१९ लाखदेखि ७० लाखसम्म, यस्तो छ नेपालमा इलेक्ट्रिक कारहरूको मूल्य-Sutra News

१९ लाखदेखि ७० लाखसम्म, यस्तो छ नेपालमा इलेक्ट्रिक कारहरूको मूल्य

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

काठमाडौं । नेपाली बजारमा महिन्द्रा, हुन्डाई, विवाइडी, टाटा, किया, दिगो, डेरी र एमजी मोटर्सका विद्युतीय उत्पादन उपलब्ध रहेका छन् । यी मध्ये सबैभन्दा कम मूल्यमा गाडी विक्री गर्ने कम्पनी डेरी हो ।



डेरी कम्पनीले दुई मोडल विक्री गदै आएको छ । उसको इभी७ विद्युतीय चार्जबाट चल्ने कार हो भने इएम७ विद्युतीय चार्जसहित छतमा सोलार प्यानल जडान भएको कार हो । १७ किलोवाट आवरको व्याट्री यी दुबै कारमा पाउन सकिन्छ । तर, रेञ्जमा सोलार सहितको इएम ७ को धेरै रहेको छ ।

आधिकारीक वितरकको दावी अनुसार इभी७ ले २३० र इएम७ ले २५० किलोमिटर रेञ्ज प्रदान गर्छ । मूल्यमा पनि इभी७ केही सस्तो रहेको छ । यसको मूल्य १९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै इएम७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

बजारमा उपलब्ध दिगो इ८ अर्को कम मूल्यको कार हो । दिगो ग्रुपले विक्री गर्दै आएको इ८ को मूल्य २१ लाख ४९ हजार ५०० रुपैयाँ तोकिएको छ । यसमा १५ किलोवाट आवरको व्याट्री रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

महिन्द्राले विक्री गर्दै आएको इभेरिटो सेडान कार हो । नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको इलेक्ट्रीक सेडानको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । २१.२ किलोवाट आवरको व्याट्री उपलब्ध इभेरिटोले एक पटकको फुल चार्जमा १४० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

मूल्यका हिसावले सबैभन्दा कम मूल्यमा उपलब्ध एसयूभी टाटा नेक्सन हो । नेक्सन इभीमा ३०.२ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यसमा रहेको व्याट्रीले फुल चार्जमा २५० किलोमिटर हाराहारी रेञ्ज प्रदान गर्नेछ । तर, एआरएआईले भने ३१२ किलोमिटर प्रमाणित गरेको छ ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको नेक्सन इभीको मूल्य एक्सएम भेरियन्टको ३६ लाख ९९ हजार राखेको छ भने एक्सजेड प्लसको मूल्य ३८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ राखेको छ । सिप्रदीले ३० किलोवाटको चार्जिङ नेटवर्क समेत तयार गरेर नेक्सन इभीको विक्री सुरु गरेको हो ।

नेपालमा सर्वाधिक सफल मध्येको एक विद्युतीय कार एमजीको इजेडएस हो । नेपाल आएको छोटो समयमा नै आफुलाई सफल स्थानमा उभ्यान सफल इजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ४४ किलोवाट आवरको व्याट्री र ११२ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा ३३७ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

विवाइडी नेपालमा सबैभन्दा धेरै मोडलका इलेक्ट्रीक कार विक्री गर्ने कम्पनी हो । कम्पनीले इ६ क्रसओभर, एम थ्रि एमपीभी र टी थ्रि इलेक्ट्रीक भ्यानको विक्री गर्दै आएको छ । विवाइडी इ६ मा ९० किलोवाटको मोटर उपलब्ध रहेको छ । कम्पनीले यसको मूल्य ५० लाख रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । यसलाई एक पटकको फुलचार्जमा ४०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

विवाइडीको एम थ्रिको ७ सिटर अप्सनको मूल्य ४६ लाख रुपैयाँ तोकेको छ भने, ५ सिट क्षमताको एम थ्रिको मूल्य ४३ लाख रुपैयाँ राखेको छ । यसमा १०० किलोवाट क्षमताको मोटर रहेको छ । यसलाई फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।

विवाइडीले इलेक्ट्रीक भ्यान पनि विक्री गर्दै आएको छ कम्पनीले विक्री गर्ने टी थ्रि भ्यानको मूल्य ३८ लाख रुपैयाँ रहेको छ । यसलाई पनि फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिने जनाइएको छ ।

अर्को धेरै मोडल विक्री गर्ने कम्पनी हुन्डाई हो । हुन्डाईले कोनाको दुई भेरियन्ट र आयोनिक मोडल विक्री गर्दै आएको छ । हुन्डाई आयोनिक सेडान कार हो भने कोना एसयूभी हो ।

कम्पनीले कम रेञ्जको कोना ५६ लाख ९६ हजार मूल्य तोकेर विक्री गर्दै आएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर र ३९.२ किलोवाट आवरको व्याट्री उपलब्ध रहेको छ । यसलाई फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

कोना लङ रेञ्ज मोडलमा ६४ किलोवाट आवरको व्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ४८० किलोमिटरसम्म चलाउन सकिने छ ।

हुन्डाईको सेडान कार आयोनिक निकै आकर्षक कार रहेको छ । यसको मूल्य ५७ लाख ९६ हजार निर्धारण गरेर कम्पनीले विक्री गर्दै आएको छ । यसमा ३८ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा २७० किलोमिटर गुडाउन सकिन्छ ।

कियाले नेपालमा विक्री गर्दै आएको निरोको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसमा पनि हुन्डाई कोनाको लङ रेञ्जमा जस्तै ६४ किलोवाट आवरको व्याट्री र १५० किलोवाटको मोटर उपलब्ध रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ४८० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

मेरोअटोबाट 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट