‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा-Sutra News

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने भएको छ ।



मन्त्रिपरिषद्को आज भएको बैठकले कोइरालाको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । नेपालको लोकतन्त्र स्थापनाका लागि आजीवन र अनवरत सङ्घर्षरत् प्रजातान्त्रिक योद्धा स्व.कोइरालाका नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिपी कोइराला नेपाली राजनीति र साहित्यिक क्षेत्रमा चर्चित नाम हो । उनी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुन् ।

विसं १९७१ भदौ २४ मा भारतको बनारसमा जन्मिएका स्व.कोइरालाले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी विसं २०१६ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताले राजनीतिक गुरुका रूपमा चित्रण गर्ने गरेका छन् ।

नेपाली राजनीति तथा साहित्यमा उल्लेख्य योगदान गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट