाइन इ-कमर्स प्लेटफर्म सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट