पौडेल समूहको नियति : महाधिवेशन आइसक्यो, सभापतिको पत्तो छैन-Sutra News

पौडेल समूहको नियति : महाधिवेशन आइसक्यो, सभापतिको पत्तो छैन

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

यही मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा आयोजना गर्न लागिएको नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा धेरैको चासो रामचन्द्र पौडेल समूहमा छ । सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा र विमलेन्द्र निधि लगायतका नेताहरू दौडमा छन् ।



संस्थापनइतर पक्षबाट रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला लगायतका नेताहरू आफूलाई सभापतिको आकांक्षी बताउने गरेका छन् तर साझा उम्मेदवार भने तय गर्न सकेका छैनन् ।

सभापतिका लागि साझा उम्मेदवार खोज्न बुधवार संस्थापनइतर समूहको बैठक बस्दैछ । गौशालास्थित अनुपम फूडल्याण्डमा आज पौडेलले आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, क्षेत्रीय सभापतिलगायतका नेता कार्यकर्तासँग सुझाव माग्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनका लागि केही दिनमात्र बाँकी रहेको छ । तर देउवाविरुद्ध अहिलेसम्म कसैले पनि उम्मेदवारी दिएको छैन । विमलेन्द्र निधिले महिना दिनअघि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी देउवानिकट नेता हुन् ।

सभापतिको साझा उम्मेदवार खोज्न हिजो पनि नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले साझा उम्मेदवार खोज्न नसक्ने हो भने आफूलाई मौका दिन आग्रह गरेका थिए ।

‘तपाईंहरु मिल्न तयार भए, म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस्,’ नेता पौडेलले बैठकमा भनेका थिए ।

पौडेल आफैं पनि सभापतिका आकांक्षी हुन् भने शेखर र शशांक कोइरालाले पनि सभापति बन्ने आफ्नो महत्त्वाकांक्षा देखाएका छन् । तर साझा उम्मेदवारको अहिलेसम्म टुंगो लागेको छैन ।

मंगलवार बैठक बसिरहेका बेला कार्यकर्ताहरूले नेता सिंहको निवासबाहिर प्रदर्शन गरेका थिए । तत्काल साझा उम्मेदवार बनाउनुपर्ने माग गर्दै गेटबाहिर उनीहरू जम्मा भएका थिए ।

यसैबीच कांग्रेसका युवानेताहरूले सभापतिको साझा उम्मेदवार बनाउन नसके आफैंले प्यानल घोषणा गर्ने चेतावनी दिएका छन् । धनराज गुरुङ, गगन थापा लगायतका नेताहरूले आफ्ना शीर्ष नेताहरूमाथि सभापतिको साझा उम्मेदवार खोज्न निरन्तर दबाब दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट