काठमाडौंका २ हजार २८ शय्या निःशुल्क : कुन अस्पतालमा कति ?-Sutra News

काठमाडौंका २ हजार २८ शय्या निःशुल्क : कुन अस्पतालमा कति ?

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।
बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए । “कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५० शय्या, ट्रमा सेन्टरले १५० शय्या र शहीद गङ्गालाल हृदय रोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्”, मन्त्री बस्नेतले  भने । उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ ।
“वीर अस्पतालले ७०० शय्या र कोसी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्”, मन्त्री बस्नेतले भने । उनले बिस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिए ।
शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए ।
निजी अस्पताल पनि जिम्मेवार भई नियम अनुसार कूल शय्याको १० प्रतिशत  विपन्नका लागि निःशुल्क छुटाउनुपर्ने भन्दै मन्त्री बस्नेतले १० प्रतिशत शय्या निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट