१५ दिनभित्र सडकका पोलमा रहेका तार व्यवस्थित गर्न बालेनको निर्देशन-Sutra News

१५ दिनभित्र सडकका पोलमा रहेका तार व्यवस्थित गर्न बालेनको निर्देशन

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकका पोलमा रहेका बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तार व्यवस्थित गर्न निर्देशन दिएको छ । बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकायलाई १५ दिनभित्र तार व्यवस्थित गर्न महानगरले भनेको छ ।



पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारले सहरी सुन्दरतामा ह्रास पुर्याएको आगलागीको जोखिम बढाइरहेको तथा सार्वजनिक आवागमनमा असर गरिरहेको महानगरले बताएको छ ।

‘यसबाट हुनसक्ने जोखिम घटाउन काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकायसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको छ । निर्णय कार्यान्वयन गर्न पटकपटक पत्र पठाएर ताकेतासमेत गरिसकेको छ,’ महानगरले सार्वजनिक सूचनामा भनेको छ, ‘सेवा प्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि नियामक निकायहरूलाई यसैसाथ अनुरोध गरिएको छ ।’

१५ दिनभित्र अनावश्यक तार/केवल आफैँ हटाउन र आवश्यक पर्ने तारलाई संकेत चिह्न लगाएर पहिचान गर्न सहज हुने वातावरण बनाउन महानगरले आग्रह गरेको छ । १५ दिनभित्र उक्त तार/केवल नहटाए महानगरपालिका आफैँले हटाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट